|

नेपाल पत्रकार महासंघले आफ्नो ६२औँ स्थापना दिवस मनाउँदै छ। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिँदै आएको यो संस्था पत्रकारहरूको हकहितको लागि सक्रिय रहेको एक मात्र साझा संस्था हो। 

लोकतन्त्रमा मात्र प्रेस स्वतन्त्रता संभव छ र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताको अभावमा लोकतन्त्र मजबुत हुन सक्दैन भन्ने कुरामा स्पष्ट रहँदै आएको नेपाल पत्रकार महासंघ त्यसै कारण नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणि मोर्चामा सधैँ उभिँदै आएको छ। त्यति मात्र होइन, नेपाली समाजको निरन्तर लोकतान्त्रिकीकरणको पक्षमा पनि पत्रकार महासंघ उभिँदै आएको छ। 

आफ्नो ६१ वर्षको यात्रामा महासंघले यो पहिचान स्थापित गर्न सफल भएको छ। यसैकारण नेपाली समाजले पनि आशा गर्ने र संकटको समयमा भरपर्ने संस्थाको रूपमा पनि नेपाल पत्रकार महासंघ उभिएको छ। लोकतान्त्रिक पद्धतिलाई प्रभावकारी बनाउनका लागि सचेत नागरिक संस्थाको आवश्यकतामाथि राजनीतिशास्त्रका विद्वानहरूले जोड दिने गरेका छन्।

नेपाली लोकतान्त्रिक आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको पत्रकार महासंघ यहाँको लोकतन्त्रको मजबुतीकरणका लागि आवश्यक बलियो नागरिक संस्थाका रूपमा उभिन सफल भएको छ। यो सफलताका लागि योगदान दिने संस्थाका संस्थापकदेखि हालसम्मका नेतृत्वकर्ता तथा अग्रज एवं बरिष्ठ पत्रकारहरूप्रति हार्दिक सम्मान व्यक्त गर्दै महासंघको सामाजिक औचित्यलाई समयानुकूल बनाई राख्न जरुरी छ। 

एउटा पेसागत संस्था भएर पनि समाजको असली प्रवक्ताको भूमिका निर्वाह गर्न सफल यो संस्थाको महाधिवेशन पनि नजिकिएको छ। महाधिवेशन भनेको नेतृत्व चयनसँगै नीति तथा रणनीतिहरूमा समीक्षा र आवश्यक परे त्यसलाई परिमार्जन गर्ने थलो पनि हो। यस्तो समीक्षा र परिमार्जन गर्दा आगामी दिनमा आफ्नो भूमिका के हुने भन्ने कुरामा पहिले स्पष्ट हुन जरुरी छ। 

नागरिकहरूको सबै क्षेत्रप्रति अविश्वास बढेमा, समाजमा अन्याय अनुभव गरेमा अनि नागरिकले देशलाई कुनै प्रकारले मार्गनिर्देश गर्न चाहेमा उनीहरूले सहारा लिने क्षेत्र भनेकै पत्रकारिता हो। त्यसकारण पत्रकारितसँग सम्बन्धित यो संस्थाले नागरिकहरूको यस प्रकारको भावना बुझेर आफूलाई नागरिक प्रवक्ताका रूपमा प्रस्तुत गर्न आवश्यक छ।

व्यावसायिक हितको पक्षमा
नेपाल पत्रकार महासंघको एउटा प्रमुख दायित्व भनेको नेपालका सबै पत्रकारहरूको व्यावसायिक हितको पक्षमा प्रभावकारी रूपमा उभिनु हो। यसो त, नेपालमा श्रमको उचित मूल्य दिने प्रचलन छैन भन्ने गरिन्छ। त्यसमा पनि पत्रकारिता क्षेत्रमा लागेका श्रमजीवीहरूले न्यूनतम तलब पनि पाउन सकिरहेका छैनन्। पाए पनि नियमित पाइरहेका छैनन्। श्रमजीवी ऐनको कार्यान्वयन अत्यन्त फितलो अवस्थामा रहेको छ। यो अवस्थामा पत्रकार महासंघले श्रमजीवी पत्रकारहरूको श्रमको मूल्य सुनिश्चित गर्दै पत्रकारहरूको पेशागत सुरक्षाको पक्षमा उभिन आवश्यक छ। 

अहिले विभिन्न बहानामा र असम्बन्धित कानुनमार्फत अनलाइन पत्रकारिताको सम्पादकीय स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कानुनको मस्यौदा सञ्चार माध्यमबाट सार्वजनिक भएको छ। यस्ता विषयहरूमा पत्रकार महासंघ सचेत रहँदै, जस्तोसुकै मूल्य चुकाएर भए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिनु आवश्यक छ। 

अहिले पनि यो काम पत्रकार महासंघले गरिरहेको त छ, तर किन यो कामले अपेक्षित परिणाम दिलाउन सकिरहेको छैन त? यसको पनि समीक्षा आवश्यक छ।पत्रकारिता क्षेत्रलाई बलियो बनाउन, नागरिक अपेक्षाअनुसारको पत्रकारिता गर्न, समाज रूपान्तरणको पक्षमा बलियोसँग नेतृत्व गर्नसक्ने खालको पत्रकारिताको विकास गर्न र मूल्यमा आधारित पत्रकारिताका लागि श्रमजीवी ऐनको पूर्ण कार्यान्वयन आवश्यक छ। यसका लागि ऐन कार्यान्वयन हुन नसक्नुको कारण पहिचान गर्दै आवश्यक परेमा ऐन संशोधनको दिशामा पनि अगाडि बढ्दै श्रमजीवी पत्रकारको व्यावसायिक हितको पक्षमा पत्रकार महासंघले अझ प्रखर रूपमा आफूलाई अभ्याउन आवश्यक छ। 

श्रमजीवी ऐनको कार्यान्वयन नगर्ने र पत्रकारहरूको श्रमको मूल्य दिन नमान्ने सञ्चार माध्यमहरूको अलग सूची बनाई त्यस्ता सञ्चार माध्यमलाई कानुनी दायरामा ल्याउने भूमिका पनि पत्रकार महासंघले खेल्न सक्छ। अन्य निकायबाट यसो गर्दा प्रभावकारी हुन नसकेको अनुभवबाट सिक्दै ऐन कार्यान्वयन नगर्ने र श्रमको मूल्य नदिने सञ्चार माध्यमलाई कानुन कार्यान्वयनका लागि दवाब दिने दायित्व पनि महासंघले निर्वाह गर्न सक्नुपर्दछ।

व्यावसायिक हितको कुरा गरिरहँदा सञ्चार माध्यमलाई बलियो बनाउने कुरा पनि सँगसँगै जोडिएर आउँछ। त्यसका लागि विज्ञापनमाथिको अधिकारको सुनिश्चितताको अभियानलाई महासंघले जोडतोडले उठाउन आवश्यक छ। 

पत्रकारिता नेपाली नागरिकलाई सुसूचित गर्ने प्रभावकारी माध्यम हो। राज्यको तथा निजी क्षेत्रको ठूलो रकम यस्तै सूचित गर्ने कामका लागि छुट्याइएको हुन्छ। त्यो रकम मोलमोलाइजा तथा व्यक्तिगत सम्पर्कका आधारमा अनि सम्पादकीय स्वतन्त्रतामाथि प्रभाव तुल्याउने ढंगले खर्च गर्न राज्य तथा निजी क्षेत्र उद्यत देखिन्छ।

अब यी प्रवृत्तिको अन्त्य गर्दै स्थानीय विज्ञापनमाथि स्थानीय सञ्चार माध्यमको अधिकार सुनिश्चित गरिनु आवश्यक छ। यसका लागि राज्य र निजी क्षेत्रसँग छलफल गर्दै एउटा मापदण्ड निर्माण गरी सूचनाका लागि छुट्याइएको रकमको समग्र सदुपयोग गर्न लाग्नुपर्दछ। 

नागरिक प्रवक्ताको भूमिकामा
नेपाली समाजमा विश्वासिलो नागरिक संस्थाको रूपमा आफ्नो अलग परिचय बनाउन सफल यो संस्था मुलुकको लोकतान्त्रिक आन्दोलनका क्रममा मात्र होइन, नेपाली समाजको लोकतान्त्रिकीकरणको अभियानमा पनि अगुवा संस्थाको रूपमा स्थापित भएको छ। राजनीतिक संक्रमणकाल र स्थानीय तह नेतृत्वविहीन भएको अवस्थामा यो संस्थाले नागरिक प्रवक्ताको भूमिकासमेत खेल्दै आएको छ।

नागरिकहरूको सबै क्षेत्रप्रति अविश्वास बढेमा, समाजमा अन्याय अनुभव गरेमा अनि नागरिकले देशलाई कुनै प्रकारले मार्गनिर्देश गर्न चाहेमा उनीहरूले सहारा लिने क्षेत्र भनेकै पत्रकारिता हो। त्यसकारण पत्रकारितसँग सम्बन्धित यो संस्थाले नागरिकहरूको यस प्रकारको भावना बुझेर आफूलाई नागरिक प्रवक्ताका रूपमा प्रस्तुत गर्न आवश्यक छ। पत्रकारिताप्रति कसैको गुनासो रह्यो र अन्याय भएको महसुस भएमा त्यसको निराकरण गर्ने दायित्व पनि पत्रकार महासंघले लिन सक्नुपर्दछ। 

अहिलेको पत्रकारिता ‘आवाजविहीनहरूको आवाज’भन्दा ठूला र शक्तिकेन्द्रहरूद्वारा नियोजित रूपमा उत्पादित सूचनाहरू नागरिकहरूमा जबर्जस्ती थोपर्नेतर्फ उन्मुख हुन त गइरहेको छैन? भन्ने टिप्पणीहरू हुने गरेका पाइन्छ। यस्ता टिप्पणी नेपाली पत्रकारिताको सन्दर्भमा मात्रै होइन, विश्वभर यो चुनौती बन्दै गइरहेको प्रवृत्ति हो। त्यसकारण यो प्रवृत्तिबाट नेपाली पत्रकारितालाई जोगाउँदै नागरिक प्रवक्ताको भूमिकामा सधैँ अडिग राख्नका लागि पनि नेपाल पत्रकार महासंघले विशेष भूमिका खेल्न आवश्यक छ। 

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा 
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिनु नेपाल पत्रकार महासंघको प्रथम दायित्व हो। अहिले विभिन्न बहानामा र असम्बन्धित कानुनमार्फत अनलाइन पत्रकारिताको सम्पादकीय स्वतन्त्रतामाथि हस्तक्षेप गर्ने कानुनको मस्यौदा सञ्चार माध्यमबाट सार्वजनिक भएको छ। यस्ता विषयहरूमा पत्रकार महासंघ सचेत रहँदै, जस्तोसुकै मूल्य चुकाएर भए पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिनु आवश्यक छ। 

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा उभिनु भनेको लोकतान्त्रिक पद्धतिको पक्षमा अविचलित रूपमा उभिनु पनि हो।

उत्तरदायी पत्रकारिताको पक्षमा
नेपाली समाज अझै रूपान्तरणको तीब्र आकांक्षामा रहेको छ। राज्य सञ्चालकहरूले यो आकांक्षालाई पूरा गर्न नसकिरहेको गुनासो रहेको छ। यो अवस्थामा नेपाली पत्रकारिताले नै समाज रूपान्तरणको अगुवाइ गर्न आवश्यक छ। त्यसका लागि समाजप्रति उत्तरदायी पत्रकारिताको आवश्यकता पर्दछ। त्यसकारण नेपाल पत्रकार महासंघले पत्रकारहरूको क्षमता अभिवृद्धिसँगै पत्रकारिताको आयाम तथा समाज उपयोगी पत्रकारिताको पक्षमा अभियान थाल्न जरुरी छ। 

पेसागत हितको पक्षमा काम गर्दागर्दै पत्रकारिताका आयामहरूका बारेमा पनि बहस थाल्ने बलियो संस्थाको रूपमा आफूलाई उभ्याउन आवश्यक छ। यसका लागि तालिम, पुनर्ताजगी, अभिमुखीकरण तथा ‘एक्सचेन्ज भिजिट’का कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्न सक्नुपर्दछ। 

अन्त्यमा
नेपाल पत्रकार महासंघलाई राज्यको प्राज्ञिक परामर्श दिनसक्ने संस्थाको रूपमा विकास गर्न पनि जरुरी छ। राज्यले पत्रकार महासंघलाई विभिन्न ऐनमार्फत् परिचित गरेको छ। यसको अर्थ राज्यले औपचारिक रूपमा यो संस्थालाई बलियो नागरिक संस्थाको रूपमा चिनेको छ। त्यसकारण देश अनिर्णयको बन्दी भएको बेलामा, संक्रमणकालमा गुज्रिरहेको बेलामा तथा अपर्झट आइपर्ने संकटबाट निकास दिनुपर्ने बेलामा नागरिक आवाजलाई व्यवस्थित गर्दै निर्णयमा पुग्न राज्यलाई सघाउने गरी परामर्श दिन सक्ने हैसियत पत्रकार महासंघले बनाउन सक्नुपर्दछ। 

यसका लागि महासंघले आफैँभित्र पनि अलग संरचना निर्माण गर्न सक्छ। देश अलमलिइरहेको समयमा गणतन्त्रमा जानुपर्ने ऐतिहासिक निर्णय गर्दै पत्रकार महासंघले ‘कु’का विरुद्धको आन्दोलनलाई फराकिलो बनाएको इतिहास हाम्रासामु छँदै छ। आवश्यक पर्दा देशलाई मार्गनिर्देश गर्न सघाउने संस्थाका रूपमा पनि पत्रकार महासंघको पहिचान बनाउन सकिन्छ।

पत्रकारितामार्फत देशलाई योगदान दिने उद्देश्यकका साथ यो संस्था स्थापना गरेका अग्रजहरूप्रति सम्मान गर्न र पत्रकारितालाई उद्योगको रूपमा स्थापित गर्दै यस क्षेत्रमा श्रम गर्नेहरूको श्रमको सम्मानका साथै भविष्य सुरक्षित राख्नका लागि पत्रकार महासंघले नै विशेष तथा परिणाम दिने प्रकारको भूमिका खेल्न सक्छ। 

आफ्नो ६२औँ स्थापना दिवसका अवसरमा पत्रकार महासंघले यो भूमिकामा आफूलाई थप प्रभावकारी रूपमा उभ्याउने संकल्प गर्दै छ। यो संकल्पले यो संस्थाका हामी सबै सदस्यहरूलाई दायित्वबोध गराएको छ। सबै पत्रकारहरूमा शुभकामना।

पोख्रेल नेपाल पत्रकार महासंघ केन्द्रीय समितिका पूर्व  उपसभापति हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.