|

चितवन : मतपत्र च्यातिएर चर्चाको शिखरमा पुगेको भरतपुर महानगरपालिकाले पुनः मतदानसँगै देशकै ध्यान तानिरहेको छ। सर्वोच्चको पुनः मतदानको आदेशपछि भरतपुर १९ मा शुक्रबार भएको निर्वाचनको मत परिणामसमेत सार्वजनिक भइसकेको छ। माओवादी–कांग्रेसको भरतपुर महानगर प्रमुखका उम्मेदवार रेणु दाहालको ४१ हजार ७ सय २५ मत र एमालेका प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीको ४१ हजार ९ सय ४६ मत आएको छ। यसको मतान्तर अहिले २ सय २१ हो।

७ सय ८४ मतान्तरबाट यो एउटै वडामा रेणुले ५ सय ६३ मत बढी ल्याएर मतान्तर घटाएकी हुन्। विशेष परिस्थितिका कारण यति धेरै मत रेणुले पाएकी हन्। यो वडामा मात्रै देवीको ९ सय ६६ र रेणुको १५ सय २९ मत आयो। यो वडामा रेणुलाई नेपाली कांग्रेसको झन्डै शतप्रतिशत मत खसेको छ। अहिले भरतपुर वडा नम्बर २० को गणना जारी छ। ३ हजार ३ सय २ मत खसेको वडा नम्बर २० को भीमनगर बुथ कांग्रेसको धेरै पकड क्षेत्र हो। दध्रेनी र चन्द्रनगरमा एमाले बलियो छ। सिमटाँडी, चनौली, शंकरचोकमा कांग्रेसको प्रभाव छ। भीमनगरमा पुराना कांग्रेसी नेता छन्।

पश्चिम क्षेत्रमा आफ्नै कमजोर उपस्थिति रहेको माओवादी केन्द्रको वडा नम्बर १९ भन्दा २० वडा अलि राम्रो प्रभाव भएकाले पनि मत थपिने आशा छ।  एउटा भूल्नै नहुने कुरा भने अब एमालेले कथमकदाचित ५० देखि सय मत थप्न पायो भने जित बलियो बन्ने छ।

२९ वटा वडा रहेको भरतपुरमा २७ वडा गणना सकिएर २८ औं वडाको पालामा भरतपुर १९को गणना हुँदै गर्दा मतपत्र च्यातिएको हो। वडा नम्बर २० मा नेपाली कांग्रेसको मत ६० प्रतिशत छ। बाँकी मतमा एमालेको २५ प्रतिशत छ भने १५ प्रतिशत  माओवादी केन्द्र सहितका दलको छ। अब सरसरती मूल्यांकन गर्दा यो वडामा ७० प्रतिशतमाथि कांग्रेसको मत रेणुलाई आउनुपर्ने देखिन्छ।

स्थानीय कांग्रेस नेता लक्ष्मीकान्त दवाडी वडा नम्बर २० मा साँढे २ सय भन्दा माथिको अन्तरगत रेणुको मत होला भन्ने मूल्यांकन भएको बताउँछन्। ५० देखि सय मतले रेणुले जित्ने अनुमान उनको छ। उनले दुई अंककै हारजीत हुने दाबी गर्छन्।

भरतपुर २० मा ३ सय मत बदर हुने अनुमान गर्दा ३ हजारको मत बाँकी हुन्छ। १ हजार मत एमालेको छ। १५ सय मत नेपाली का‌ंग्रेसको हुने अनुमान छ।  ५ सय मत माओवादी तथा अन्यदलको रहेको आँकलन छ। मत विष्लेषण गर्दा रेणुले भरतपुर २० मा ७५ प्रतिशत बढी मत आउनुपर्ने देखिएको छ। तर, यो मत ल्याउन उनका लागि ठूलै चुनौती छ।

भरतपुर वडा नम्बर २० मा नयाँ मतदान होइन। पहिले नै गरिएको मतदानको अहिले बाक्सा खोलिएको हो। त्यसकारण अहिलेको भरतपुर १९ को जस्तो मत रेणुका लागि आउँदैन।  भरतपुरमा वडा गणना सकिँदा रेणुले अहिलेसम्म अग्रता लिएकी छैनन्। उनले जब अग्रता लिन्छिन् उनको जित नै त्यही हुने देखिन्छ।

विगतको मतको हिसाब गर्ने हो भने उनको पक्षमा ३० देखि ७५ प्रतिशतसम्म मत खसेको देखिन्छ। औसतमा ५०,६० प्रतिशत कांग्रेसको मत रेणुलाई गएको छ। बाँकी मत देवीलाई गएको छ भने केही बदर भएका छन्। भरतपुर २० मा कांग्रेसको मत राम्रै गएको छ। एमाले र माओवादी केन्द्र जसले जितेपछि कांग्रेसकै भोट खाएर जित्नेमा दुई मत छैन। एमालेको समग्र मूल्या‌ंकनमा भरतपुर १९ भन्दा देवी ज्ञवालीको ३०० मत बाँकी रहन्छ भन्ने थियो।

तर, उनीहरुको अनुमान भन्दा ७९ मत तल झर्‍यो । अनुमानमा एमालेको पक्का देखिन्छ भने माओवादी केन्द्रको अनुमान त्यति म्याच खाएको देखिँदैन। भरतपुर १९ मा माओवादीको यो ऋण तिर्ने अनुमान थियो।

भरतपुर वडा नम्बर १९ को पहिलेको मत अनुसार भरतपुर २० को मत आउने हो भने रेणुको जित असम्‍भव छ। तर, भरतपुर २१ को जस्तो आएमा भने आशा गर्ने ठाउँ छ।  यसैले जित्नेमा दुवै उम्मेदवारको आशा जिवितै छ।  भरतपुरको बजार क्षेत्रमा कांग्रेसले रेणुलाई फिटिक्कै मत दिएका छैनन्। वडा नम्बर २० भने गाउँ क्षेत्रमा पर्ने भएकाले रेणुलाई मत आउने आशा कांग्रेस माओवादीको छ।

नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य नारायण दाहाल भरतपुर २० मा २५० देखि ३०० मतले लिड गर्ने दाबी गर्छ। हुन त यसअघि माओवादी केन्द्रले अहिलेको ७८४ मत तिरेर ३ अंकको मत ल्याउने दाबी गरेको थियो। तर, उसको आँकलन मिलेको देखिएको छ। एमालेले भरतपुर १९ मा रेणु दाहालले राम्रै मत लयाउने एमालेको आँकलन मिलेको छ। एमाले युवा नेता प्रकाश ढुंगानाको यो आँकलन अहिले मिल्न पुगेको छ। भरतपुर १९ को मतगणना सकिँदा रेणुले ५६३ मतले लिड गरिन्।

अघिल्लो १९ को मत पूर्ण गनिएको भए उनको लिड करिब १०० हुने थियो। अब भरतपुर २० पुरानै मत भएकाले रेणुका लागि सकस पक्कै छ। तर, सम्भावना पनि उत्तिकै छ।  अहिले कसैले पनि यसले नै जित्छ नेर ठोकुवा गर्न सकेका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.