|

सिन्धुपाल्चोकः काम गर्ने जाँगर र इच्छा भएमा पैसा कमाउन विदेश जानुपर्दैन भन्ने उदाहरण बनेका छन्, सिन्धुपाल्चोक सुनकोसी गाउँपालिका धुस्कुनका श्यामकृष्ण थामी।

उनी केही समयअघिदेखि गाउँमै कुखुरापालन गर्दै आएका छन्। स्वदेशमा अवसर र पैसा छैन भन्ने युवाहरूको मानसकितालाई गलत सावित गर्दै थामीले कुखुरापालनबाट राम्रै आम्दानी गर्न सफल भएका छन्।

कुखुरापालनवाट जीवन जिउने तरिका नै बदलिएको बताउँछन् उनी। नेपालमा दैनिक हजारौँको संख्यामा युवायुवतीहरू खाडी मुलुकतर्फ गइरहँदा र दैनिक विदेशको भूमिवाट नेपालीको शव आइरहँदा उनी भने स्वदेशमै केही गनुपर्छ भन्ने भावना जागेको सुनाउँछन्।

थामीले ब्रोइलर कुखुरापालनबाट आफ्नो परिवारको आवश्यकता सहजै पूर्ति गर्न सफल भएको बताउँछन्। ‘काममा लगनशील भएर मिहिनेत र परिश्रम गर्ने हो भने स्वदेशमै प्रगति गर्न सकिन्छ’, उनी भन्छन्, ‘यही जोस र जाँगरका साथ कुखुरापालन सुरु गरेको छु।’ 

उनले यो व्यवसायका लागि पारिवारिक रूपमा पनि धेरै सहयोग पाइरहेको बताउँछन्। सुरुमा पाँच सय कुखुराबाट व्यवसाय सुरु गरेका थामीले अहिले एक हजार पाँच सय कुखुरा पालिरहेका छन्। 

सानो चल्ला फार्ममा ल्याएर दुई महिना पालेपछि मासुका लागि तयार हुने र काठमाडौँलगायतका विभिन्न फ्रेस हाउसमा पुर्‍याउने उनी बताउँछन्। कतिपय ग्राहकहरू फार्ममै आउने गरेको उनको भनाइ छ। यातायातलगायतको समस्या भए पनि उनले हार मानेका छैनन्।

‘पहिला अरूको ठेक्कामा काम गरेर बिहान बेलुका मुस्किलले खान पुर्‍याउने गर्थें’, उनी भन्छन्, ‘एक वर्षमा पाँच पटक कुखुरा फार्ममा राखेर हुर्किन्छन्, एक पटकमा नै एकदेखि दुई लाख रुपैयाँसम्म फाइदा हुन्छ।’ पाँच वर्षअघिदेखि संचालन गरेको यस व्यवसायले कृषिबाली पनि  राम्रो भएको उनको अनुभव छ। 

सुरुमा ३० हजार ऋण लिएर लिएर काम सुरु गरेका थिए उनले। गरिवीको चपेटामा पिल्सिएका थामी अहिले लाखौँ लाखको कारोबार गर्छन्। 

पछिल्लो समय युवाहरूको जीववन जिउने विकल्प नै वैदेसिक रोजगार हो भन्ने धारणालाई परिमार्जन गर्दै यस्तै लगानी र अवसरको खोजीमा युवाहरूको ध्यान केन्द्रित हुन जरुरी भएको उनको भनाइ छ।

सुनकोसी गाउँपालिकामा पछिल्लो समय कुुखरापालन व्यवसाय मौलाउँदै गएको छ। सानो लगानी, थोरै समय र बजार भाउ राम्रै भएपछि यसप्रति कृषकहरूको आकर्षण बढ्दै गएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.