बीजेपीका कार्यकर्ताले आक्रमण गरेको कांग्रेसको आरोप

|

भारतको प्रमुख विपक्षी दल कांग्रेसका उपाध्यक्ष राहुल गान्धीमाथि एक समूहले पश्चिमी गुजरात राज्यमा शुक्रबार आक्रमण गरेको छ।

नेहरु गान्धीका वंशज राहुललाई वनास्कान्थ जिल्लामा आक्रमण भएको प्रहरी अधिकारीहरुले बताएका छन्। उनलाई केही सुरक्षाकर्मीले कडा सुरक्षा व्यवस्था गरी घाइते हुनबाट जोगाएको एक प्रहरी अधिकारीले बताए।

आक्रमणकारीहरुले गान्धी चढेको गाडीमा ढुङ्गा प्रहार गरेको र गाडीको झ्यालको सिसा फुटेको छ। कांग्रेस अध्यक्ष सोनीया गान्धीका छोरा राहुल प्रधानमन्त्री नरेन्द्र मोदीको गृह जिल्लामा बाढी पहिरो प्रभावित क्षेत्रको भ्रमणमा थिए।

“धनेरा क्षेत्रका बाढी पीडितहरुलाई भेटेर हेलिप्याड तर्फ जाँदै गर्दा उहाँको गाडीमा आक्रमण भएको हो, आक्रमणकारीले हानेको ढुङ्गा गाडी भित्र पसेको छ,” जिल्ला प्रहरी प्रमुख निराज बाड्गुजारले सञ्चारकर्मीलाई बताए।

कांग्रेसले आफ्नो उपाध्यक्षमाथि भएको आक्रमणमा सत्तारुढ दल भारतीय जनता पार्टी (बीजेपीका) का कार्यकर्ता सम्लग्न भएको आरोप लगाएको छ। “बीजेपीका उग्र व्यक्तिहरुले कांग्रेस उपाध्यक्ष राहुलजीको कारमा धनेराको लालचोकमा आक्रमण गरेका छन्। गुजरात राज्यको बनास्कान्थ जिल्लामा भएको घटना घृणित र निन्दनीय छ,” कांग्रेसका प्रवक्ता रणदिप सुर्जेवालाले भने। उनले थपे, “विध्वंसकारीहरुको योजनाबद्ध आक्रमणबाट उपाध्यक्ष गान्धी चढेको गाडीको झ्यालको सिसा फुटेको छ। केही सुरक्षाकर्मीहरु घाइते भएका छन्। बीजेपीले सत्यतथ्य पत्तालगाई यसबारे निर्णय लिने छ।” 

तर बीजेपी यस घटनामा मौन बसे ठूलो मूल्य चुकाउनु पर्ने कांग्रेसले चेतावनी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.