|

पर्वत : शिक्षक नारायण पौडेलको हत्याको विषयमा संलग्नता नदेखिएपछि अनुसन्धानका क्रममा पक्राउ परेका ५ जना धरौटीमा रिहा भएका छन्। कुश्मा नगरपालिका १ पाङका शिक्षक पौडेलको हत्यामा संलग्नताको प्रमाण नभेटिएपछि पक्राउ परेका कुश्मा नगरपालिका ९ कटुवाचौपारीस्थित आइबल एकेडेमीका प्रिन्सीपल बिमल पौडेल, अभिभावकहरु देउकुमार श्रेष्ठ, चन्द्रमान घर्ती र जयबहादुर श्रेष्ठलाई जिल्ला अदालत बागलुङले धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

जिल्ला अदालत बागलुङमा लगातार तीनसम्म भएको सुनुवाईपछि आरोपित विद्यालयकी कार्यालय सहयोगी लक्ष्मी पुरी लाई १० हजार तथा तीन जना अभिभावक र प्रिन्सीपल पौडेललाई १/१ लाख रुपैयाँको धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

मृतक शिक्षक नारायण पौडेलका अभिभावकहरुले उनको हत्या नै भएको दावी गर्दै विद्यालयका प्रिन्सीपल पौडेल, कार्यालय सहयोगी पुरी तथा अभिभावकहरु देउकुमार र चन्द्रमानको विरुद्धमा किटानी जाहेरी दिएका थिए।

१० भन्दा बढी व्यक्तिसँग फरक फरक तरिकाले बयान लिनुका साथै पक्राउ परेका प्रतिवादीहरुको पोलिग्राफ टेस्ट गर्दा समेत उनीहरुबाट कुनै पनि तथ्य फेला नपरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चन्द्रकुबेर खापुङले जानकारी दिए।

घटका सबै आरोपितहरुको मोबाइल, फेसबुक कुराकानी, म्यासेन्जर, कल डिटेल्स लगायतका कुराहरु परीक्षण गर्दा पनि तथ्य फेला नपरेको प्रहरीले जनाएको छ। प्रहरीले आफूसँग भएको प्रमाणको आधारमा अदालत पेश गरेपछि उनीहरु धरौटीमा रिहा भएका हुन्।

घट्नाको विषयमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समेत अनुसन्धान प्रक्रिया अगाडि बढाएको भए पनि उसले समेत ठोस तथ्य निकाल्न सकेको छैन। घटनाका आरोपित प्रिन्सीपल पौडेल र कार्यालय सहयोगी पुरीले घटना भएको दिन जेठ २५ गते आफूहरु विद्यालयमा नै रहेकोले घटनाको केही थाहा नभएको बताएका छन्।

अभिभावक देउकुमारले उक्त दिनमा आफू भाषा परीक्षाका लागि काठमाडौंमा रहेको र घटनाको ४ दिनपछि मात्र कुश्मा आएको बयान दिएका थिए। अभिभावक जयबहादुरले आफूलाई घटनाको विषयमा केही पनि थाहा नभएको बताउँदै आएका छन्। २० वर्षीय शिक्षक पौडेल गएको जेठ ७ गते बागलुङ जिल्लाको जैमिनी नगरपालिका अन्तर्गत बेलबगर भन्ने स्थानमा कालीगण्डकी नदीको किनारमा मृत अवस्थामा भेटिएका थिए।

स्कुलमा आफूले पढाउने विषयमा कम अंक ल्याएको भन्दै विद्यार्थीलाई यातना दिएपछि विद्यालय प्रशासनले अभिभावकसँग माफी माग्न बोलाएको दिन जेठ २५ गतेबाट उनी सम्पर्कबिहीन भएका थिए। शवको पोष्टमार्टम रिपोर्टमा काठमाडौंस्थित शिक्षण अस्पतालले उनको मृत्यू घाँटीमा रहेको चोटका कारण भएको हुन सक्ने शंका व्यक्त गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.