साबधानी अपनाउन जनस्वास्थ्य कार्यालयको आग्रह

|

दमक : झापामा स्वाइनफ्लुका बिरामी फेला पर्न थालेपछि जिल्ला जनस्वास्थ्य कार्यालय झापाले स्थलगत अनुगमन सुरु गरेको छ। जिल्लामा स्वाइनफ्लुका कारण दुई जनाको मृत्यु भएपछि जनस्वास्थ्य कार्यालयको टोली स्थलगत अनुसन्धानमा खटेको हो।

डाक्टर दुर्योधन यादवको संयोजकत्वमा चार सदस्य जनस्वास्थ्यको टोली अनुसन्धानका लागि बिर्तामोडमा खटिएको हो। स्वाइनफ्लुका कारण मृत्यु भएकी बिर्तामोड १ की मनिसा आग्रवाल र बिर्तामोड ४ की अनितादेवी मित्तलको उपचारको क्रममा भारतमा मृत्यु भएपछि झापामा पनि स्वाइनफ्लु देखा परेको जनस्वास्थ्य कार्यालयले जनाएको छ। जनस्वास्थ्यको टोलीले बिहीबार मृतको घरमा पुगेर लक्षण तथा उनीहरूको ल्याब रिर्पोटको बारेमा जानकारी लिएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका कार्यक्रम अधिकृत कुल बहादुर पौडेलले मृतक दुबै जनाको स्वाइनफ्लुबाट नै मृत्यु भएको प्रमाणित भएको बताए। उनले स्वाइनफ्लुको भाइरसको संक्रमण कहाँबाट फौलिएको हो भन्नेमा अनुसन्धान गरिरहेको जानकारी दिए। उनले भने, ‘उहाँहरुको स्वाइनफ्लुका कारण नै मृत्यु भएको हो। हामीले अस्पातालको रिर्पोट हेर्‍यौँ र लक्षणहरू पनि सोध्यौँ तर स्वाइनफ्लुको भाइरस कहाँबाट आएको हो भन्ने विषयमा अनुसन्धान गर्दैछौँ ।'

उनले यो भाइरस स्वासप्रस्वासको माध्यमबाट सर्ने भएकाले सर्तक रहन आग्रह गरे। उनले भने, ‘यो सुंगुरमा लाग्ने रुघाखोकी हो। मान्छेलाई सर्‍यो भने खतरानाक हुन सक्छ।’ उनले जिल्लाको बिर्तामोड क्षेत्र लगायत सहरी क्षेत्रमा सुंगुर पालन ब्यवस्थित नभएकाले यो रोग अझै फैलन सक्ने भएकाले सर्तक रहन आग्रह गरे।

टोलीमा खटिएका टोलीका संयोजक डाक्टर दुर्योधन यादवले भने- ‘यो रोगबाट बच्न अब हामीले भरसक कसैसँग हात मिलाउन भएन, सधै मास्कको प्रयोग गर्नुपर्छ।’ उनले केही ब्यक्तिमा फेला परेकाले अब अन्यमा पनि सर्दैन भन्न नसक्ने अवस्था रहेको बताए। ‘झापाका २ जनामा देखा परेको छ। अब अरुमा पनि देखा पर्दैन भन्न सकिन्न। त्यसैले सबै जनाले सावधानी अपनाउनु पर्छ’, उनले भने।

उनले दुईजनाको मृत्युको कारण स्वाइनफ्लु नै भएकाले भोलि नै बिर्तामोड नगरपालिका, जिल्ला जनस्वास्थ्य कार्यालय र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा प्रतिवेदन बुझाउने बताए। उनले रोग नियन्त्रण महाशाखाद्वारा विशेषज्ञको टोली समेत बोलाइने जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.