|

दमक : लामो समयदेखि शरणार्थी समस्या समाधानको माग गर्दै आएका भुटानी शरणार्थीहरुले आन्दोलन चर्काउने संकेत गरेका छन्। झापाको दमक र मोरङको पथरी शनिश्चरेमा बसोवास गर्ने शरणार्थीहरुले समस्या समाधानको माग गर्दे पटक–पटक सम्बन्धित निकायमा पहल गर्दासमेत बेवास्ता गरेको भन्दै आन्दोलन चर्काउने संकेत गरेका हुन्। शनिबार दमकमा पत्रकार सम्मेलन गर्दै क्याम्प व्यवस्थापन समिति बेल्डाँगी र दमकले आन्दोलन चर्काउने बताएका हुन्।

बेल्डाँगी शिविर दमकका क्याम्प व्यवस्थापन सचिव टिकाराम रसाईलीले पटक पटक शान्तिपूर्ण अपिल गर्दा समेत सबन्धित निकायले चासो नदेखाएको भन्दै दुखेसो गरे। उनले भने,‘ हामीले धेरै पटक शरणार्थी समस्याको माग गर्दै शान्तिपूर्ण आन्दोलन गरेका छौँ, नेपाल सरकारलाई भुटान सरकारसंग पहल गर्न आग्रह गरेका छौँ तर समस्या सामाधानमा कसैले चासो देखाएनन्।’ 
उनले भुटानी शरणार्थी समस्या समाधानमा पहल गरिदिन सबै पक्षसँग आग्रह गरे। शरणार्थीहरुले मुख्य ५ वटा मागहरु अघि सारेको उनले बताए। उनका आनुसार स्वदेश फिर्ती, स्थानीयकरण, तेश्रो मुलुक पूर्नवास हुन चहानेलाई सहज रुपमा पूर्नवास गराईनु पर्ने,  सरकारले यी मुद्दालाई सम्बोधन गर्न नसक्ने अवस्थामा भुटानी शरणार्थीहरुलाई अन्तराष्ट्रियकरण गर्नुपर्ने र दर्ताविहीन शरणार्थीलाई दर्ता प्रक्रियामा लैजानु पर्ने माग रहेको छ।
रसाईलीले यी मागलाई पटक पटक नेपाल सरकार र शरणार्थी सम्बन्धि संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय(युएनएचसीआर)ले समेत बेवस्था गरेकाले अब आफूहरु कडा कदम चाल्न बाध्य हुने बताए। उनले भने‘ अब हामी कडा आन्दोलन गर्न तयार छौँ, अब हामी रिले देखि आमरण अनशन सम्म बस्ने र थप आन्दोलनका कार्यक्रमका साथ अघि बढ्ने तयारीमा छौँ।’
यस्तै कार्यक्रममा बोल्दै क्याम्पका पूर्वसचिव यूवराज राईले आफूहरुले भरखरै मात्र सरकारी निकायका प्रमुख तथा राजनीतिक दलका प्रतिनिधिहरुलाई भेटेर आफूहरुको मागको बारेमा ध्यानकर्षण गराएको बताए। उनले भने,‘ हामीले ज्ञापनपत्र बुझाईन्जेल सम्म हुन्छ, गर्छौँ, यसलाई अन्तराष्ट्यि मुद्दा बनाउँछौँ भन्नुहुन्छ पछि विर्सनु हुन्छ।’
शरणार्थी क्याम्प शनिश्चरेका सचिव चम्पासिंह राईले आफूहरु अब जस्तोसुकै आन्दोलन गर्न तयार भएको बताए। यसअघि भएका आन्दोलनको नेतृत्व कमजोर भएका कारण समस्या समाधान भएको बताए। उनले भने,‘ हामी अब जस्तो सुकै आन्दोलन गर्न तयार छौँ, यसअघि भएका आन्दोलनले नेतृत्व कमजोर भएका कारण निरन्तरता पाएन र निष्कर्षमा पुगेन अब हामी निरन्तर माग पूरा नभए सम्म आन्दोलन गछौँ’। एक लाख भन्दा बढी पुर्नवासमा गएको र यहाँ रहेका १२ हजार हाराहारीको संख्यामा रहेको शरणार्थीको समाधान गर्न उनले आग्रह गरे।
जनप्रतिनिधि भन्छन्, ‘तपाईहरु आन्दोलन गर्नुहोस् हामी साथ दिन्छौँ’
पत्रकार सम्मेलनमा झापाको दमक, छिमेकी इलामको चुलाचुली र मोरङको बेलबारीका जनप्रतिनिधिहरु सहभागी थिए। कार्यक्रममा उनीहरुले शरणार्थीको आन्दोलनमा सहयोग गर्नेप्रतिबद्धता जनाए। कार्यक्रममा बोल्दे शरणार्थी बसेको दमक ३ का वडाअध्यक्ष नवीन बरालले शरणार्थीहरुको पीडा  २६ वर्ष देखि देख्दै आएको बताए। उनले भने,‘ म तपाईहरु बसेका वडाकोवासी हुँ, तपाईहरुको समस्या दर्दानक छ’।

उनले शरणार्थीहरुलाई आन्दोलन चर्काउन आग्रह गरे। उनले भने,‘आन्दोलन नगरि तपाईहरुको कुरा कसैले सुन्दैनन्, तपाईहरु आन्दोलन चर्काउनुहोस्, हामी छिमेकीका नाताले सहयोग गर्छौं’। उनले शरणार्थीहरु यतिबेला परिवारिक विछोडका कारण छटपटाई रहेको बताए। उनले भने,‘ तपाईहरुले आन्दोलन गर्न सक्नु भएन, त्यसको परिणाम अहिले भाग्दै हुनुहुन्छ, यूएनएचसिआरले तेश्रो मुलुक पुनर्वास गर्ने भएर परिवारिक विछोड निम्ताएको छ’।
कार्यक्रममा चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले चुलाचुलीवासीको भावनात्क सम्बन्ध शरणार्थीहरुसँग भएको बताए। उनले शरणार्थी समस्यन सामाधानमा जस्तो सुकै सहयोग गर्न तयार भएको बताए। उनले भने,‘ तपाईहरुको पहिलाको आन्दोलन पैसाका कारण दबियो, पैसामा नेतृत्व बिके, उनीहरुले यसलाई पैसा कामउँने भाडो बनाए, अब यस्तो गर्न हुन्न’।
यस्तै पत्रकार सम्मेलनमा बोल्दै बेलबारी नगरपालिकाकी उपप्रमुख तारा बराजुलीले शरणार्थीको समस्यासंग आफू परिचित भएकाले समस्या समाधानमा सबैसंग सहकार्य गर्ने बताइन्। यस्तै दमक वडा नम्बर ६ का वडाअध्यक्ष टेक बहादुर थापा र २ का अध्यक्ष प्रजापति सपकोटाले आफूहरुलाई यो समस्या समाधान गर्ने अधिकार नभएको बताए। उनीहरुले यो समस्या नगरपालिकाको बैठकमा राख्ने बताए।
नगरप्रमुख ओलीप्रति आक्रोशित
शरणार्थीहरुले दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीलाई पटकपटक कार्यक्रममा आउन खबर गर्दासमेत नआएको भन्दै आक्रोश व्यक्त गरे। क्याम्प सचिव रसाईलीले आफूहरुले धेरै वटा कार्यक्रममा ओलीलाई बोलाएको तर उपस्थित नभएको आरोप लगाए।

उनले भने,‘ हामीले पटक पटक प्रमुख रोमनाथ ओलीलाई बोलाएका हौँ, हामी उहाँकै नगरमा बसेकाले समस्या समाधानमा सहयोग गर्नु पर्छ’। उनले ओलीले शरणार्थी समस्यामा चासो नदेखाएको भन्दै दुखेसो गरे। उनले भने,‘ उहाँको कार्यब्यस्तता होला तर हामीले यहाँ प्रमुख भएपछि दुई पटक बोलायौँ आउनुभएन, एकछिन आएर बोलिदिएको भए पनि हाम्रो चित्त बुझ्ने थियो।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.