भेटिएन सुखद खबर

|

ढल्केबर: गत वर्ष काठमाडौँलगायत मुख्य शहरमा लोडसेडिङ अन्त्य गरेर ऊर्जामन्त्री जनार्दन शर्मा र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले वाहवाही पाए। वर्सेनि बढ्दो विद्युतको माग पूरा गर्दै लोडसेडिङ अन्त्यलाई निरन्तरता दिनु अहिले  मन्त्रालय र प्राधिकरणका लागि चुनौती बनेको छ। बढ्दो विद्युत माग र त्यही अनुपातमा आन्तरिक उत्पादन नबढेको अवस्थामा मन्त्रालय र प्राधिकरणको मुख्य ध्यान आउँदो हिउँदमा लोडसेडिङ अन्त्यलाई कसरी कायम राख्ने भन्नेमा छ।

यसका लागि विद्युत उत्पादन नजिक पुगेका निर्माणाधीन आयोजना पूरा गर्ने र भारतबाट थप बिजुली ल्याउन प्रसारण लाइन र सवस्टेसन निर्माणमा उनीहरूले जोड दिएका छन्। यसै सिलसिलामा शनिबार ऊर्जामन्त्री महेन्द्रबहादुर शाही, ऊर्जासचिव अनुप उपाध्याय र नेपाल विद्युत प्राधिरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले कुलेखानीको जलासय, कुलेखानी आयोजना तेस्रो र ढल्केबर सवस्टेसनको अनुगमन गरे।

कुलेखानी तेस्रो आयोजना पूरा भएमा १४ मेगावाट बिजुली थपिन्छ भने ढल्केबर सवस्टेशन पूरा भएमा भारतबाट थप २५० मेगावाटसम्म बिजुली ल्याउन सकिन्छ। तर दुवै आयोजना निर्माणको प्रगति आशलाग्दो नहुँदा मन्त्री शाही र प्रबन्ध निर्देशक घिसिङ चिन्तित छन्।

अनिश्चित कुलेखानी

सन् २०११ मा सम्पन्न गर्ने गरी सन् २००८ मा सुरु भएको यस आयोजना अहिलेसम्म पूरा भएको छैन। यसको निर्माणको जिम्मा सिनो हाइड्रो र झेझियाङ जिल्लुङले संयुक्त रूपमा पाएका छन्। अहिले यस आयोजनाको सिभिलतर्फको काम करिब ९० प्रतिशत सकिएको छ। इलेक्ट्रो मेकानिकलतर्फको काम भने ६० प्रतिशत मात्रै भएको छ।

टर्बाइन र अन्य मेसिन जडान भएका छैनन् भने टनेलको आउटलेट गेट बनेको छैन। धमाधम काम हुँदा ६ महिनामा पूरा हुने आयोजनाको बिजुली आउँदो हिउँदमा प्रयोग गर्ने प्राधिकरणको योजना पूरा हुने संभावना कम छ। इलेक्ट्रो मेकानिकलतर्फको ठेक्का पाएको झेझियाङ जिल्लुङको नेपाल प्रतिनिधि हुलास कम्पनीले काममा ढिलाइ गरेको नेपाल विद्युत प्राधिकरणका उपप्रबन्धक इन्दिवर घिमिरेले बताए।

उक्त कम्पनीको नेपाल हुलास कम्पनीका प्रतिनिधि शरद गोल्छाले अबको २ महिनामा धेरै काम हुने बताए पनि ऊर्जामन्त्री र प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले विश्वास गर्न सकेनन्। मन्त्री महेन्द्रबहादुर शाहीले काम नगरे कारवाही गर्ने चेतावनी दिए। उनले भने, 'अब पनि काम गर्नुभएन भने कारवाही गर्छौं, नसक्ने भए हात झिक्नुपर्‍यो, राज्यलाई नै चुनौती दिने काम राम्रो हुँदैन।'

ढल्केबर सवस्टेसनको उस्तै हालत  

मुजफ्फरपुर ढल्केबर प्रसारण लाइन हुँदै हाल भारतबाट ८० मेगावाट बिजुली मात्र नेपाल ल्याउन सकिन्छ। थप बिजुली आयात गर्न ढल्केबरमा अर्को २२० केभीको सवस्टेसन निर्माण गर्नुपर्छ। सवस्टेसन निर्माण गर्न विद्युत प्राधिकरणले सेन्ट्रल चाइना पावर ग्रिड इन्टरनेशनल इकोनोमिक एण्ड ट्रेड कम्पनी (सीसीपीजी) लाई तीन वर्षअघि अर्थात् सन् २०१४ जुन १२ मा ठेक्का दिएको थियो।

सवस्टेसनको काम अन्तिम चरणमा पुगेको छ तर अहिले काम नै रोकिएको छ। यसको निर्माण सक्ने मिति आउँदो अक्टोबरको अन्तिम तोकिएको छ। केही सामान जडान र फिनिसिङको काम बाँकी रहँदा ठेकेदार कम्पनीले काम गरेको छैन। त्यसैले तोकिएको समयमा आयोजना पूरा भएर भारतबाट थप बिजुली आयात सहज हुने कि नहुने भन्ने अन्योल यथावत छ।

शनिबार ढल्केबर पुगेका ऊर्जामन्त्री महेन्द्रबहादुर शाही, ऊर्जासचिव अनुप उपाध्याय र नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ठेकेदार सीसीपीजी, कन्सल्ट्यान्ट पावर ट्रेड इन्डियाका प्रतिनिधिसँग छलफल गरे। ठेकेदारले काम हुन नसक्नुमा कन्सल्ट्यान्टले अन्तिम नक्सा नदिएको, पैसा नपाएको, पानी परेको जस्ता विषय उठायो।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ठेकेदार, कन्सल्ट्यान्टसँग तीन बुँदे लिखित प्रतिबद्धता नै लिए, जसअनुसार कन्सल्ट्यान्टले आयोजनास्थलको नक्सा आइतबारसम्म (साउन २२ गते) उपलब्ध गराउनुपर्ने, ठेकेदारले अहिलेसम्म गरेका कामका बिलहरू कन्सल्ट्यान्टले प्रमाणित गरेर प्राधिकरणलाई दिनुपर्ने सहमति भएको छ। सीसीपीजीले आउँदो अक्टोबर ३१ सम्म काम पूरा गर्ने सहमति भएको छ। यद्यपि, ठेकेदारले काम गर्नेमा शंका छ।

किन काम गरेन चिनियाँ ठेकेदारले?

ठेकेदारले काम नगर्नुमा नेपाल विद्युत प्राधिकरणसँग उसको यसअघिको ठेक्का तोडिएको घटना जोडिएको छ। सीसीपीजीले दुई वर्षअघि नै भरतपुर बर्दघाट प्रसारण लाइन निर्माणको ठेक्का पाएको थियो। तर दुई वर्षसम्म नगरी सीसीपीजीले ठेक्का रद्द गर्‍यो। त्यसपछि प्राधिकरणले उसको बैंक ग्यारेन्टी जफत गरेको थियो। त्यही विषयलाई लिएर सीसीपीजीले काम नगरेको प्राधिकरण स्रोतले बतायो।

नेपाल भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाले तयार पारेको प्रतिवेदनमा नै यो विषय उल्लेख गरिएको छ। गएको जुलाई २० मा सीसीपीजीका जनरल प्रोजेक्ट म्यानेजर जेङ जियालिङले पत्र लेखेर बैंक ग्यारेन्टी जफत भएकाले ढल्केबर र हेटौँडा सवस्टेसनको कुनै काम नगर्न निर्देशन दिएका छन्। प्रतिवेदनमा भनिएको छ, 'ठेकेदारका अनुसार उनीहरूले त्यसै कारण ढल्केबरको काम आंशिक रूपमा र हेटौँडा सवस्टेसनको काम पूर्ण रूपमा बन्द गरेका छन्।'

नेपाल-भारत विद्युत प्रसारण तथा व्यापार आयोजनाका प्रमुख राधेशरण महतोले चिनियाँ ठेकेदारले काम गर्नेमा अझै विश्वस्त हुन नसकिने बताए।

मन्त्रीको आग्रह र आशावादी कुलमान

ढल्केबर सवस्टेसनको अनुगमनपछि ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले ठेकेदार सीसीपीजीका प्रतिनिधिलाई तत्काल काम सुरु गर्न आग्रह गर्दै केही समस्या परेमा आफूलाई सिधै सम्पर्क गर्न सुझाव दिए। 'हाम्रो मुलुकमा लोडसेडिङको ठूलो समस्या छ, त्यसको अन्त्यका लागि यो आयोजना पूरा गर्नुपर्छ', उनले भने, 'त्यसैले तत्कालै काम सुरु गर्नुस्, केही समस्या परेमा मसँग सिधा सम्पर्क गर्नुस्।'

विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले निर्धारित समयमा सवस्टेसन निर्माण पूरा हुने आशा व्यक्त गरे। उनले केही समयमा ठेकेदार कम्पनीका प्रमुख नेपाल आउने भएकाले उनीसँग सवस्टेसन निर्माण समयमा पूरा गर्नेबारे छलफल गर्ने बताए। 'हाम्रो लागि यो सवस्टेसनको धेरै महत्त्व छ', उनले भने ,'उनीहरूले चाहे भने ३ महिनामा आरामले काम सक्न सक्छन्।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.