|

चितवन : भरतपुर १९ की लीला गुरुङ वर्षे झरीमा छाता ओढेर बिहान सात बजे शारदानगर मावी आइपुगिन्। उनी आउँदा झमझम पानी परिरहेको थियो। मतहाल्न खासै धेरै कुर्नुपरेन, लिलाले भनिन् दुईपटक भोट हालेको, खुसी लाग्यो।’ उनको एक हप्तापछि रोपार्इं भएकाले फुर्सद नै छ। मतदाताले दुईपटक भोट हाल्न पाउनुलाई अवसरका रुपमा लिएका छन्।

अन्य रोपार्इं भएकाहरु पनि फुर्सद मिलाएर आएको बताएका छन्। ‘जे नहुनु भई त हाल्यो, के भन्नु र, हामीलाई सुविधा चाहियो, त्यही हो,’ लीलाले थपिन्।शारदानगर माध्यामिक विद्यालयको गाडी पार्किङ क्षेत्रमा पहिलो चरणको लाइन थियो। प्रहरीले व्यवस्थापन मिलाइरहेको थियो। दोस्रो ठाउँमा पानी नपस्ने टेन्ट थियो। त्यसमा पनि मतदाताहरु लाइनमै थिए। करिब ९ बजेबाट भने खासै लाइन बस्नुपरेको थिएन।

त्यसपछि स्कुलको पेटीमा मतदानको व्यवस्था गरिएको छ। ५३ वर्षकी सन्तमाया गुरुङले पनि यो दोस्रोपटक भोट हालिन्। ‘खुसी छु, किन दुःखी हुनुपर्यो र अब, गुरुङले भनिन्, राम्रो होस्, राम्रो गर्नु, विकास गर्नु,त्यही हो मेरो भन्नु।’

उनले जितेर गएपछि वास्तै नगर्न नेताहरुको बानी रहेको भन्दै दुखेसो गरिन्। अहिलेसम्म  अन्योलमा बस्नुपरेकाले दुःख लागेको भन्दै मतदाताले निकास हुन्छ र विकासले फड्को मार्छ भनेर भोट हाल्न आएको बताए।

भरतपुर १९ का ६२ वर्षीय वृद्ध नरबहादुर बरामले श्रीमती  ५९ वर्षकी सन्तकुमारीसँगै भोट हाले। उनीहरुमा पनि उत्साह देखिन्थ्यो। दुईपटक हाल्न लायो, सन्तकुमारीले भनिन्, कस्तो भन्ने र अब खुसी भनौं कि दुःखी।  

बिहानभरी पानी परे पनि ९ बजेपछि भने केही रोकिएको थियो। मतदानस्थलमा विभिन्न क्षेत्रका पर्यवेक्षकहरु बाक्लै थिए। पत्रकराहरु पानीको परबाह नगरी समाचार संकलन  गरिरहेका थिए। जिल्ला निर्वाचन अधिकारी हरि ढकाल बिहान साँढे १० बजेसम्ममा ३३ प्रतिशत मत खसेको बताउँछन्। कुल ३ हजार ७ सय ९७ मा १ हजार २०० बढी मत खसेको सहायक निर्वाचन अधिकृत गम्भीर घिमिरेले जानकारी दिए।

वर्षाले गरेर सुरुमा मतदाता कम आएपछि अहिले बढिररहेको उनको भनाइ छ। ‘९–१० बजेसम्ममा २० प्रतिशत मत खस्नु भनेको नराम्रो होइन’, ढकालले भने। भरतपुर १९ का ८३ वर्षका धनमान गुरुङ पनि मतदान गर्न आए। छोरा सुर्ज बहादुर गुरुङले उनलाई बोकेर ल्याएका थिए। उनले पौने १० बजे भोट हालेर फर्किए। युवादेखि वृद्धासम्मकै भोट हाल्न आएका थिए।

 मतदानस्थलमा आइपुगेका एमालेको प्रमुखका उम्मेदवार देवी ज्ञवालीले राज्य मेरोविरुद्ध लागेकाले पनि जनतामा सकारात्मक उत्साह पाएको बताए। कांग्रेसको समर्थनमा नेकपा माओवादीका महानगरप्रमुख रेणु दाहालले उत्साह ढंगबाट मतदाता सहभागी भएको बताइन्। उनले भनिन्, ‘यो चुनौती हो, १९ का मतदाताले चुनौतीका सामाना गरका छन्। भोलिका दिनमा यो अवसर हो, त्यसको प्रतिफल यो वडाले पाउँछ।’

कांग्रेस उपप्रमुखका उमेद्वार पार्वती साहले भनिन्, ‘पहिले मतदाताले राम्ररी बुझ्न नसकेकाले समस्या भएको आवेशमा गल्ती पनि भयो, अब गल्ती हुँदैन भन्ने मतदाताको भनाइ छ।’ नहुने घटना भएपछि अब अहिले राम्रो भएको उनको भनाइ छ। मतदानस्थलको एकसय मिटर वरपर निषेधित क्षेत्र घोषणा गरेर सुरक्षा व्यवस्था कडा पारिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले बताए।

भरतपुर वडा नम्बर १९ मा तीनवटा मतदानस्थलमा ६ वटा मतदान केन्द्र रहेको छ।  किरण मावि किरणगञ्ज मतदानस्थलमा १ हजार २ सय ४८, जिवनज्योति स्कुल गुञ्जानगरमा १ हजार ३०६ र शारदानगर माविमा १ हजार २ सय ४३ गरी कुल ३ हजार ७ सय ९७ मतदाता छन्।

१४ जेठ राती गणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्धा परेको भरतपुर १९ को विषयमा सर्वाेच्च अदालतले शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएएपछि आज निर्वाचन भएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.