|

  • कृष्ण कंडेल

बाग्लुङ : पश्चिम बाग्लुङमा गएको भिषण पहिरोमा परी मृत्यु हुनेको संख्या ३ पुगेको छ। निसीखोला गाउँपालिका–२ बाहुनगाउँमा पहिरोमा पुरिएका २ जनाको शव प्रहरी र स्थानीयले  निकालेका छन्। घर माथिबाट खसेको पहिरोमा पुरिएका ६३ वर्षीया नन्दकली छन्त्याल र उनीकी बुहारी २२ वर्षीय बिन्दु छन्त्यालको शव निकालिएको प्रहरीले जनाएको छ। 

छन्त्यालका श्रीमान् ६८ वर्षीय मणिमान छन्त्याल र १८ वर्षीया छोरी गीता छन्त्याल अझै बेपत्ता छन्। पहिरोमा घरसँगै पुरिएका बाग्लुङ–५ अधिकारीचौरका ५४ वर्षीय ओमबहादुर विकको पनि मृत्यु भएको छ। उनकी श्रीमती र छोरी सकुशल रहेको तथा छोरा सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

घटनास्थलबाट शव निकाल्ने र बेपत्ताको खोजी कार्य जारी रहेको बाग्लुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङले जानकारी दिए। प्रहरीका अनुसार निसीखोला गाउँपालिका–१ हुल्दीमा पनि एक महिला पहिरोमा बेपत्ता छिन्। लालबहादुर सिंजालीकी अन्दाजी ६५ वर्षीया आमा बेपत्ता भएको प्रहरीले जनाइएको छ। 

भिषण वर्षापछि गएराति ठाउँ–ठाउँमा गएको पहिराले धनजनको क्षति पुर्‍याएको हो। ‘जिल्लाको पश्चिम भेगका थुप्रै ठाउँमा पहिरो गएको छ,’ प्रहरी उपरीक्षक खापुङले भने, ‘घटनास्थलमा प्रहरी पुगेर उद्धारको काम गरिरहेको छ, विस्तृत विवरण आउन बाँकी छ।’ 

कतिपय ठाउँमा प्रहरी पुग्नुभन्दा पहिल्यै स्थानीय बासिन्दासमेत उद्धारमा खटिएको जनाइएको छ। गतवर्ष पनि जिल्लाको पश्चिम भेगमा गएको बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको थियो। घटनास्थलमा उद्धार र राहातलाई प्रभावकारी बनाउन इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट प्रहरीहरु खटाइएको जनाइएको छ। अन्य सामाजिक संघसंस्थाहरु पनि राहातका लागि जाने तयारीमा छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.