|

विराटनगर : निर्वाचित भएको १ महिनामा बजेट प्रस्तुत गर्ने तयारी गरेको विराटनगर महानगरपालिकाले थप १५ दिन समय लिने भएको छ। बजेट निर्माणको तयारीमा लागेका नवनिर्वाचित नगर प्रमुख तथा वडाध्यक्षहरूले अहिले विषयगत कर्मचारी तथा विज्ञहरुसँगको छलफल तीब्र पारेका छन्।

‘सरकारले दिने सशर्त अनुदान, अनुदान र अन्य विषयगत बजेटको विनियोजन कसरी गर्ने भन्ने विषयमा हामी छलफलमा छौं,’ विराटनगरका नगर प्रमुख भीम पराजुलीले भने, ‘बजेट विनियोजनका लागि हामीले कार्यविधि पारित गरिसकेका छौं, अर्थलगायत ६ वटा विभिन्न समिति निर्माण गर्ने र सोही समितिसँगको छलफलमा बजेट विनियोजन गर्छौं।’

पराजुलीका अनुसार माहानगरले विभिन्न विज्ञहरु सम्मिलित एउटा समिति निर्माण गर्ने तयारी गरेको छ। विकास निर्माणका लागि तत्कालीन, अल्पकालीन र दीर्घकालीन योजनाहरु निर्माणका लागि विज्ञहरुको आवश्यक पर्ने माहानगर प्रमुख पराजुलीको भनाइ छ। जुन समितिमा उद्योगी, व्यापारी, अर्थ विज्ञ, योजनाविद, भाषा संस्कृति, शिक्षा र स्वास्थ्यलगायतका विषयका विज्ञलाई राखिने उनले जानकारी दिए। बजेटले तत्काल देखिएका खाल्डाखुल्डीको समस्यादेखि १० वर्षपछिको विराटनगर कस्तो हुने भन्ने परिकल्पना गर्ने पराजुलीको भनाइ छ।

अन्तर्राष्ट्रियस्तरको सेमिनार हल

विराटनगर माहानगरपालिकाले शहरी विकास मन्त्रालयको अनुदान सहयोगमा अनुमानित २ अर्ब लगानीमा वृहत अन्तर्राष्ट्रिय सेमिनार हल निर्माण गर्ने तयारी गरेको छ।

विराटनगरका प्रमुख भीम पराजुलीले आफ्नो पहलमा उक्त भवन निर्माणका लागि शहरी विकास मन्त्रालयबाट ५० करोड रकम स्वीकृत भइसकेको जानकारी दिए। ‘३५ सय मानिस एउटै हलमा उपस्थित भएर कार्यक्रम गर्न हुने गरीको हल निर्माणको लागि ५० करोड बजेट विनियोजन भएको छ,’ पराजुलीले भने, ‘त्यसमा माहानगरपालिकाले थप गरेर सभागृह (सेमिनार हल) निर्माणको काम यसै वर्षदेखि सुरु हुन्छ।’

विराटनगरमा अहिले रहेको वीरेन्द्र सभा गृह सानो र पुरानो हुँदै गएको बताउँदै पराजुलीले अबको आवश्यकता धान्नका लागि पनि ठूलो क्षमताको सेमिनार हल निर्माण गरिने बताए। ‘हल निर्माणका लागि नगरपालिकाले २ विगाहा जग्गाको खोजीमा लागेको छ,’ उनले भने, ‘जग्गा छनोट हुने वित्तिकै सभागृह निर्माणको प्रक्रिया अघि बढ्छ।’ 

उक्त हल अन्तर्राष्ट्रियस्तरको हुने बताउँदै पराजुलीले अन्य भौतिक संरचनाको निर्माणको पनि पहल भइरहेको बताए। जीर्ण अवस्थामा रहेको वीरेन्द्र सभागृहलाई निजी तथा सार्वजनिक साझेदारीको अवधारणा अनुसार मर्मत सम्भार व्यवस्थापन गर्ने पराजुलीले बताए। त्यसका लागि पनि आवश्यक बजेट विनियोजन गरिने उनको भनाइ छ। 

पहिलो प्रतिवद्धता पुरा हुँदै

आफू माहानगरपालिकाको प्रमुखको पदभार ग्रहणका क्रममा गरेको पहिलो निर्णय कार्यान्वयनको चरणमा रहेको पराजुलीले बताए। विराटनगरमा मोतियाविन्दुको निःशुल्क शल्यक्रिया गर्ने, सडकका खाल्डाखुल्डी पुर्ने, सामाजिक सुरक्षा भत्ता वडाबाटै वितरण गर्ने कामको प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताए। ‘हामी सबैपक्षसँग निरन्तर छलफल र संवादमा छौं, आवश्यक कार्ययोजना निर्माण गरेर उक्त कुरा सय दिनभित्र कार्यान्वयन हुन्छ,’ पराजुलीले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.