सडक डिभिजन कार्यालय लाहानको बेवास्ताले पुल भासिएको स्थानीयको दाबी

|

उदयपुर : सडक डिभिजन कार्यालय लाहानको लापरबाहीको कारण पक्की पुल भासिएको छ। केही दिनदेखिको लगातार परेको वर्षातका कारण कदमाहा– गाईघाट सडक खण्डअन्तर्गत त्रियुगा नगरपालिका–६ जलजलेको खोलामा रहेको पुल भासिएको हो।

तीन वर्षयता निरन्तर जलजले खोलाले पुलको पिलर कटान गर्न थालेपछि स्थानीयले सडक डिभिजन कार्यालयलाई गुनासो गरेका थिए। ‘निरन्तर जलजले खोलाले पुल कटान गर्न थालेपछि सडक डिभिजन कार्यालय लाहानलाई खबर गर्‍यौं,’ स्थानीय सावित्री कार्कीले भने, ‘तर, कार्यालयले बेवास्ता गर्दा पुल भासिएर यातयात अवरुद्ध जस्तै भएको छ।’

तीन वर्ष अघिबाट पुलबाट आवतजावतसमेत जोखिमपूर्ण हुँदै आएको थियो। सडक डिभिजन कार्यालय लहानको लापरबाहीले जलजलेको पुलको छेउमा कटान गरेपछि पिलर करिब एकफिट भासिएको अर्का स्थानीय रमाकान्त चौधरीले बताए। ‘वैशाख, जेष्ठमै पानी पर्दा खोलाको बहाव पूर्व दिशामा केन्द्रित भई कटान भइहेको जानकारी सडक डिभिजन कार्यालय लहानलाई गरायौं,’ उनले भने, ‘कुनै सुनुवाइ नगर्दा अहिले पुल भासिएर पुलको पूर्वपट्टिको बिमसमेत दुई पिट चर्केको छ।’

उनका अनुसार खोलामा आएको बाढीले बाँधको स्पर भत्काएको छ। बाढीको मूल धार बाँधको पिँधमा ठोकिन थालेपछि बाँध भत्किनुको साथै आधा सडकको माटोसमेत बगेको छ। बाढीको बहाव पूर्व दिशामा लागेपछि सतह गहिरिँदै गएपछि नदीको मूलधार बाँधमा सोझिएर ठोकिने गरेपछि भत्किएको हो।

पुल भासिएपछि ठूला तथा साना सवारीसाधनलाई आवत जावतमा कठिनाइ भएको छ। अहिले पुलको दक्षिणतर्फ उदयपुर सिमेन्ट उद्योगको बाटो प्रयोग हुँदै सवारीसाधन आवतजावत गरिरहेका छन्। पुल भासिँदा सबैभन्दा बढी एम्बुलेन्स तथा साना सवारीसाधनलाई समस्या भएको टेम्पो व्यवसायी बालकृष्ण सापकोटाले बताए। ‘खोलामा बाढी आएको बेला एम्बुलेन्स आवतजावत गर्ने अवस्था छैन,’ उनले भने, ‘पुल भासिएर यातयात अवरुद्ध भएपछि सडक डिभिजन कार्यालयले मर्मत गर्न थालेको छ, कहिले बन्ने कुनै ठेगान छैन।’

सडक डिभिजन कार्यालयका लाहानबाट कदमाहा– गाईघाट सडक खण्डका साइड सव इन्जिनियर देवेन्द्र यादवले दुई दिनभित्र पुल मर्मत सम्पन्न गरेर यातयात सञ्चालन गर्ने गरी काम थालिएको बताए। ‘नदीले कटान गर्दा पनि मर्मत गर्दा गर्दै ठूलो बाढी आएको कारण अचानक पुलको पिल्लर भाँसियो,’ उनले भने, ‘पुलको दुईतिर भाँसिएकाले जाली भर्ने काम भइरहेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.