|

काठमाडौं : रौतहटको गरुडा नगरपालिका वडा नम्बर ४ मा सडकको खाल्डोमा जमेको पानीमा डुबेर ४ बालिकाको ज्यान गएको छ। इलाका प्रहरी कार्यालय गरुडाले दिएको जानकारी अनुसार घटना शनिबार दिउसो ३ बजेको हो।

ज्यान गुमाउनेमा गरुडा वडा नम्बर ४ का रामएकबाल साहका छोरीहरू वर्ष १२ की संगीता साह र वर्ष ९ की सुनिता साह छन्। यस्तै जोगिन्द्र साहकी छोरी वर्ष ९ की सुनैना साह र प्रेम साहकी छोरी वर्ष ९ की सुमित्रा साहको पनि खाल्डोमा डुबेर ज्यान गएको छ।  

घटनास्थल इलाका प्रहरी कार्यालय गरुडादेखि करीब ५ सय मिटर पूर्वोत्तर पर्छ। गरुडा बजारदेखि पानीट्यांकी जाने सडक विस्तारका क्रममा माटो निकाल्दा खनेको खाल्डोमा उनीहरू डुबेको प्रहरीले जनाएको छ।

सडक बिस्तारका क्रममा माटो हाल्नका लागि सडक किनारमा डोजरले खनिएका खाल्डामा जमेको पानीमा डुबेर उनीहरूको निधन भएको पुष्टि गर्दै प्रहरीले विस्तृत अनुसन्धान भइरहेको जनाएको छ। खाल्डोमा जमेको पानीमा पौडी खेल्ने क्रममा घटना भएको प्रहरीको अनुमान छ।    

मृतकहरूको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको छ। प्रहरीका अनुसार पहिलेको सानो सडकलाई दुई महिना अघि फराकिलो र अग्लो बनाइएको थियो। त्यसका अन्यत्रबाट नभई सडक छेउकै दुईतर्फका खेतको माटो खनेर हालिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.