नेताहरु भन्छन् - सेक्रिफाइस गर्न तयार हुनुपर्छ

|

काठमाडौं : नेकपा माओवादी केन्द्रको केन्द्रीय महाधिवेशन आयोजक समिति (केन्द्रीय समिति) को आकार घटाएर दुई अंकमा झार्ने प्रस्तावबारे माओवादी वृत्तमा हिजोआज निकै चर्चा छ। चार हजार भन्दा बढी सदस्य रहेको केन्द्रीय समितिलाई बिघटन गरी दुई अंक अर्थात ९९ सदस्यीयसम्म बनाउने प्रस्ताव साउन पहिलो हप्ताको केन्द्रीय सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए।

के छ प्रस्तावमा? 

प्रतिवेदनमा प्रचण्डले ठूलो समितिको बोझले पार्टी दबिएको उल्लेख गरेका छन्। ‘बैठक बसेर प्रभावकारी छलफल संगठित गरी ठोस कार्ययोजनाको विकास गर्नै नसकिने भारी भरकम समितिहरूको बोझले आज पार्टी दबिएको छ’ उनले प्रतिवेदनमा उल्लेख गरेका छन्।  

सचिवालय बैठकमा जिल्ला इन्चार्जहरुले स्थानीय तह चुनावको प्रतिवेदन पेश गर्दै समितिहरु चुस्त दुरुस्त हुन नसकेको, संगठन सक्रिय हुन नसक्दा स-साना गुटहरु मौलाएको र निर्णयहरुमा समिति होइन व्यक्ति हावी भइरहेको रिर्पोट पेश गरेका थिए। यही विषय समेटेर अध्यक्ष प्रचण्डले पार्टी एकताको विशेष स्थितिको बाध्यताका नाममा हलचल गर्न नसकिने समितिको निरन्तरताले पनि चुनावी संघर्षको प्रभावकारितामा नकारात्मक असर परेको प्रतिवेदनमा उल्लेख गरे।

पार्टी र जनवर्गीय संगठनहरुका महाधिवेशन गरी सानो आकारको समिति निर्माण गर्ने लक्ष्य हुँदाहुँदै पनि छिट्टै स्थानीय चुनावमा जानुपर्ने बाध्यताले गर्दा ठूलो र भद्धा समिति कायमै रहेको प्रचण्डले आफ्नो प्रतिवेदनमा उल्लेख गरेका छन्। त्यसैले उनले केन्द्रीय समिति विघटनको प्रस्ताव राखे। ‘सचिवालयको यो बैठक झन्डै चार हजारको संख्यामा रहेको केन्द्रीय महाधिवेशन आयोजक समिति भंग गर्ने तथा २ अंकभित्रको नयाँ आयोजक समिति गठन गर्ने, सोहीअनुसार चुस्त कार्यालय र पोलिटब्युरो गठन गर्न विद्यमान आयोजक समितिसमक्ष प्रस्ताव प्रस्तुत गर्ने निर्णय गर्दछ।’ 

यसरी बन्नेछ नयाँ समिति

प्रचण्डले प्रस्ताव गर्नेवित्तिकै केन्द्रीय समिति विघटन भइसकेको भने छैन। अब यो प्रस्तावबारे प्रदेशस्तरमा आयोजक समितिका सदस्यहरूको बैठकमा छलफल र अनुमोदन गरिएपछि केन्द्रीय कार्यालयले अन्तिम रुप दिनेछ।

बैठकहरुमा प्रशिक्षण दिन अध्यक्ष प्रचण्ड आफै सात प्रदेश पुग्ने कार्यक्रम छ। उनका साथमा नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा पनि प्रदेशस्तरको प्रशिक्षण कार्यक्रममा सहभागी हुने नेता देव गुरुङले बताए। 

प्रचण्डले सचिवालय बैठकमा पेश गरेको केन्द्रीय समिति भंग गर्ने प्रस्ताव उनकै उपस्थितिमा सबै प्रदेशमा प्रस्तुत गर्ने र अनुमोदन गर्ने माओवादीको तयारी छ। सात प्रदेशले अनुमोदन गरेपछि माओवादीले अहिले रहेको ९९ जनाको सचिवालयलाई केन्द्रीय समितिमा बदल्ने पोलिटव्यूरो सदस्य सुदर्शन बरालले बताए।

हाल रहेका पोलिटव्यूरो सदस्यहरु प्रदेश समितिमा रहने र हाल भएका महाधिवेशन आयोजक समितिका सदस्यहरु सम्बन्धित जिल्ला समितिका सदस्य रहने बरालले जानकारी दिए। अहिले रहेको जिल्ला समिति भने विघटन हुनेछ।

माओवादीले पटक पटक संख्या थपेर केन्द्रीय महाधिवेशन आयोजक समिति चार हजार सदस्यीय बनाए पनि पार्टी एकताको १४ महिनामा एक पटक पनि बैठक वा भेला भएको छैन। पटक पटक राष्ट्रिय भेलाको लागि मिति तोकिए पनि स्थगित हुँदै आएका थिए। गत साल भदौ १ र २ गतेका लागि राष्ट्रिय भेला गर्ने भनेर भृकुटीमण्डपको हल बुक गरिसकेको माओवादी केन्द्रले अन्तिम अवस्थामा स्थगित गरेको थियो। गत असोज र कात्तिकमा पनि यही घटना दोहोरिएको थियो।

एकातिर केन्द्रीय समिति ठूलो भएर छलफल र बैठक नै हुन सकेको थिएन भने अर्कोतिर संख्या थप्न झन् दबाब बढिरहेको थियो। यसले माओवादी केन्द्रका नेताहरु हैरान भएका नेता लेखराज भट्ट बताउँछन्। 

गत साल जेठ सात गते १० माओवादी घटकबीच एकता भएपछि जम्मा दुई पटक सचिवालय र एक पटक पोलिटब्यूरो समितिको बैठक बसेको छ भने बाँकी निर्णय हेडक्वार्टर बैठकले नै गर्दै आएको छ। केन्द्रीय समितिका सदस्य भएकाहरुले एक पटक पनि माइन्यूटमा हस्ताक्षर गर्न पाएका छैनन्। पोलिटव्यूरो सदस्य महेश्वर गहतराजका अनुसार अब सबै नेताहरुले एकपटक ‘सेक्रिफाइज’गर्न तयार हुनुपर्छ। उनी भन्छन् ‘हामीले पार्टीका लागि र देशमा परिवर्तन ल्याउनका लागि धेरै बलिदान गर्‍यौं। यो पटक पार्टी बनाउनका लागि आफू घटुवा हुन तयार बनौं।’

कुन प्रदेशमा कहिले बस्दै छ बैठक?

माओवादी केन्द्रको प्रदेश नम्बर ४ मा साउन २२ गते, ३ मा साउन २४ गते, ५ मा साउन २५ गते,  ६ मा भदौ ९ गते, ७ मा १० गते, प्रदेश १ मा  साउन १२ गते बैठक बोलाइएको छ। प्रदेश नम्बर २ मा साउन १६ गते बसेको प्रशिक्षण र बैठकले सचिवालयको प्रस्ताव अनुमोदन गरिसकेको प्रदेश संयोजक विश्वनाथ शाह कुमारले जानकारी दिए। 

कुन प्रदेशमा कति छन् केन्द्रीय सदस्य ?

  • प्रदेश नम्बर १– ५२० केन्द्रीय सदस्य
  • प्रदेश नम्बर २– १००० प्रस्तावित केन्द्रीय सदस्य
  • प्रदेश नम्बर ३–१००० केन्द्रीय सदस्य
  • प्रदेश नम्बर ४–४५० केन्द्रीय सदस्य
  • प्रदेश नम्बर ५–५५५ केन्द्रीय सदस्य 
  • प्रदेश नम्बर ६–४७३ केन्द्रीय सदस्य
  • प्रदेश नम्बर ७–३५० केन्द्रीय सदस्य

प्रदेशका यी तथ्यांक हिसाव गर्दा चार हजार ३४८ संख्या हुन आउँछ। कुन प्रदेशबाट कति केन्द्रीय सदस्य भन्ने बारेमा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा कुनै रेकर्ड भेटिँदैन। यो तथ्यांक प्रदेशमा बाँडिएको कोटाका आधारमा प्रदेश इन्चार्जहरुले दिएको जानकारीमा उल्लेख गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.