|

भक्तपुर : नेपाल मजदूर किसान पार्टी (नेमकिपा) ले संसदमा विचाराधीन संविधान संशोधन विधेयक फिर्ता लिन माग गर्दै दबाबमूलक कार्यक्रम गर्ने भएको छ। नेमकिपाको आइतबार सम्पन्न २७औं केन्द्रीय परिषद् बैठकले संविधान संशोधन विधेयक फिर्ता लिन जिल्ला-जिल्लामा पार्टी र जनवर्गीय तथा पेसागत संगठनहरुमार्फत विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको हो।

पार्टी अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा भक्तपुरमा बसेको बैठकले १३ बुँदे निर्णय गर्दै संविधानको दोस्रो संशोधन विधेयक नेपाली जनताको हितविपरीत र भारतीय विस्तारवाद्को हितमा रहेको निष्कर्ष बैठकले निकालेको पार्टी सचिव प्रेम सुवालले जानकारी दिए।

बैठकले गत वैशाख र असारमा सम्पन्न स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनको समीक्षा गर्नुका साथै सचिव सुवालले प्रस्तुत गरेको राजनैतिक प्रतिवेदन सुझावसहित पारित गरेको छ। सुवालले बैठकमा कांग्रेस, एमाले र माओवादी लगायतका दललाई पूँजीवादी भन्दै उनीहरुले आचारसंहिता उल्लङ्घन गरी, झुटो आश्वासन दिएर, भोज भतेर खुवाएर तथा पैसा एवम् सरसामान बाँडेर चुनाव जितेको आरोप लगाएका थिए। त्यस्ता गतिविधिविरुद्ध समाजवादी आन्दोलन र देशभक्तिपूर्ण संघर्ष जारी राख्नुपर्नेमा उनको जोड थियो।

सातै प्रदेशमा तोकिए संयोजक

बैठकले प्रदेश नं २ मा आगामी असोज २ गते हुने स्थानीय तह निर्वाचन तथा प्रदेशसभा र प्रतिनिधि सभाको निर्वाचनलाई पार्टीले क्रान्तिकारी उपयोग गर्ने निर्णय गर्नुका साथै सातवटै प्रदेशमा संयोजक तोकेको छ। प्रदेश नंं १ देखी ७ सम्म क्रमशः नरेन्द्र हुमागाई, दिनेश शाह, प्रेम सुवाल, नीरज लवजू, हरिसुन्दर वासी, सुनिल प्रजापति र बजिरसिंह विक रहेका छन्।

बैठकले संसदमा विचाराधीन निर्वाचन सम्बन्धी ऐनमा व्यवस्था गरिएको मत सीमा (थ्रेसहोल्ड) को बन्दोबस्त प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रविरोधी तथा प्रतिगामी, निर्दलवादी भएको ठहरसमेत गरेको सुवालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.