|

काठमाडौं : पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनबाट पहिलो पार्टी बनेपछि उत्साहित भएको नेकपा एमालेले असोज २ गते हुने प्रदेश नम्बर २ को चुनावमा आफ्नो सम्पूर्ण शक्ति लगाएको छ। विभिन्न कार्यक्रम लिएर एमालेका नेताहरु प्रदेश २ मा केन्द्रित भएका छन्।

एमाले वरिष्ठ नेता माधवकुमार नेपालले मधेस आउजाउ गरिरहेका छन्। महासचिव ईश्वर पोखरेल विराटनगर, वीरगञ्ज लगायतका शहर पुगेर बिहीबार बारामा आयोजित सभामा संबोधन गर्न पुगेका छन्। '२ नम्बर प्रदेशका विभिन्न जिल्लामा आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गरेर २२ गते मात्र काठमाडौं फर्कनुहुन्छ' एमाले महासचिवका निजी सचिव दीपेन्द्र श्रेष्ठले भने।

एमाले स्थायी समिति सदस्य सत्यनारायण मण्डल एक महिनादेखि प्रदेश नम्बर २ मा नै रहेका छन्। 'म अहिले बैठकमा छु। यहाँ (सप्तरीमा) बैठक चलिरहेको छ। चुनाव आइसक्यो नि त, त्यसैले पार्टीको बैठकमा साथीहरुसँग छलफलमा छु' नेता मण्डलले बिहीबार थाहाखबरसँग भने। 

प्रदेश–२ को निर्वाचनलाई लक्षित गरेर विशेष कार्यालय नै स्थापना गरेर तयारीमा छ एमाले। सचिव योगेश भट्टराई पनि बिहीबार धनुषा पुगेका छन्। उनी साउन १७ गते नै प्रदेश २ को निर्वाचनको तयारीका लागि मधेस झरेका हुन्।

पोलिटब्युरो सदस्य लालबाबु पण्डित पनि मधेस र काठमाडौं आउजाउ गरिरहेका छन्। विशेष कामले बिहीबार काठमाडौं आएका नेता पण्डितले तुरुन्तै मधेस झरिहाल्ने बताए। 'म विशेष कामले आज मात्रै काठमाडौं फर्किएको छु। दुई नम्बरमा चुनावको तयारी चलिरहेको छ, त्यसका लागि लगत्तै मधेस झरिहाल्छु'-पण्डितले भने।

प्रदेश २ मा चुनावी तयारीका लागि पदाधिकारी सहितका अरु नेताहरु पनि मधेस झर्ने तयारीमा छन्। चुनावी रणनीति, सुरक्षा सतर्कता लगायतका विषयमा छलफल गरिने एमाले नेता नागेन्द्र चौधरी बताउँछन्। साउनभरमा सबै स्थानीय तहका उमेदवार टुंगो लगाएर जनताका पीरमर्का बुझ्दै चुनावी अभियानमा परिचालित हुने एमाले तयारी छ।

विशेषतः भदौको पहिलो तथा दोस्रो हप्ताबाट एमालेका शीर्ष नेताहरू दुई नम्बर प्रदेशमा केन्द्रित हुनेछन्। यद्यपी अहिले पनि विभिन्न कार्यक्रमका लागि नेताहरु २ नम्बर प्रदेशमा आउजाउ गरिरहेका छन्।

भदौ दोस्रो हप्तापछि २ नम्बर प्रदेशका ८ वटै जिल्लामा चुनाव केन्द्रित ठूला सभा तथा र्‍यालीको आयोजना गर्ने एमालेको तयारी छ। जनकपुर, सिरहा र वीरगञ्जमा केन्द्रीय कार्यालय सरहकै कार्यालय स्थापना गर्ने विषयमा एमालेभित्र छलफल चलिरहेको छ। 

एमाले पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी स्थानीय कमिटी र प्रदेश अन्तर्गतका सम्पूर्ण नेतृत्व अहिले २ नम्बर प्रदेशमा चुनावी अभियान सञ्चालनका लागि चुनाव परिचालन कमिटी गठन तथा परिचालन लगायतका कार्यमा केन्द्रित भएको बताउँछन्।

प्रदेश नम्बर २ मा एमाले कमजोर भन्ने मान्यता चुनावबाट गलत साबित हुने एमाले नेताहरु बताउँछन्। नेता चौधरी भन्छन् 'हिजोदेखि नै एमाले तराईमा बलियो छ। अहिले केही तत्वहरुले एमाले कमजोर भनेर भन्छन् तर त्यो चुनावपछि गलत साबित हुन्छ।'

अन्य प्रदेश सरह प्रदेश नम्बर २ मा पनि एमाले पहिलो हुने नेता लालबाबु पण्डित बताउँछन्। 'पहिलो र दोस्रो चुनावबाट एमाले पहिलो हो भन्ने प्रभाव परिसकेको छ। प्रदेश २ का सबै जिल्लामा एमाले पहिलो हुन्छ' नेता पण्डितले भने, 'पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, सिरहामा एमालेको राम्रो छ। सप्तरीमा पनि राम्रो छ। बीचमा केही घटना भए तर अरुसँग प्रतिस्पर्धा भए पनि एमालेले नै जित्छ।'

वर्षायाममा खेतीपाती लगायतका काम गर्नुपर्ने भएकाले अब चुनावमा एमाले केन्द्रित भएको उनले बताए। 'अहिले मूलतः प्रदेश नम्बर २ अन्तर्गतका पार्टी कमिटीका बैठक बस्ने, उम्मेदवार चयन गर्ने लगायतका तयारीका कामहरु भइरहेका छन्' यादवले भने। 

४५ प्रतिशत जित्ने दावी 

प्रदेश नम्बर २ मा १ सय २७ स्थानीय तह रहेका छन्। तीमध्ये ४५ प्रतिशतमा आफूहरुले जित हासिल गर्ने एमाले पोलिटब्युरो सदस्य नागेन्द्र चौधरी  बताउँछन्। २ नम्बरमा एमाले कमजोर छ भन्नेहरुका लागि आफूहरुले यसपटक ४५ प्रतिशत सिट जितेर देखाइदिने उनी बताउँछन्। बताउँछन्।

'दुई नम्बरमा हामी अहिले सबै जिल्लाहरुमा बैठक, भेला, घरदैलो, झण्डा वितरण गरिरहेका छौ। कतै-कतै र्‍यालीहरु पनि शुरु गरिसकेका छौं। उम्मेदवार छनोटदेखि उम्मेदवार परिचय कार्यक्रम पनि गरिरहेका छौं' उनले भने, 'अहिले हामी पहिलो पार्टी हुने अभियानमा छौं। यो चुनावबाट ४० देखि ४५ प्रतिशत सिट ल्याएर पहिलो पार्टी हुन्छौं।' १ सय २७ स्थानीय तहमध्ये ५७ सिट जित्ने एमालेको दावी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.