|

काठमाडौँः कला इतिहासकार, क्यूरेटर, लेखक डा. डिना वाङ्देलको निधनको १३औँ दिनमा नेपाल आर्ट काउन्सिलमा श्रद्धाञ्जलिसभा गरियो। 

कलाको इतिहासमा डिनाको गहिरो र व्यापक रुचि र अध्ययन रहेको काउन्सिलका उपाध्यक्ष सागरशमशेर राणाले बताए। राणाले भने, ‘भर्जिनिया कमनवेल्थ युनिभर्सिटीमा कलासम्बन्धी इतिहासको निर्देशक पदमा रही विभिन्न राष्ट्रमा कार्यरत अनुभवी विशेषज्ञसँग सम्पर्क राखी नेपालको कलालाई विश्व जगतसम्म पुर्‍याउनुभएको थियो।’

नेपाली कलालाई विश्वमा चिनाउन डिनाले महत्त्वपूर्ण योगदान दिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव भरतमणि सुवेदीले बताए। नेपाली परम्परागत, लोक, समसामयिक कलामा गहिरो रुचि राख्ने डिनाको निधनले नेपाली कला क्षेत्रले विशिष्ट व्यक्तित्व गुमाएको कलाकार तथा कला लेखक मदन चित्रकारले बताए। चित्रकारले भने, ‘नेपाली कलाको आइकोन व्यक्तित्वको रूपमा डिनालाई लिनुपर्दछ।’

डिनाले नेपाली कला क्षेत्रमा विशिष्ट योगदान दिएको नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले बताइन्। उनको मृत्युलाई पत्याउनै मुश्किल परिरहेको चिराग वाङ्देलले बताए। 

नेपाली कला क्षेत्रमा अपूरणीय क्षति पुगेको बताउँदै काउन्सिलका अध्यक्ष सत्यमोहन जोशीले भने, ‘एउटा समीक्षक, इतिहासकारलाई नेपालीले गुमाउनुपरेको छ।’
१३ दिनअघि अमेरिकामा डा. डिना वाङ्देलको निधन भएको थियो। कतारस्थित भर्जिनिया कमनवेल्थ युनिभर्सिटीको कला विभागकी प्रमुखसमेत रहेकी डिनाको साइनस रोगका कारण निधन भएको थियो। रुघाखोकी बिग्रिएपछि त्यसको शल्यक्रियाका लागि वाङ्देल दुई साताअघि अस्पताल भर्ना भएकी थिइन्। शल्यक्रियापछि भएको संक्रमणले उनमा मेनेन्जाइटिस देखिएको थियो।

ओहायो युनिभर्सिटी अमेरिकाबाट विद्यावारिधि गरेकी वाङ्देलले दक्षिण एसियाली समकालीन कला र सिनेमामा लैंगिक र पहिचानका मुद्दामा समेत अनुसन्धान गरेकी थिइन्। चर्चित कलाकार लैनसिंह वाङ्देलकी एक मात्र सन्तान डिनाको ५४ वर्षको उमेरमा निधन भएको हो।

अमेरिकाको भर्जिनिया विश्वविद्यालयले डा. वाङ्देललाई कला विभागको प्रमुख बनाएर कतार पठाएको थियो। पाँच वर्षदेखि कतारमा रही प्राध्यापन कार्यमा सक्रिय वाङ्देलले नेपाली कलालाई अन्तर्राष्ट्रिय रूपमा चिनाउन विभिन्न कार्यक्रमसमेत गर्दै आएकी थिइन्। वाङ्देलकी आमा मनकुमारी, श्रीमान विभाकर शाक्य र दुई छोरा देवेन र नील छन्।

डा. डिना काउन्सिलको कार्यकारी सदस्यसमेत थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.