|

काठमाडौं : पेन्डेमिक इन्फ्लुएन्जा H1N1 (स्वाइन फ्लू) कारण आजसम्म देशभर ६ जनाको मृत्यु भएको स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडीमीयोलीजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ। शाखाले बिहीबार विशेष पत्रकार सम्मेलन गर्दै गत जनवरीदेखि बिहीबारसम्म ६ जनाको मृत्यु स्वाइन फ्लुबाट भएको पुष्टी गरेको हो।

महाशाखाका प्रमुख डा. भीम आचार्यले एक महिना अगाडि किष्ट मेडिकल कलेजमा एक जना, तीन महिना अगाडि सुमेरु अस्पतालमा एक जना, शिक्षण अस्पतालमा स्याङ्जाका एक जना, ग्राण्डी अस्पतालमा कास्कीका दुई जना र ग्रिनसिटी अस्पतालमा एक जनाको मृत्यु भएको जानकारी दिए।

पछिल्लो समयमा स्याङ्जाको वालिङमा स्वाइन फ्लुको प्रकोप बढ्दै गएको भए पनि नियन्त्रणमा आइ सकेको र आतिनु पर्ने अवस्था नरहेको डा. आचार्यले बताए। उनले भने 'पछिल्लो समय स्वाइन फ्लु फैलियो भन्ने धेरै हल्ला हुदै आएको छ। यसबाट केही मानिसको ज्यान पनि गइसकेको अवस्थामा धेरै जना आत्तिदै आएका छन् तर हामीसित आवश्यक पर्ने सम्पूर्ण औषधी पर्याप्त मात्रामा छ।'

पछिल्लो समय स्याङजाको वालिङमा धेरैजना पेन्डेमिक इन्फ्लुएन्जा H1N1 (स्वाइन फ्लू) बाट संंक्रमित भए पनि नियन्त्रणमा आइ सकेको डा. आचार्यले बताए। उनले भने 'गत साउन १ गतेदेखि आजसम्म स्याङ्जाको वालिङमा मौसमी रुघाखोकी लागेर उपचार गर्न आउने १८ सय ४३ मध्ये ६ सय २५ मा पेन्डेमिक इन्फ्लुएन्जा H1N1 (स्वाइन फ्लू) को लक्षण देखिएको छ। हामीले ती बिरामीहरुको नमूना परीक्षण गरेर आवश्यक औषधी दिइसकेका सकेका छौँ।'

यस्तै झापामा दुइ जनाको स्वाइन फ्लुको कारण मृत्यु भएको अहिलेसम्म पुष्टी नभएको डा. आचार्यले बताए। सन् २००९ मा नेपालमा पेन्डेमिक इन्फ्लुएन्जा H1N1 (स्वाइन फ्लू) पहिलो पटक देखिएकोमा सन् २०१५ मा जाजरकोटमा ८ जनाको मृत्यु भएको थियो। स्वाइन फ्लु लागेका विरामीहरुलाई विश्व स्वास्थ्य संगठनको सहयोगमा आवश्यक औषधी निशुल्क वितरण हुदै आएको छ।

के हो पेन्डेमिक इन्फ्लुएन्जा H1N1 (स्वाइन फ्लु)?

मौसम परिवर्तनसंगै मानिसहरुमा सिजनल फ्लु अर्थात मौसमी रुघाखोकी सहित ज्वरो आउने गर्दछ। पेन्डेमिक इन्फ्लुएन्जा H1N1 (स्वाइन फ्लु) पनि त्यस्तै मध्येको एक प्रकार मौसमी रुघाखोकी हो।

स्वाइन फ्लु इन्फ्लुएन्जा भाइरस ए का विभिन्न उपप्रकारहरुले गराउने गर्छ। स्वाइन फ्लु गराउने इन्फ्लुएन्जा भाइरस ए का एच १ एन १, एच १ एन २ र एच ३ एन २ हुने गर्दछ। समान्यतया मानिसमा स्वाइन फ्लुमा सामान्य रुघाखोकी, घाँटी दुख्ने र उच्च ज्वरो आउने गर्दछ। समयमा नै उपचार गरे स्वाइन फ्लु सञ्चो हुन्छ। 

लक्षण

  • १०० डिग्री भन्दा माथि ज्वरो आउने,
  • खोकी लाग्ने तथा घाँटी खसखसाउने
  • वाकवाकी वा वान्ता हुने
  • नाक बन्द हुने तथा श्वास फेर्न गाह्रो भए जस्तो हुने
  • बालबालिकाहरुमा ज्वरो आउनुका साथै झाडापखला समेत हुने

बच्ने उपाय

  • खोक्दा, हाच्छ्यूँ गर्दा रुमालले मुख छोप्ने
  • खाना खानुअघि साबुनपानीले हात धुने
  • संक्रमित व्यक्तिबाट टाढा रहने
  • तातो पानीको बाफ लिने
  • नुन पानीले घाटीँ  कुल्ला गर्ने
  • मास्क प्रयोग गर्नै
  • खकार तथा सिगान जहाँ पायो त्यहीँ नफाल्ने
  • अरुले प्रयोग गरेका रुमाल तथा कपडा प्रयोग नगर्ने
  • अनावश्यक रुपमा मानिसहरुको भीडभाड भएको ठाउँमा नजाने
  • बाहिर निस्कँदा माक्सको प्रयोग गर्ने

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.