'एमालेले बुझिदिए स्वास्थ्य शिक्षा ऐन पारित हुन्छ'

|

काठमाडौं : पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले स्वास्थ्य क्षेत्र लगायत देशमा भइरहेका विकृति र विसंगति विरुद्धको अभियानमा लाग्न जनतालाई आग्रह गरेकी छन्। चिकित्सा शिक्षा क्षेत्र सुधारका माग राख्दै १३ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीको समर्थमा शनिबार काठमाडौंमा भएको प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै पूर्व प्रधानन्यायाधीश कार्कीले उक्त आग्रह गरेकी हुन्।

नेपालको मेडिकल क्षेत्रमा मनोमानी भएकोमा कार्की आक्रोशित थिइन्। उनले भनिन्, 'नेपालमा च्याउ जस्तै मेडिकल इन्स्टिच्युटहरू खडा भए। जसलाई जे मन लाग्यो त्यही गर्ने काम भयो।' केसीले विकृतिको विरुद्धमा आफ्नो स्वास्थ्यको मोह नराखेर देश र जनताको स्वास्थ्यका लागि अनशन गरेको उनले बताइन्।

'म पूर्व प्रधानन्यायाधीशका रुपमा के भन्‍न चाहन्छु भने सबैले यसमा सहभागी हुनुपर्छ। आम जनताहरू विकृति विरुद्ध यो अभियानमा लाग्‍नुपर्छ। यो विकृतिको विपक्षमा लागुन्', उनले भनिन्। यस्तै लडाईँ देशका सबै क्षेत्रका विकृति विरुद्ध गरिनुपर्ने उनको भनाइ थियो। 

कार्कीले डा. केसीका मागबारे सरकारले सम्बोधन गर्ने आशा व्यक्त गरिन्। उनले भनिन्, 'राजनीतिक क्षेत्रमा र सरकारी क्षेत्रमा जो जो आसिन हुनुहुन्छ, उहाँहरूले यसलाई विचार गर्नुपर्दछ। नभए यो दुर्घटनाको रुपमा गयो, यस्तो भयो भने यो नेपालमा कलंकको रुपमा रहन जान्छ।'

डा. गोविन्द केसीको तर्फबाट वार्ता टोलीका सदस्य एवं 'सोलिडारिटी फर डा. केसी अलायन्स' का अध्यक्ष डा. जीवन क्षेत्रीले राजनीतिक दलका शीर्ष नेताहरूले आफ्ना मागहरूको अवमूल्यन गरेको आरोप लगाए। उनले भने, 'एमाले अध्यक्ष ओलीले म पनि अनशन बस्छु मलाई प्रधानमन्त्री दिनुस् भन्‍नुभएछ। हामी जनताले उठाएका माग अवमूल्यन नगरीदिन उहाँलाई आग्रह गर्दछौं।'

शुक्रबार डा. केसीका मागबारे प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा ओलीले प्रधानमन्त्रीलाई 'आफू पनि प्रधानमन्त्रीका लागि अनसन बसे माग पूरा गराउन सक्नुहुन्छ ?' भनेको समाचार बाहिर आएका थिए।

डा. क्षेत्रीले एमाले सकरात्मक भए डा. केसीले उठाएका मागहरू पूरा हुने विश्वास रहेको बताए। 'एमालेले कुरा बुझिदियो भने स्वास्थ्य शिक्षा ऐन पारित गर्न असम्भव छैन,' उनले भने। एमाले नेता एवं सांसदहरू राजेन्द्र पाण्डे र वंशीधर मिश्रले ऐनमा अनावश्यक संशोधन हालेर माफियाहरूलाई पनि जितेको उनको भनाइ थियो। 'राजेन्द्र पाण्डे र वंशीधर मिश्रजी तपाईँहरू हुँदाहुँदै हामीहरूले माफियाहरूलाई किन गाली गर्नु?' डा. क्षेत्रीले विभिन्न शक्ति केन्द्रका चासोहरूका कारण डा. केसीका माग पूरा हुन गाह्रो परिरहेको बताए।

विवेकशील साझा पार्टीकी नेतृ रञ्जु दर्शना न्यौपानेले डा. केसीका मागप्रति राजनीतिक दलका नेताहरू गम्भीर नभएको आरोप लगाइन्। 'राजनीतिक दलका शीर्ष नेताका गम्भीरता पत्रिकाका शीर्षकमा मात्र देखिन्छ, व्यवहारमा देखिएन,' रञ्जुले प्रश्न गरिन्, 'व्यवहारमा गम्भीरता के गरेपछि देखिने हो?' प्रदर्शनपछिको सभालाई सम्बोधन गर्दै मानवअधिकारकर्मी कृष्ण पहाडीले माफियाहरूको बिगबिगीले गर्दा सरकारले डा. केसीलाई पटकपटक धोका दिएको बताए। 'पटकपटक केसीसँग सरकारले छलकपट गरेको छ, सहमति गरेर छलकपट गरेको छ', उनले भने, 'शेरबहादुर, प्रचण्ड र ओलीले सोचेनन् भने हामी सामुहिक सत्याग्रहमा उत्रिनुपर्छ।'

चिकित्सा शिक्षामा सुधारको माग गर्दै डा. गोविन्द केसीको ११ औं आमरण अनशन १३ दिनदेखि चलिरहेको छ। जसको समर्थनमा शनिबार माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन भएको हो। जसमा विवेकशील साझा पार्टी, नयाँ शक्ति पार्टी नेपाल, क्रान्तिकारी माओवादी, नेकपा एमाले लगायतका दल र संगठन र संघसंस्थाहरुको समर्थन एवं सहभागिता रहेको थियो।

प्रदर्शनमा सहभागीले नाट्य प्रदर्शन गर्दै सांसदहरू माफियाको चंगुलमा रहेको देखाएका थिए। उनीहरुले घण्ट बजाउँदै र धुपबत्ती गर्दै सांसदमा लागेको माफियाको भूत भगाउन झाँक्री प्रयोग गरेको देखाएका थिए।

केसीका समर्थक र चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा अध्ययनरत विद्यार्थीहरूले डा. केसीले उठाएका माग पूरा गराउन सरकार र संसदलाई नारामार्फत आग्रह गरेका थिए। 'माफियाहरू देश घेर्दै, ६०१ के हेर्दै?', 'भ्रष्टाचारको अन्त्य गरौं, सदाचारको सुरुवात गरौं', 'सर्वसाधारण जनताका छोराछोरीले मेडिकल शिक्षामा पहुँच पाउनुपर्छ', 'भोकै बस्ने कसैलाई रहर छैन, सम्झौता गरेर ठग्न पाइँदैन', 'हाम्रो स्वास्थ्य हाम्रै हातमा, हामी सबै डा. केसीको साथमा' लगायतका नारा लगाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.