प्रदेश
जिल्लाः
निर्वाचन क्षेत्र
पार्टी

विचार

नेवार सभ्यताको मौलिक संस्कृति ‘सगुन’
SHARES

साउन २१, २०७४

    कला संस्कृतिका धनी नेवार समुदाय वर्षभरि कुनै न कुनै चाडपर्व मनाउन व्यस्त रहन्छन्। उनीहरू चाडपर्व मात्र मनाउँदैनन्, चाडपर्वसँगै त्यसलाई मौलिक संस्कृतिको रूपमा विकास पनि गर्दै लैजान्छन्। 

    नेवार समुदाय घण्टाकर्ण चतुदर्शीका दिन राक्षसलाई पूजा गर्दछन्, जनै पूर्णिमामा भ्यागुताको पूजा गर्दछन्, तिहारमा आत्मशुद्धिका लागि आफ्नै शरीरको पूजा गरी म्हःपूजा मनाउँदछन्। 

    यस्तै विभिन्न मौलिक संस्कृतिमध्ये नेवार समुदायको अर्को महत्त्वपूर्ण मौलिक संस्कृति हो, ‘सगुन’ संस्कृति। 

    नेवारी सभ्यता र संस्कृतिमा जन्मदिन, शुभदिन, नयाँ कार्यको आरम्भ, लामो यात्रा, कार्य सफलता, शैक्षिक सफलता, विदेश भ्रमणलगायतका अवसरमा ‘सगुन’ दिने प्रचलन रहेको छ। नेवारी संस्कृतिमा आमा र बाबुको मुख हेर्ने औँशीमा विशेषगरी विवाहिता छोरीहरूले आमाबाबुलाई, विवाहमा दुलाहादुलहीलाई घरका मूली महिलाले, व्रतबन्धमा व्रतबन्ध गर्ने बालकलाई आफन्तहरूले, भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई सगुन दिने प्रचलन रहेको छ। 

    नेवार समुदायमा कुनै पनि शुभकार्यको थालनी गर्दा मात्र होइन, शुभकाम सम्पन्न भएपछि पनि सगुन दिने परम्परा रहेको छ। जस्तो कि कसैले नयाँ घर निर्माण सम्पन्न गरेको छ भने सो घरका सदस्यहरूलाई आफन्तले सगुन दिने गर्दछन्। 

    नेवारी संस्कृतिमा दुई प्रकारका सगुन दिने प्रचलन रहेको छ। पहिलो दही सगुन हो भने दोस्रो अण्डा। दही सगुन दिँदा सगुन दिनेले दुई हातले दहीको कतारा समाउनुपर्छ भने सगुन लिनेले पहिला आफूले तीन पटक ढोग्ने, त्यसपछि तीन पटक भगवानलाई चढाउने र अन्तमा आफूले दहीको टीका दायाँ कञ्चटमा लगाउनुपर्दछ। महिलाले भने बायाँ कञ्चटमा टीका लगाउने चलन छ। कसैकसैले दही सगुन दिँदा दिनेले नै लिनेको कञ्चटमा लगाइदिने चलन पनि छ। 

    सगुन दिने व्यक्तिले दायाँ हातले रक्सी र बायाँ हातले अण्डा, माछा, मासु, बारा लिएर हातलाई क्रस गरेर लिने व्यक्तिलाई दिन्छ र लिने व्यक्तिले लिँदा पनि दाहिने हातमा रक्सी र बायाँ हातमा अण्डा, माछा, मासु, बारा लिनुपर्दछ। 

    सगुनमा दहीलाई चन्द्रमाको प्रतीकको रूपमा लिइन्छ। पूर्वीय दर्शनशास्त्रमा चन्द्रमा दाहिने भए मात्र ठूलो कार्य सफलता प्राप्त हुन्छ भन्ने मान्यता रहेको छ। चन्द्रमालाई राम्रो कामको प्रतीकको रूपमा पनि लिइन्छ। तसर्थ हामी कुनै पनि शुभकार्य थालनी गर्दा चन्द्रमा दायाँपट्टि हुनुपर्दछ भन्ने मान्यता राख्छौँ। त्यसैले दही सगुन दिने र सगुन लिँदा दाहिने कञ्चटमा दहीको टीका लगाउने गरिन्छ। सगुनमा दही र रक्सीलाई अण्डाको साथीको रूपमा पनि लिने गरिन्छ। 

    त्यसैगरी, अण्डा सगुन दिँदा सगुन दिनेले एक हातमा रक्सी र अर्को हातमा अण्डा, माछा, मासु, बारा लिएर सगुन लिनेलाई दिने गर्दछ। सगुन दिने व्यक्तिले दायाँ हातले रक्सी र बायाँ हातले अण्डा, माछा, मासु, बारा लिएर हातलाई क्रस गरेर लिने व्यक्तिलाई दिन्छ र लिने व्यक्तिले लिँदा पनि दाहिने हातमा रक्सी र बायाँ हातमा अण्डा, माछा, मासु, बारा लिनुपर्दछ। 

    अचेल कसै कसैले मासुको स्थानमा अदुवा दिने पनि गरेको पाइन्छ भने हिजोआज सगुन दिँदा रक्सी, अण्डा, मासु वा माछा गरी तीन वस्तुको मात्र प्रयोग गरेको पनि पाइन्छ। तर सगुन दिँदा रक्सी, अण्डा, मासु वा माछा भने अनिवार्य जस्तै मानिन्छ। सगुन दिनुअघि सुकुन्दा बालेर गणेशको पूजा गर्नु अनिवार्य मानिन्छ। 

    अण्डाको आवरण तीन तहमा विभाजित भएको हुन्छ, जसलाई बोक्रालाई अण्डा, सेतो भागलाई बारा र पहेँलो भागलाई मासु, माछा र अदुवाको प्रतीकको रूपमा पनि लिन सकिने केही संस्कृतिकर्मीहरू बताउँछन्। अर्को अर्थमा अण्डालाई पत्रेदार, आग्नेय र अरिवर्तित चट्टानका रूपमा पनि लिन सकिन्छ। अण्डा जस्तै पृथ्वी पनि त्यस्तै छ, तसर्थ अण्डा सगुन दिनु भनेको पृथ्वीलाई हातमा दिएर आफ्नो मात्र नभई सारा पृथ्वीको शुभ होस् भनी दिने एउटा आशीर्वाद पनि हो। सगुन एउटै किसिमको हुन्छ। दिने तरिका फरक फरक होला तर दिनुको उद्देश्य एउटै रूपमा लिनुपर्ने संस्कृतिकर्मीहरू बताउँछन्। 

    प्रायः सबैजसो नेवारी संस्कारमा दुवै सगुन दिने प्रचलन छ। सगुन दिँदा पहिला दही सगुन दिने प्रचलन रहेको छ भने दही सगुनपछि अण्डा सगुन दिइन्छ। कुनैकुनै समुदायमा भने पहिला अण्डा सगुन लिएर पछि दही सगुन लिने प्रचलन पनि छ। 

    सुकुन्दा बाली गणेश साक्षी राखी घरको मूली महिलाले हरेक कामको सफलताको लागि दिइने पञ्चतत्त्व अर्पण गराउनु सगुन दिनु हो। सगुन लिँदा लिने व्यक्तिले सगुन लिइसकेपछि आफूभन्दा जेष्ठ सदस्यहरूको आशिष लिने गरिन्छ।

    नेवारी सभ्यतामा सगुन दिने प्रचलन कहिलेदेखि सुरु भयो भनी यकिनका साथ भन्न सक्ने अवस्था छैन तर आदिमकालदेखि नेवारी सभ्यतामा सगुन दिने प्रचलन विकास भएको संस्कृतिविद्हरू बताउँछन्। 

    सगुन नै नभए पनि अन्य समुदायका जातिले पनि कुनै पनि शुभकार्यमा वा नयाँ कार्यको थालनी गर्दा शुभकामना स्वरूप घरका मूली महिलाले दही र सक्खर वा चिनी खुवाउने चलन रहेको पाइन्छ।

    तन्त्रप्रधान नेवार धर्मअनुसार पञ्च ‘म’कारको संस्कार मध्य—रक्सी, मासं—मासु, मीन—माछा, मुद्रा—बारा र मैथुन—अण्डा पञ्चतत्त्वलाई सगुन भनिन्छ। यी पाँच तत्त्वलाई काम, क्रोध, लोभ, मोह र अहंकारका प्रतीकका रूपमा पनि लिइन्छ। मानव जीवनमा जसले यी पाँच तत्त्वलाई बसमा राख्छ, त्यसले  संसार जित्छ। अर्थात् जसले इन्द्रियलाई आफ्नो बसमा पार्छ, त्यसले संसार जित्छ भन्ने मूल सन्देश प्रवाह गर्ने संस्कृतिको रूपमा सगुन संस्कृतिलाई लिइने संस्कृतिकर्मीहरू बताउँछन्। 

    नेवार समुदायको सगुन संस्कृतिले यही सन्देश दिने इतिहास तथा संस्कृतिविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्। नेवार समुदायमा दिइने सगुन संस्कारलाई आफ्नो, परिवार, समाज, देशको मात्र नभएर सारा ब्रह्माण्डकै कल्याणको कामना गर्ने संस्कृतिको रूपमा लिइन्छ। यो संस्कारले इज्जत, मान, प्रतिष्ठा, वैभव आदि प्राप्त हुने हुँदा यसलाई लोककल्याणकारी संस्कारको रूपमा समेत लिइने प्रा.डा. श्रेष्ठ बताउँछन्। सगुन शुभकामहरूको सुरुवात र सम्पन्न भएको अवसरमा कुशलमंगलको लागि दिइन्छ।

    सगुनलाई शुभ, राम्रो र जीवनमा आइपरेका ठूलाठूला काम सम्पन्न हुँदा दिने एक आशीर्वादको रूपमा लिन सकिने अर्का संस्कृतिकर्मी ओम धौभडेल बताउँछन्। सगुन विशेषगरी भवितव्यबाट बाँच्न सफल भएको समयमा पनि दिने गरिन्छ।

    सगुनमा दिइने रक्सी, अण्डा, माछा, मासु, बारा, अदुवा पाँच तत्त्व हुन्, जसलाई हामीले पञ्चतत्त्वको रूपमा लिन सकिन्छ। यसमा अण्डा–आकाश, बारा–वायु, माछा–जल, अदुवा–अग्नि र मासु–पृथ्वीको रूपमा रहेका हुन्छन्। यी पाँच तत्त्वलाई सगुनको रूपमा दिनाले पृथ्वीमा पाउने सबै चिज अर्पण गरेर विशेष आशीर्वाद दिएको अर्थमा लिन सकिने धौभडेल बताउँछन्।

लक्ष्मी गारु

गारु भक्तपुरमा रहेर पत्रकारितामा क्रियाशील छन्। उनी थाहाखबरसँग आवद्ध छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]