|

बागलुङ : पश्चिम बागलुङमा छुट्टाछुट्टै ३ पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ। निसीखोला गाउँपालिकाको दुई ठाउँमा गएको पहिरोमा एकै परिवारका ४ सहित ५ जनाको मृत्यु भएको हो। ढोरपाटन नगरपालिकामा एकजनाको ज्यान गएको छ। निसीखोला गाउँपालिका-२ बाहुनगाउँमा घर पुरिँदा बेपत्ता भएका एकै घरका ४ जनाको शव फेला परेको घटनास्थलबाट प्रहरी नायक निरीक्षक नारायण शर्माले जानकारी दिए।

घटनामा ६८ वर्षीय मनिमान छन्त्याल, उनकी श्रीमती ६३ वर्षीय नन्दकली छन्त्याल, बुहारी २२ वर्षकी बिन्दु छन्त्याल र छोरी १८ वर्षीय गीता छन्त्यालको मृत्यु भएको हो। घटनामा एकैघरका ४ जनाको मृत्यु भएपछि आफन्त र सिंगो बाहुनगाउँ शोकमा डुबेको छ।

ढोरपाटन नगरपालिका–५ अधिकारीचौरका ओमबहादुर विकको आफ्नै घरपछाडिबाट खसेको पहिरोमा पुरिएर मृत्यु भएको हो। विक पहिरो झरिरहेका बेला सामान निकाल्न खोज्दा पुरिएका बागलुङ प्रहरीका प्रवक्ता प्रहरी नायक उपरीक्षक (डिएसपी) अनिल खड्काले जानकारी दिए। उनका श्रीमती र छोरीलाई उद्धार गरिएकोमा छोरा सामान्य घाइते भएको प्रहरीको भनाइ छ।

त्यस्तै, निसीखोला गाउँपालिका–१ हुल्दीमा पहिरोमा पुरिएर ७६ वर्षीय खगिसरा सिञ्जालीको ज्यान गएको छ। उनको पनि शव भेटिएको प्रहरी नायव निरीक्षक नारायण शर्माले जानकारी दिए। हुल्दीका १ सय ५० घर पहिरोको उच्च जोखिममा परेपछि त्यहाँका वासिन्दा सुरक्षित स्थानको खोजीमा जंगलतर्फ लागेका छन्। त्यहाँ अहिले पनि पहिरो झरिरहेको छ।

पहिरोमा ज्यान जानेहरुको शव संकलन गरेर पोष्टमार्टम गर्ने तयारी भएको उनले जानकारी दिए। पोष्टमार्टमका लागि घटनास्थलमै डाक्टर बोलाइएको छ। सडक पूरै अवरुद्ध भएकाले घटनास्थलबाट शव लैजान कठिनाइ भएपछि प्राथमिक स्वास्थ्यकेन्द्र बुर्तीबाङबाट डाक्टर बोलाइएको हो।

पहिरोले निसीखोलाका एक दर्जन बढी घर भत्किएका निसीखोला गाउँपालिका–१ का अध्यक्ष इन्द्र मल्लले जानकारी दिए। देविस्थान बजारमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रसमेत जोखिममा रहेको उनले बताए।

हुल्दी गाउँका १ सय ५० घर विस्थापित

माथिबाट पहिरो झरेर पूरै बस्ती नै जोखिममा परेपछि निसीखोला गाउँपालिका–१ हुल्दीका १ सय ५० घर विस्थापित भएका छन्। उनीहरु घर छाडेर जंगलतर्फ लागेका घटनास्थल पुगेका पत्रकार डम्मर बुढा मगरले जानकारी दिए। ‘पूरै गाउँ पहिरोको जोखिममा छ, म घटनास्थलमै छु’, पत्रकार बुढाले भने, ‘पहिरो अहिले पनि झरिरहेको छ।’

त्यहाँ साना ठूला गरी तीन दर्जन बढी पहिरो गएको उनको भनाइ छ। पहिरोमा बगेर दर्जनौं पशुचौपाय मरेका छन्। पूरै बस्तीमा पहिरोको त्रास बढेपछि स्थानीय अन्नपात, लत्ता कपडा र पशु चौपाय लिएर दह भन्ने लेकतिर लागेका छन्।  पहिरोले मध्यपहाडी लोकमार्गको बुर्तिबाङ रुकुम सडक खण्ड अवरुद्ध बनेको छ।

बिजुलीको कुलो बगेपछि हजार घरधुरी अँध्यारोमा

निसीखोला गाउँपालिका वडा नम्ब–४ को निसीखोला दोस्रो लघु जलविद्युत् आयोजनाको मुहान र कुलो पहिरोले बगाएको छ। १ सय २० किलोवाट क्षमताको विद्युत् आयोजना बन्द भएपछि १ हजार ६५ घर अँध्यारोमा बस्नुपर्ने भएको आयोजनाका व्यवस्थापक रामप्रसाद चालिसेले जानकारी दिए। यो योजनाबाट निसीखोला को वडा नम्बर–३ र ४ (साबिक बोहरागाउँ गाविस) का वासिन्दाले विजुली बाल्दै आएका थिए।

विद्युत् अवरुद्ध भएपछि स्थानीय एक दर्जनभन्दा बढी फर्निचर, ग्रिल उद्योग र घरेलु उद्यमसमेत सञ्चालन हुन सकेका छैनन्।गत वर्ष साउन १० मा पनि यस्तै विपत्ति आइलागेको थियो पश्चिम बागलुङमा गत वर्ष साउनको बाढीले पुर्‍याएको क्षति भुल्न नपाउँदै पश्चिम बागलुङसवासीले अर्को विपत्ति भोग्नुपरेको हो। जिल्ला सदरमुकामदेखि ९३ किलोमिटर पश्चिममा बुर्तीबाङ बजार पर्छ। बुर्तिबाङदेखि पनि अझै पश्चिममा पर्ने दुर्गम बस्तीहरुमा यो विपत्ति आइलागेको हो।

एक वर्ष पहिले साउन १० गते लगातारको वर्षासँगै भीषण बाढी पहिरो आउँदा ४ जनाको ज्यान गएको थियो। तीनवटा बस्ती पूरै बगेका थिए भने विद्युत् आयोजना पुल, सडकलगायत सयौं भौतिक संरचना ध्वस्त भएका थिए।

ती संरचनाको निर्माण अहिलेसम्म हुन सकेको छैन। साबिक अधिकारीचौर गाविसमा ३० घर भएको छलहाल्ना र १७ घर भएको दोगाडी पूरै पहिरोमा पुरिएका थिए। त्यस्तै, बोङगादोभानको बोङेगाखानीमा पनि पूरै बस्ती पहिरोले बगाएको थियो। यो वर्ष पनि बाढी पहिरो फेरि दोहोरिएपछि पश्चिम बागलुङवासी स्तब्ध बनेका छन्। पहिरोमा पुरिएर एकै घरका चारजनाको ज्यान गएपछि सिङ्गो बाहुन गाउँ शोकमा डुबेको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.