|

डोटी : बोगटान गाउँपालिका वडा–१ सिमचौरका टेकबहादुर पुनमगर शुक्रबार मुआब्जाको काम भएपछि खुसीले दंग थिए। काम सकिएपछि गाउँ फर्कनका लागि दिपायल बसपार्कमा पुगेका उनले साँझ मात्रै गाडी पाए। १६ जना छिमेकीसहित उनी बुहारी ललिता र छोरा शशी पुन मगरलाई लिएर गाडीमा घरतर्फ प्रस्थान गरे।  झिसमिसे अँध्यारोमा दिपायलबाट हिँडेको जिप कच्ची सडकमा  खाल्डाखुल्डीको अवरोध छिचोल्दै रातको १० बजे बोगटान गाउँपालिका-६ गगुडाको कटैगाउँ पुग्यो।

एकै घरका छोरा बुहारी र ससुराको मृत्यु

तीव्र गतिमा रहेको जिप नियन्त्रण हुन नसक्दा धारीको स्थानीय भीरमा दुर्घटनाग्रस्त भयो। गाडीमा सवार टेकबहादुर उनकी जेठी बुहारी ललिता र कान्छा छोरा शशीको घटनास्थलमै मृत्यु भयो। ललिताका श्रीमान् बलबहादुरको  दिपायलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रिफर गरियो। जेठा छोरा बलबहादुरले श्रीमती ललिता गुमाए, कान्छी बुहारी उजलीले श्रीमान् शशीलाई गुमाउन पर्‍यो। 

दुर्घटनाले गाउँ पूरै शोकमा

दुर्घटनाले बोगटान गाउँपालिका वडा नम्बर १ सिमचौरको चपरतोला सोकमग्न बनेको छ।  बोगटान गाउँपालिका वडा नम्बर ६ गगुडामा यात्रुबहाक जिप दुर्घटना हुँदा मृत्यु हुने ८ जना सिमचौरको चपरतोलाका स्थानीय हुन्।

चपरतोलाका सबैका परिवारका सदस्य परेका कारण कोही कसैलाई सम्झाइदिने अवस्थामा नरहेको सिमचौरका वडा अध्यक्ष डम्मर घर्तीले बताए। घर्तीले भने, ‘को कसलाई सम्झाउने सबै शोकमा डुबेका छन्, हामी पनि यो घटनाले स्तब्ध छौं कसरी सम्झाउने गाउँका नौलखा जवानको मृत्यु भएको छ।   घर्तीले थपे, ‘कसैका श्रीमती बितेका छन्, कसैका श्रीमान् अनि कत्‍ति बालबालिका टुहुरा बनेका छन्, उनीहरुलाई म छु नरोऊ भन्ने पनि कोही छैन।’  शुक्रबार मध्यरातदेखि शोकमा डुबेको चपरतोला टोल अझै होसमा आउन सकेको छैन। घरैपिच्छे मृतक र घाइते रहेकाले  उक्त बस्ती  गहिरो शोकमा डुब्‍न पुगेको छ।

चालकको लापरबाहीले दुर्घटना

चालकको लापरबाहीका कारण दुर्घटना भएको घाइते वीरबहादुर पुनमगरले बताए। वीरबहादुरले भने, ‘चालकलाई हामीले पटक/पटक गाडी विस्तारै चलाउनुहोस् पनि भन्यौं, त्यति भन्दा नभएपछि बीचबाटोमै बसौं पनि भन्यौं उसले कुनै कुरा मानेन आफ्नै तालमा गाडी हाँक्दै गयो।’  चालकले बायलमा मदिरा सेवन गरेको वीरबहादुरले बताए।

के भन्छ प्रहरी प्रशासन?

प्रारम्भिक परिणाम हेर्दा चालककै गल्तीका कारण दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले बताएको छ। डिएसपी शिवबहादुर सिंहले भने, ‘हाम्रो प्रहरीले दिपायलको चेकपोस्टबाट चवराचौतारा नजान भनेको छ, उनी इन्ट्री नै नगरी गएका छन्, यात्रुले सचेत गराउँदा पनि मानेनन्, साँझ ६ बजेपछि गाडी नचलाउने निर्णय भएको थियो त्यसको उल्लंघन गर्दै गएका छन् चालकले गर्दा दुर्घटना भएको छ।’

दुर्घटनाबारे छानबिन गर्ने डोटीका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले बताए। खड्काले भने, ‘यो अत्यन्त ठूलो र दुखद दुर्घटना हो, आगामी दिनमा पनि यस्ता घटनामा कसरी बच्न सकिन्छ भनेर  अध्ययन गर्नेछौं।’

घाइतेको उद्धारमा ढिलाइ

दुर्घटनाका घाइतेलाई उद्धारमा ढिलाइ भएको छ। जिप दुर्घटनाका ७ जना घाइतेलाई १४ घन्टापछि उ6पचारका लागि अस्पताल पुर्‍याइएको छ। घटना शुक्रबार रातको १० बजे भएको थियो। स्थानीयवासी र प्रहरीको सक्रियतामा उद्धारपछि शनिबार मध्याह्‍न मात्र अस्पताल पुर्‍याइएको हो।

घाइतेहरूमध्ये दुईको अवस्था निकै गम्भीर देखिएको छ। जसमा बोगटान गाउँपालिका-१ सिमचौरका ५० वर्षीय हर्क बहादुर घर्तीमगर र दलबहादुर पुनमगर रहेको सुजङ अस्पताल दिपायलले जानकारी दिएको छ।  गम्भीर भनिएका सोही ठाउँका वीरबहादुर घर्तीमगर र प्रकाश बहादुर घर्तीमगर समान्य अवस्थामा रहेको अस्पतालले जनाएको छ। सामान्य घाइतेहरू सोही ठाउँकै नरबहादुर पुनमगर, इन्द्र बहादुर पुनमगर र दीपक घर्ती मगरको सुजङ अस्पतालमै उपचार भइरहेको छ।

खुसी साट्न नपाउँदै बिदा

कसैले आठ लाख, कसैले दश लाख, कसैले चार लाख बुझेका थिए। सबैको मुहार हसिलो देखिन्थ्यो। गाउँमा रोपनीको एक लाख पनि मुस्किलले पाइन्थ्यो तर, उनीहरुले प्रतिरोपनी १ लाख ९९ हजार मुआब्जा पाएका थिए। एकातिर आफ्नो जमिनको आकर्षक मूल्य पाएको खुसी, अर्कोतिर विद्युत् आयोजना निर्माण भएपछि गाउँमा झिलिमिली हुने आशा। तर, उनीहरुको त्यो खुसी दैवलाई मन परेनछ। परिवारसँग खुसी बाँड्न नपाउँदै नौ जनाले संसार छोडेका थिए।

डोटी बोगटान गाउँपालिका-६ गगुडाको धार भन्ने ठाउँमा भएको जिप दुर्घटनामा एउटै बस्तीका आठसहित नौ जनाले ज्यान गुमाए। चारजना गम्भीर घाइते भए।  अछाम बूढीगंगा नदीमा सरकारी लगानीबाट निर्माण हुन लागेको बूढीगंगा जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने जमिनको मुआब्जा बुझ्नका लागि डोटी जिल्ला सदरमुकाम आएका उनीहरु मुआब्जा बुझेर फर्किने क्रममा दुर्घटनामा परेका थिए।

सडकको स्तरोन्नति गर्छु : मन्त्री बलायर

डोटी जिल्लाका ग्रामीण सडकको स्तरोन्नति गर्नका लागि काम गर्ने  भौतिक योजना निर्माण तथा यातायात व्यवस्था मन्त्री वीरबहादुर बलायरले बताएका छन्। बलायरले भने, ‘डोटीका कच्ची सडक अत्यन्त साँघुरा छन्, त्यस्ता सडकको स्तर वृद्धि गर्नु आवश्यकता छ, म उक्त सडकको स्तरोन्नतिका लागि आफ्नो कार्यकालभित्र काम गर्नेछु।’

सडकको स्तरोन्नति नभएसम्म यात्रु, यातायात व्यवसायी र चालकले सडकको अवस्थाबारे सचेत हुनुपर्ने मन्त्री बलायरले बताए। उनले भने, ‘घाइतेहरुको उपचार र क्षतिपूर्तिका लागि म तत्काल पहल गर्छु, घटनाको छानबिनका लागि एक टोली घटनास्थलमा पठाउछौं।’

कच्ची सडकमा सधैं ठूला दुर्घटना

डोटीमा कच्ची सडकमा ठूला दुर्घटना हुने गरेका छन्। २ वर्ष पहिला डोटीकै जोरायलमा कच्ची सडककै कारण दुर्घटना हुँदा ३१ जनाको मृत्यु भएको थियो। त्यसपछिको यो दोस्रो ठूलो दुर्घटना हो।

मृतकको नामावली

क्र.स.  नाम                               ठेगाना                                             उमेर

१     विष्णुबहादुर मगर     बोगटान गा.पा १ सिमचौर चपरतोला  ३५

२     भीम घर्तीमगर ,,             ५५

३     बुढो घर्तीमगर  ,,             ५०

४     गोरख थापा   ,,             ४५

५     शशीबहादुर पुनमगर   ,,             ३०

६     टेकबहादुर पुनमगर    ,,             ५५

७     चन्द्रबहादुर घर्तीमगर  ,,             ३०

८     ललितादेबी पुनमगर   ,,             २९

९     विष्णुबहादुर नेगी     शिखर नपा १ कपल्लेकी (चालक)     २८

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.