|

काठमाडौं :  आवश्यक गणपुरक सङ्ख्या (कोरम) नपुगेपछि व्यवस्थापिका संसद्को बैठक दुई दिनका लागि स्थगित भएको छ।  शुक्रबारको बैठकको प्रारम्भमा ४७७ सांसदको हाजिर भए पनि कोरम यकिन गर्दा ९७ जना सांसदमात्र फेला परेका थिए।

हाजिर गरेर ३८० सांसद बेपत्ता भएपछि सदनको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन।  सांसदहरूले सदनको बैठकमा एक दिन उपस्थित भएर हाजिर गरेबापत एक हजार रुपियाँ भत्ता पाउँछन्।

गणपुरक सङ्ख्या नपुग्दा संवैधानिक आयोग गठनसम्बन्धी तीन विधेयक पारित हुन सकेनन्।  सांसदहरू हाजिर गरेर फर्किएपछि महत्वपूर्ण विधेयक पारित भएनन्।  शुक्रबार मधेसी आयोग, मुस्लिम आयोग तथा थारू आयोग गठनसम्बन्धी विधेयक पारितको कार्यसूची थियो।  यस्तै अपाङ्गता भएको व्यक्तिको अधिकारसम्बन्धी विधेयक पनि पारितको कार्यसूची थियो।  तर, गणपुरक सङ्ख्या नपुगेपछि विधेयक पारित प्रक्रियामा सदन प्रवेश गर्न सकेन।

जातीय भेदभाव तथा छुवाछुत कसुर विधेयक संशोधन दर्ताका लागि अनुमोदनका क्रममा गणपुरक सङ्ख्याको प्रश्न उठाइएको थियो।  नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काफ्लेले गणपुरक सङ्ख्या यकिन गर्न माग गरेका थिए। काफ्लेको मागपछि सभामुख ओनसरी घर्तीले तीन मिनेट जनाउ घन्टी बजाएर गणपुरक सङ्ख्या यकिन गर्न सचिवालयका कर्मचारीलाई निर्देशन दिएकी थिइन्। जनाउ घन्टीपछि सङ्ख्या यकिन गर्दा ९७ मात्र सांसदको उपस्थिति रहेको हो।

संविधानको धारा ९४ को व्यवस्थाअनुसार कुनै पनि प्रस्ताव निर्णयार्थ पेस गर्न कम्तीमा एक चौथाइ सदस्यको उपस्थिति अनिवार्य हुन्छ।  हाल संसद्मा ५०२ सांसद छन्।  सङ्ख्याअनुसार कोरमका लागि १४८ सदस्य आवश्यक पर्छ।

संसद्मा विभिन्न चरणमा अहिले पनि ४५ भन्दा बढी विधेयक विचाराधीन छन्।  निर्वाचन विधेयकहरू सम्बन्धित समितिमा विचाराधीन छन्।  बुधबार संविधानअनुसार गठन हुनुपर्ने तीन नयाँ आयोग गठनसहित चार विधेयक पारितको कार्यसूची थियो।  मधेसी, मुस्लिम र थारू आयोग गठन विधेयकसँगै अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक अनुमोदनको कार्यसूची थियो।  यस्तै, भूपरिवेष्ठित राष्ट्रको प्रबुद्ध समूह गठनसम्बन्धी सम्झौता पेस गर्ने पनि कार्यसूचीमा थियो।

संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले महत्वपूर्ण विधेयक अनुमोदनको चरणमा गणपुरक सङ्ख्या नै नपुग्नु गलत अभ्यास भएको बताए। गौतमले भने, ‘धेरै रणनीतिक र महत्वपूर्ण विधेयक संसद्मा छन्।  आजमात्रै चार विधेयक पारितको कार्यसूचीमा थिए।  कतिपय विधेयक तोकिएको समयमा सक्नुपर्ने अवस्थाका छन्।  विधेयक पारितका क्रममा समेत कोरम नपुग्नु दुखद् हो।’ गणपुरक सङ्ख्या नपुगेपछि संसद् बैठक आइतबार १ बजेसम्मका लागि स्थगित गरिएको छ।  महत्वपूर्ण विधेयक पारितको कार्यसूची रहेको शुक्रबारको बैठकमा सुरुमा ४७७ सांसदको उपस्थिति हाजिर थियो।  तर, सदनमा गणपुरक सङ्ख्या यकिनका क्रममा ९७ जनामात्र सांसद उपस्थित थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.