|

रूपन्देहीः जिल्ला समन्वय समिति गठनका लागि रूपन्देहीमा दलहरूले तालमेल गरेका छन्। एक उपमहानगरपालिका, पाँच नगरपालिका र १० गाउँपालिका रहेको यस जिल्लामा जिल्ला समन्वय समिति गठनका लागि आइतबारदेखि निर्वाचन प्रक्रिया सुरु भएको जिल्ला समन्वय समिति रूपन्देहीले जनाएको छ। 

साउन २८ गते हुने निर्वाचनका लागि एमाले र कांग्रेसले छुट्टाछुट्टै गठबन्धन बनाएर प्यानल दर्ता गराएका छन्। नेकपा एमाले र संघीय समाजवादी फोरमबीच तालमेल भएको छ भने कांंग्रेस, माओवादी केन्द्र र राप्रपाबीच तालमेल भएको छ। 

एमालेले संघीय समाजवादी फोरमसँग तालमेल गर्दा जिल्ला संयोजकसहित पाँच र संघीय समाजवादी फोरमले सहसंयोजकसहित चार सदस्य लिएको छ। 

नौ सदस्यीय जिल्ला समन्वय समितिका संयोजकमा एमालेका तर्फबाट एकराज विश्वकर्माले उमेदवारी दर्ता गराएका छन्। एमालेका तर्फबाट सदस्यहरूमा कविराम अर्याल, खेम लुइँटेल, जमुना लम्साल र ज्ञानु विकले उम्मेदवारी दिएका छन्। 

संघीय समाजवादी फोरमका तर्फबाट सहसंयोजकमा पशुपति यादव र सदस्यहरूमा छोटे हरिजन, सरौजा बरई र रियाज अहमदले उम्मेदवारी दिएका छन्।

त्यसैगरी नेपाली कांंग्रेसका तर्फबाट संयोजकसहित पाँच जना, माओवादी केन्द्रबाट सहसंयोजकसहित तीन र राप्रपाले एक सदस्य लिने सहमतिअनुसार उम्मेदवारी दर्ता भएको छ। यसअनुसार संयोजकमा विष्णु बस्याल, सहसंयोजकमा सदावृक्ष तेली गुप्ता, सदस्यहरूमा रूपमाया पुन, जानकी कुँवर, चन्द्र विक, अब्दुल सकुर मुसलमान, कल्पना परियार, जग्गु यादव अहिर र धनराज शर्मा रहेका छन्।

जिल्ला समन्वय समितिमा संयोजक, सहसंयोजक, महिला सदस्य तीन, खुलातर्फबाट पुरुष तीन र दलित, अल्पसंख्यकबाट एक जना चुनिनेछन्।  
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.