|

कपिलवस्तु : चरणबद्ध रुपमा भइरहेको निर्वाचनले कपिलवस्तुका मुस्लिम तथा मधेसी महिलालाई फाइदा पुगेको देखिएको छ। निर्वाचनमा मतदान गर्न अनिवार्य रुपमा नागरिकता चाहिने प्रावधानले हाल आएर जिल्लामा मतदाता परिचयपत्र बनाउनका लागि उनीहरु धमाधम नागरिकता बनाइरहेका छन्। वषौं–वर्षदेखि नागरिकताको प्रमाणपत्र बनाउनबाट वञ्चित भएका मुस्लिम र मधेसी महिलाहरु मतदाता परिचय पत्र बनाउनकै लागि धमाधम नागरिता बनाउन अग्रसर भएका हुन्।

 प्रदेशको चुनावलाई लक्ष्य गरी एक साउनदेखि निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली संकलन गरेयता, मुस्लिम र मधेसी महिलाहरुको नागरिकता बनाउने क्रम बढेको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ।

मतदाता परिचय पत्र बनाउनकै लागि मुस्लिम र मधेसी महिलाहरुको प्रशासन कार्यालयमा भीड लाग्ने गरेको सहायक प्रजिअ रामेश्वर अर्यालले बताए। ‘मतदाता परिचय पत्रकै कारण लामो समयदेखि नागरिकता नबनाएका मुस्लिम र मधेसी महिलाहरुले अहिले मौका पाएका छन् ’ सहायक प्रजिअ अर्यालले भने।

 जिल्लाको यशोधरा गाउपालिका वडा नं. ८, मधुनगराकी इन्द्रावती चौधरीले स्थानीय तहको चुनावमा भोट खसाल्न नपाउँदा दुःख लागेकोले अब हुने चुनावमा जसरी भए पनि भोट हाल्नका लागि नागरिकता बनाएको बताइन्। विवाह भएको १० वर्षपछि मायादेवी नगरपालिका–२ अभिराव गाउँकी सालेखा खातुनले परिचय पत्रकै लागि नागरिकता बनाएको बताइन्।

पति र परिवारको सल्लाहअनुसार अहिले भने उनले जिल्ला प्रशासन कार्यालयबाट नागरिकताको प्रमाण पत्र बनाएको बताइन्। लामो पर्खाइपछि नागरिकता बनेपछि खुसी भएकी उनले भनिन्, ‘अब मतदाता परिचय पत्र बनाउन योग्य भएँ, अब भोट हाल्न नि पाउने भएँ।’ विवाह भएको ढेड दशक बढीदेखि नागरिकताको प्रमाणविना बस्दै आएकी बुद्धभूमि नगरपालिका–४ की कौश्ल्यिा मल्लाह पनि नागरिकता बनाउन सफल भएकी छन्। कौशल्याको श्रीमान् हनुमानले मतदाता परिचय पत्र बनाउनकै लागि श्रीमतीको नागरिकता बनाइदिएको बताएका छन्।

 मतदात परिचयपत्रले गर्दा नै जिल्ला प्रशासन कार्यालय तथा चन्द्रौटा र पिपरा इलाका प्रशासन कार्यालयमा पनि मधेसी÷मुस्लिमसहित अन्य समुदायको समेत नागरिकता बनाउने संख्या धेरै रहेको छ। एक साउनदेखि हालसम्म वंशजको आधारमा ८ सय ७०, र अंगीकृत ६८ गरी कुल ९ सय ३८ जनाले नागरिकताको प्रमाणपत्र बनाएको प्रशासनको नागरिकता फाँटले जनाएको छ। त्यसमध्ये महिलाहरुको संख्या बढी रहेको प्रशासनका कम्प्युटर अपरेटर रवि शर्माले बताए। 

 उता, जिल्ला निर्वाचन कार्यालयमा समते फोटो सहितको नामावली बनाउनेको संख्या समेत बढेको छ। एक साउनदेखि हालसम्म कुल ६ हजार ९ सय ६५ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालकाय अधिकृत ज्ञानहरी घिमिरेले बताए। जसमध्ये महिला २ हजार ९ सय ७८ रहेका छन्। जिल्लाको ७ स्थाानीय तहमा मंगलबारदेखि मतदाता नामावली संकलन भइरहेको छ।

स्थानीय निकायमा सञ्चालित फोटो सहितको नामावली संकलन कार्य सहज बनाउन कपिलवस्तुका ७ स्थानीय निकायमा घुम्ती नागरिकता शिविर सञ्चालन गरिएको निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ। कपिलवस्तु नगरपालिका, बाणगंगा र शिवराज नगरपालिका बाहेकका ७ निकायमा टोली खटिएका छन्। कपिलवस्तु नगरपालिकामा प्रशासन कार्यालय र बाणगंगा र शिवराज नगरपालिकामा इलाका प्रशासन भएकाले त्यहा शिविर सञ्चालन नगरिने प्रशासन कार्यालयले जनाएको छ।

लवनीस्थित शुद्धोदन गाउँपालिकामा साउन १९ र २०, मायादेवी र  विजयनगर गाउँपालिकामा साउन २२ र २३ चलाइनेछ। कृष्णनगर नगरपालिका यशोधरा गाउँपालिकामा २४ र २५ गते शिविर सञ्चालन हुनेछ। यस्तै महाराजगञ्ज नगरपालिकामा २६ र २७, बुद्धुभूमि नगरपालिकामा २९ र ३१ मा  शिविर हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.