|

काठमाडौँः उपन्यासकार विजयराज शर्माद्वारा लिखित उपन्यास ‘भास’ शनिबार काठमाडौँमा सार्वजनिक गरिएको छ। 

उपन्यासमाथि बोल्दै आख्यानकार नयनराज पाण्डेले भने, ‘उपन्यासको प्रमुख पात्र परिस्थितिले जेलिएर, सारा गुमाएर विदेशमा भासिएको छ। उसको शरीर मात्र अमेरिकामा छ हरतरहले मन जन्मभूमितिर तानिइरहन्छ, ऊ सधैँ नोस्टाल्जिक भइरहन्छ।’ पाण्डेले यसले मातृभूमिप्रतिको उनको जिम्मेवारीबोध दर्शाउने बताए।

त्यसैगरी अर्का वक्ता तथा आख्यानकार नीलम कार्की ‘निहारिका’ले उपन्यासमा कतिपय अवस्थामा आफैँलाई भेटेको बताइन्। ‘यसमा सांस्कृतिक र सामाजिक रूपले प्रवासिनुपर्दाका बाध्यताको चित्रण गरिएको छ’, उनले भनिन्, ‘पुँजीवाद र अर्थतन्त्रको प्रभाव स्वरूप अहिलेको नेपाली समाजमा हरेक घरबाट मान्छे विदेसिनु सामान्य जस्तै भइसकेको छ। शर्माजीको भासले यसको सामाजिक र राजनीतिक समाधान खोजिनुपर्छ भन्ने आग्रह राख्छ।’ 

पुस्तकमाथि बोल्दै राधेश्याम लेकालीले साढे दुई दशकदेखि कोलोराडोमा बस्दै आएका विजयराज शर्मा अर्थशास्त्रका प्राध्यापक भएका र उनले ‘भास’ उपन्यासमा विदेश बसाइको मनोदशा, बोलीचाली र प्रतिक्रियालाई जस्ताको तस्तै उतारेको बताए। ‘यो किताबलाई त्यहीँका स्थानीयवासीले पनि पढ्न सक्ने भाषामा अनुवाद गर्नुपर्ने जरुरी देखेको छु’, उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.