पार्टीका अधिकांस नेता दुई नम्वर प्रदेशमा

|

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका प्रमुख नेताहरु आगामी असोज दुई गते दुई नम्बर प्रदेशमा हुने स्थानीय तहको निर्वाचनमा केन्द्रित भएका छन्। 

व्यवस्थापिका संसदको ठूलो दल कांग्रेस स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तुलनामा कमजोर भएपछि दुई नम्बर प्रदेशमा हुने निर्वाचनमार्फत पहिलो दल बन्ने लक्ष्य लिएको छ।

पहिलो र दोस्रो चरणको निर्वाचनमा उम्मेदवार चयनमा ढिलाइ भएको गुनासो आएपछि कांग्रेसले दुई नम्बर प्रदेशमा भने स्थानीय नेताको सुझावमा उम्मेदवार चयन गर्ने र चुनाव अभियानलाई प्रभावकारी बनाउन बिहीबारदेखि जनकपुरबाट कार्यकर्ताको सुझाव लिन थालेको छ।

दुई नम्बर प्रदेशका आठ जिल्लाका ४८ निर्वाचन क्षेत्रबाट अगुवा कार्यकर्ताको भेला कांग्रेसले आयोजना गरेको हो। भेलामा दुई नम्बर प्रदेशबाट प्रतिनिधित्व गर्ने १४ केन्द्रीय सदस्य, ४८ जना सांसद, ४८ क्षेत्रीय सभापति,२० जना संविधानसभा निर्वाचनका उम्मेदवार, ४८ जना क्षेत्रीय सभापतिका प्रत्यासी र करिब पाँच सय २८ जना जिल्ला नेता गरी करिब सात सयको उपस्थिति रहेको कांग्रेस धनुषाका अध्यक्ष रामसरोज यादवले बताए। 

जनकपुरको स्थानीय महेन्द्रनारायण निधि सांस्कृतिक भवनमा कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले भेलाको उद्घाटन गरेका छन्। भेलामा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, कोषाध्यक्ष सीतादेवी यादव, बिमलेन्द्र निधि, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, प्रदीप गिरी लगायतले संवोधन गरेका छन्।

४८ निर्वाचन क्षेत्र रहेको दुई नम्बर प्रदेशका आठ जिल्लाबाट नेपाली कांग्रेसका २० जनाले गत २०७० को संविधानसभा निर्वाचनमा विजय हासिल गरेका थिए। दुई नम्बर प्रदेशबाट कांग्रेसले एक सय २७ निर्वाचन क्षेत्रमध्ये करिब एक सय वटा क्षेत्रमा जित हासिल गर्ने लक्ष्य लिएको छ।

पार्टी नेतृत्वको लक्ष्य पूरा गर्न कांग्रेसले पूर्वतयारी स्वरुप निर्वाचन आउनु एक महिना अघिदेखि नैं तयारीमा जुटेको हो। कांग्रेसले जिल्लाका अगुवा नेता कार्यकर्ताको सुझावमा उम्मेदवारी छनोट प्रक्रिया, चुनाव प्रचार प्रसार अभियान र तयारीलाई तिव्रता दिने भएको छ। 

दुई नम्बर प्रदेशका आठ जिल्लामध्ये सप्तरी, सर्लाही र रौतहटबाट कांग्रेसमा कोही पनि केन्द्रीय सदस्य छैनन् भने धनुषाबाट मात्र चार केन्द्रीय सदस्य छन्। सिरहा र महोत्तरीबाट भने ३/३  र बारा तथा पर्साबाट २/२ जना मात्र केन्द्रीय सदस्य छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.