|

कालिकोट  : कालिकोट अछाम र बाजुराको सिमानामा रहेको बडिमालिका दर्शनका लागि निस्किएका यात्रुहरुको घुइँचो लागेको छ। जनैपूर्णिमाको अघिल्लो दिन बडिमालिका लाग्ने पूजा मेलाका लागि दर्शनार्थीहरु त्यसतर्फ लागेका हुन्।

बाजुरा जिल्लाको कैलाशमाण्डु गाविसमा पर्ने बडिमालिका समुद्री सतहदेखि ४ हजार २ सय १६ मिटर उचाईमा छ। सात दिनको पैदल यात्रा गर्दै यहाँ पुग्न हजारौँ भक्तालुहरु यात्रामा निस्किएका छन्। झरी होस् कि जाडो तीर्थालुहरु मौसमको खासै परवाह नगरी दर्शनका लागि त्यसतर्फ लागेका हुन्। 

प्रत्येक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन लाग्ने बडिमालिका मेलालाई यो वर्ष भव्य र व्यवस्थित बनाइने भएको छ। साउन २२ गतेका दिन हुने बडिमालिका माईको पूजाको सम्पूर्ण तयारी पूरा हुने चरणमा पुगेको छ। 

सधैंको जसरी यस बर्ष पनि बाजुरा प्रशासन कार्यालयले सुरक्षा टोली बडिमालिका पठाइसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। पूुजाका लागि जुम्ला र डोटी जिल्ला प्रशासन कार्यालयबाट प्रसादसहित हप्ता दिन अघि त्यहाँका सरकारी टोली बडिमालिका प्रस्थान गरिसकेका छन्।

त्यहाँका सरकारी टोलीले देशमा कुनै अनिष्ट नहोस भनेर भेटी चढाउने छन्। बडिमालिका पुजामा लागि आउने दर्शनार्थी भक्तालुजनहरुको सुरक्षा टोली परिचालित गरिएको बाजुराका प्रमुख जिल्ला अधिकारी देबेन्द्र लामिछानेले बताए।

‘बीच बाटोमा बास बस्ने र दर्शन गर्न जाने दर्शनार्थीले आपत परेको अवस्थामा जुनसुकै बेला पनि प्रहरीलाई खबर गर्न सकिनेछ,’ उनले भने,‘निकै व्यवस्थित पार्ने तयारी गरेका छौं।’ 

बडीमालिका जाने तिर्थथालुका लागि पनि बाजुरा जिल्ला समन्वय समितिले ठाउँ ठाउँमा शौचालयको पनि व्यवस्था गरेको छ। बाजुरा जिल्लाबाहेक अरु जिल्लाबाट बडिमालिका माईको दर्शन गर्न दर्शालु भक्तजन पुग्ने क्रम जारी छ।

बडीमालिका माईको दर्शनका लागी देश-विदेशबाट पनि तिर्थालु पुग्ने गर्दछन। विशेष गरी बाजुरा ,बझाङ्ग, अछाम, डोटी, डडेल्धुरा, बैतडी, हुम्ला, जुम्ला र कालिकोटबाट तिथार्लु पुग्ने गर्दछन्।

काठमाडौं, भारतको गडवाल लगायतका ठाउँबाट पनि दर्शनार्थी आउने गरेको मेला समितिले जनाएको छ। जनैपूर्णिमा दिने गरिने पूजाका लागि १५ दिन अघिदेखि नै तयारी गर्ने चलन रहेको कालिकोट सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले बताए।

 

‘बडिमालिका नेपालकै स्वर्गको टुक्रा कै रुपमा रहेको छ,’ उनले भने,‘बडिमालिका माईको पूजा गर्दा र वर माग्दा चाहेको कुरा पूरा हुने जनविश्वास छ।’ बडिमालिका भगवतिको दर्शन गर्नु पूर्व त्रिवेणी धामको पवित्र जलमा स्नान गरी, पाप पखाल्ने र एक बास त्रिवेणी मै बसेर शुद्ध मन लिएर मात्र जाने चलन रहेको छ

बडिमालिकामाइको दर्शन गर्नाले मनले मागेको कुरा पुरा हुने र जीवनको हरेक पाइलामा साथ पाइने धार्मिक विश्वास  छ। जनैपूर्णिको अघिल्लो दिन अर्थात चतुर्दशीका दिन बडिमालिका लगायत जिल्लाका बढालेक, बुढीनन्दा, दुनालेक, शाहिमाण्डौ, भवानीमाण्डौ लगाएतका क्षेत्रमा रहेका भगवतीका मन्दिरमा एकै साथ पूजा गर्ने गरिन्छ। 

पौराणिककालमा दक्ष प्रजापतिको यज्ञमा होमिएर सत्यदेवीले देहत्याग गरेपछि  महादेवले उनकोे मृत शरीरलाई बोकेर पदयात्रा गर्दै जाँदा मल्लागिरी पर्वमा सत्यदेवीको बायाँ अंग झरेर पतन भएपछि मालिकादेवी उत्पत्ति भै बडिमालिका एक प्रमुख शक्तिपीठका रुपमा स्थापित भएको भन्ने किम्वदन्ती छ। 

बडिमालिकाको सुन्दरता
यो क्षेत्रको धार्मिक महत्वमात्र नभई  पर्यटकीय महत्व पनि उत्तिकै छ। १४० भन्दा बढी जातका फूल, १३० जातका जडीबुटी, ७० भन्दा बढी प्रकारका चरा, २२ वटा घाँसे मैदान, तीन वटा नदीको संगम रहेको पवित्र धाम त्रिवेणी र दर्जैनौ देशका जिल्लाहरुलाई नियाल्न सकिने अग्ला–अग्ला हिमश्रृंखलाहरु बडिमालिकाका मन लोभ्याउने विशेषता हुन्। 

धार्मिक, ऐतिहासिक र पर्यटकीय महत्वको गहना बडीमालिका क्षेत्रको विकासका लागि सरकारी पहल भने अझै भएको छैन। ३ वर्ष यस क्षेत्रलाई वन संरक्षित क्षेत्र घोषणा गरिएको थियो। तर अझै कार्यान्वयन भएको छैन।  

मनमोहक फाँट

त्यति अग्लो भूमिमा दर्जनौं समथर फाँटहरु, ढपक्कै धर्ती ढाकेर फूल्ने फूलहरुले कसको मन नलोभ्याउँछन् ? हरिया पाटनमाथि सेताम्मे भेडाका बथानहरु, डाँफे, मुनालजस्ता चरा, कस्तुरी, घोरल, मृग र झारल देख्न सकिन्छ।

मागेको वरदान पूरा हुन्छ भन्ने विश्वासले बडीमालिकाको धार्मिक महिमा ठूलो छ। हरियाली फाँट, त्यसमाथि फुलेका रंगीबिरंगी फूलहरू निकै मोहक र आकर्षक देखिन्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.