|

काठमाडौँ: त्रिमूर्ति निकेतनले आरडी प्रभास चटौत, भुवन थापा चन्द र तुलसी दिवसलाई लेखनाथ, सम र देवकोटा पुरस्कार समर्पण गर्ने निर्णय गरेको छ। यी पुरस्कारको राशि जनही पचास हजार रूपियाँ र ताम्रपत्र रहेको छ।

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि पाँच दशकअघिदेखि काव्यसाधनामा निरन्तर समर्पित रही नेपाली कविताको विकासमा विशिष्ट योगदान पुर्‍याएवापत तुलसी दिवसलाई ‘देवकोटा काव्य पुरस्कार’ समर्पण गर्ने निर्णय पनि निकेतनले गरेको छ।

नाटक र चलचित्रका क्षेत्रमा पूर्ण रूपमा समर्पित भई नेपालमा नाटक र चलचित्रको महिमा र गरिमालाई उत्कृष्टताको शिखरमा पुर्‍याउन उद्यत भुवन थापा चन्दलाई ‘बालकृष्ण सम पुरस्कार’ समर्पण गरिने भएको छ।

नेपाली भाषासाहित्यमा समर्पित भई शास्त्रीय छन्दको कविता रचनाका साथै सो माध्यमबाट छन्दकाव्य प्रचार अभियानमा समेत विशिष्ट योगदान पुर्‍याएवापत आरडी प्रभास चटौतलाई ‘लेखनाथ काव्य पुरस्कार’ समर्पण गरिने निकेतनद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि समर्पित रहँदै २०६५ र २०६६ सालमा सम्पन्न देवकोटा शताब्दी महोत्सव तथा अन्तर्राष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलन, २०७१ सालमा सम्पन्न विश्व नारी नेपाली साहित्य सम्मेलन र २०७१ देखि ०७४ सालसम्म सम्पन्न सत्यमोहन जोशी शताब्दी महोत्सवमा विशिष्ट योगदानका लागि भन्दै यादव भट्टराईलाई त्रिमूर्ति पुरस्कार र ललिता दोषीलाई त्रिमूर्ति पदक समर्पण गर्ने निर्णय भएको निकेतनको विज्ञप्तिमा उल्लेख छ। ताम्रपत्रसहित पुरस्कार र पदकको राशि पच्चीस/पच्चीस हजार रुपियाँ रहेको छ।

त्रिमूर्ति दिवसका अवसरमा आगामी भदौ ३ गते यी पुरस्कार राजधानी काठमाडौँमा समर्पण गरिनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.