|

उदयपुर :  उदयपुरको गाईघाटमा रहेको यातायात सेवा कार्यालयले सेवाग्रहीलाई प्रभावकारी सेवा दिन सकेको छैन। मधेस आन्दोलनको वेला सिराहको लहानस्थित सगरमाथा अञ्चल यातायात कार्यालय बन्द हुन थालेपछि उदयपुरका सेवाग्राहीहरुले सेवा कार्यालय सञ्चालन गर्न सरकारसँग माग गरेका थिए। सेवाग्रहीको मागअनुसार ०७२ चैत्रमा स्थापना भएको कार्यालयले अझै पनि पूरा कर्मचारी नपाएको कारण सेवा दिन नसकेको हो।

०७२ साउन ५ गते तत्कालीन नेपाल सरकारको मन्त्रिपरिषदबाट गाईघाटमा कार्यालय स्थापना गर्ने निर्णयअनुसार साउन २२ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रलाय, यातयात व्यवस्थापन विभागबाट स्विकृत भई ०७२ कै चैत्रबाट कार्यालय सञ्चालनमा आएको थियो।

कार्यालय आयो सेवा आएन

कार्यालयमा प्रमुख एक, नायब सुब्बा दुई, मेकानिकल सुपरभाइजर एक, सहायक लेखापाल एक, खरिदार एक र कार्यालय सहयोगी दुई गरी जम्मा ८ जना सरकारी कर्मचारीको दरबन्दी छ। कार्यालय सञ्चालन आएको ढेड वर्षदेखिनै कार्यालयका विभिन्न शाखाका कोठामा रहेका दराज, टेबल, कुर्सी, कम्युटर लगायतका समान प्रयोगविहीन छन्। ‘नियमित कोठाहरुको ढोका नखोल्नाले भित्तामा माकुराको जालो लागेको छ।’ कार्यालय सहयोगी पुर्णिका मगरले भनिन्, ‘खै मलाई थाहा छैन, कोठाका सरहरु नभएकाले तालासमेत नखोल्दा हुन्छ।’

आइतबार दिउँसो कार्यालयमा एकजना राजस्व फाँटकी खरिदार लक्ष्मी न्यौपाने मात्र कार्यालयमा थिइन्। ‘कार्यालयका हाकिम साव बाहिर गएका छन्,’ खरिदार न्यौपानेले भनिन्, ‘कार्यालयको दरबन्दी आठ जनाको भए पनि अहिले ४ जनाले मात्र कार्यालय सञ्चालन हुँदै आएको छ।’

कार्यालय प्रमुखलाई फोन गर्दा श्रीमतीले मात्र उठाउँछिन्

खरिदार न्यौपानेका अनुसार कार्यालय चलाउने एकजना नायब सुब्बा एकजना कार्यालय प्रमुख, लेखापाल गणेशबहादुर खड्का र एकजना कार्यालय सहयोगी पुर्णिका मगर हुन्। कार्यालय प्रमुखमा शाखा अधिकृत दरबन्दी भए पनि नायब सुब्बा प्रमुख शिव तिम्सिनाको भरमा छ। कार्यालय प्रमुख शिवलाई उनको दुईवटा निजी नम्बरमा सम्पर्क गर्दा श्रीमतीले मात्र रिसिभ गर्दछिन। ‘कार्यालय प्रमुखलाई कार्यालयमा भेट्न आयो कहिले मापसे गरेरे बसेका हुन्छन्,’ सवारी कर तिर्न आएका सेवाग्रही त्रियुगा नगरपालिका ४ का सत्यनारायण चौधरीले भने, ‘काम गर्ने कुनै पनि अवस्था नै हुँदैन, फोन गर्‍यो श्रीमतीले मात्र उठाउँछिन्।’

कार्यरत कर्मचारीका अनुसार कार्यालय प्रमुख शाखा अधिकृतको दरबन्दी भए पनि कार्यालय प्रमुख नआएकाले निमित्त प्रमुख भएर कार्यालय सञ्चालन गर्दै आएका नायब सुब्बा तिम्सिना अराजक बन्दै गएका छन्। कार्यालय प्रमुखको कोठा वर्षौंदेखि बन्द छ।

के भन्छन् प्रमुख जिल्ला अधिकारी?

उदयपुरका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले यातयात कार्यालयबारे सेवाग्राहीबाट गुनासो आउने भएकाले त्यसबारे आपूm यातयात विभागमा बुझ्ने बताए। ‘यातयात कार्यालयको कर्मचारी व्यवस्थापन यातयात विभागले गर्ने हो,’ प्रमुख जिल्ला अधिकारी कालिप्रसाद परालुलीले भने, ‘म कार्यालयबारे तत्काल निरीक्षण गरेर सेवा प्रभावकारी बनाउन पहल गर्नेछु।’   विभिन्न फाँटअनुसार हुनुपर्ने आठजना कर्मचारीको नेमप्लेटसमेत छैन भने कार्यालयका ढोका सबै बन्द हुने गरेका छन्।

बोर्ड हेर्दै फर्किँदै गर्छन् सेवाग्राही

कार्यालयबाट सेवा लिन आउने सेवाग्राही कार्यालयको बोर्ड मात्र हेरेर फर्किन बाध्य छन्। यता, उदयपुरका सवारीधनी कार्यालय सञ्चालनमा आउँदा पनि सेवा नपाएको बताउँछन्। नियमित सवारी र चालक अनुमति पत्र नवीकरण नहुँदा ट्राफिक प्रहरीले अनावश्यक दुःख दिने गरेको कार्यालयमा भेटिएका सेवाग्राही शिव दाहालले बताए। ‘कार्यालयमा आएर नवीकरणसमेत सेवा पाइँदैन,’ दाहालले भने, ‘कहिलेकाहीँ यहीँ नवीकरण हुन्छ भने साथीहरुले, आयो सर हुनुहुन्न भन्ने सुनिन्छ।’

कार्यालयबाट सवारीसाधन नवीकरण, सवारीचालक अनुमतिपत्र नवीकरण, अस्थायी रुट परमिट दिने, विभिन्न सवारी नियम उल्लंघन गर्नेलाई जरिवाना गर्ने लगायतका कार्य सम्पादन हुनुपर्ने हो।

कार्यालयका राजस्व फाँटकी खरिदार लक्ष्मी न्यौपानेका अनुसार कार्यालयका स्थापना भएसँगै आक्लझुकल सवारी अनुमतिपत्र नवीकरण हुने गर्दछ भने कहिलेकाहीँ अस्थायी रुट परमिट दिने काम पनि भएको छ। ‘हाम्रो कार्यालयले सानातिना काम मात्र गरिरहेको छ,’ उनले भनिन्, ‘गएको आर्थिक वर्ष ०७३/७४ मा १ करोड ५२ लाख १६ हजार राजस्व संकलन गरेको छ, भने आर्थिक वर्ष ०७२÷७३ को चैत्र बाट सुरु भएकाले ०७३/७४ लाग्दा ४४ लाख मात्र राजस्व संकलन गरेको छ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.