विचार

के हो ग्रहण?
SHARES

साउन २३, २०७४

    ज्योतिषशास्त्र र खगोलविज्ञान अध्ययन गर्ने अथवा यो विषयमा रुचि राख्नेहरूलाई सोमबारको रात महत्त्वपूर्ण हुन सक्छ। चान्द्रमानको पात्रोअनुसार पूर्णिमा तिथि रहेको यो दिन खण्डग्रास चन्द्रग्रहण लाग्दैछ।

    पञ्चांगहरूका अनुसार सोमबार राति ११:०७ मिनेटमा ग्रहण सुरु (स्पर्श) हुनेछ। १२:०६ मा मध्य हुनेछ भने ०१:०४ मा ग्रहण सकिने (मोक्ष हुने) छ। अर्थात् सोमबारको ग्रहणको अवधि १ घण्टा ५७ मिनेट छ।

    ज्योतिषशास्त्रअन्तर्गत फलादेशमा विश्वास गर्नेहरूका लागि मेष, सिंह, वृश्चिक र मीन राशि भएकाहरूलाई शुभ बताइएको छ। वृष मिथुन, कर्कट, कन्या, तुला धनु, मकर र कुम्भ राशिवालाहरूलाई अशुभ भनिएको छ। श्रवण नक्षत्र मकर राशिकालाई कष्टकर बताइएको छ। 

    के हो ग्रहण? 

    संस्कृत भाषको ‘गृण्ह्’ धातुबाट बनेको ग्रहणको सामान्य अर्थ हुन्छ, लिनु। खगोल वा ज्योतिषशास्त्रमा ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाले अर्को आकाशीय पिण्डलाई पूर्ण वा आंशिक रूपमा छेकेर अन्धकार बनाइदिनु भन्ने बुझिन्छ। सामान्यतयः सूर्य र चन्द्रबिम्बमा  देखिने अन्धकारमय अवस्था नै ग्रहण हो।  ग्रहण औंसी र पूर्णिमामा लाग्छ। सूर्यग्रहण औंसीमा लाग्छ भने चन्द्रग्रहण पूर्णिमामा।

    चन्द्रग्रहण
    चन्द्रग्रहणमा पृथ्वी चन्द्रमा र सूर्यको बीचमा रहेको हुन्छ। यस स्थितिअनुसार पृथ्वीको छाया चन्द्रमामा देखिनु नै चन्द्रग्रहण हो। यसअर्थले पनि सूर्य वा चन्द्रबिम्बमा देखिने अन्धकारमय अवस्था (पूर्ण वा आंशिक) नै ग्रहण मानिन्छ। खग्रास र खण्डग्रास गरी दुई प्रकारको छ ग्रहण पूरै छोप्ने अवस्थालाई खग्रास र केही भाग कालो देखिने अवस्थालाई खण्डग्रास भनिन्छ, ज्योतिषीय भाषामा।

    सूर्यग्रहण
    सूर्य पृथ्वीको सबैभन्दा निकट रहेको एउटा सामान्य प्रकारको तारा हो। सौर्यमण्डलका सम्पूर्ण ग्रहहरूजस्तै पृथ्वी पनि आफ्नो कक्षमा पश्चिमबाट पूर्वतिर र सूर्यको वरिपरि पनि परिभ्रमण गरिरहेको हुन्छ यसै क्रममा पृथ्वी र सूर्यबीच चन्द्रमाको छाया पर्दा सूर्यग्रहण देखिन्छ।

    सूर्य र चन्द्रको अवस्था
    सूर्य चन्द्रमाभन्दा करिब चारसय गुना ठूलो र त्यति नै परिमाणमा टाढा रहेको छ। यसैकारण पनि पृथ्वीबाट हेर्दा सूर्य र चन्द्र लगभग उत्रै देखिन्छ। जब चन्द्रमा, पृथ्वी र सूर्यको बीचमा पर्छ तब, चन्द्रमाले सूर्यलाई छेक्छ। यसबेला पृथ्वीका मानिसले आंशिक वा पूर्णरूपले सूर्यलाई देख्न सक्दैनन्। 

    यस्तो हुन्छ प्रक्रिया

    सूर्यग्रहणमा विपरीत दिशामा रहेको सूर्यलाई आफ्नो मार्गबाट गइरहेको चन्द्रमाले छेक्ने हुनाले यो ग्रहण छोटो समयको लागि मात्र हुने गर्दछ। वैज्ञानिकहरूका अनुसार सूर्य ग्रहण एकपटकमा दुईसय ६९ किलोमिटर फराकिलो क्षेत्रबाट हेर्न सकिन्छ । सूर्यग्रहण फरक फरक ठाउँबाट फरक फरक देखिन्छ तर, चन्द्रग्रहण भने ग्रहण देखिने सबै ठाउँबाट उस्तै देखिन्छ। 

    पृथ्वीमा बसेर आफ्नो पहुँच बाहिरको ग्रहहरूको गतिको गणना गरेर निर्दिष्ट समयमा ग्रहण लाग्ने भविष्यवाणी गर्नु कम चुनौती वा रोचक विषय होइन। महिनाको दुईपटक सूर्य र चन्द्रको संयुक्ति हुने र त्यति नै बेला ग्रहणको सम्भावना हुन्छ तर पनि सबै औंसी र पूर्णिमामा ग्रहण लाग्दैन। एक वर्षको अवधिमा  ५ वटा सूर्यग्रहण र दुईवटा चन्द्रग्रहण वा चार वटा सूर्यग्रहण र ३ वटा चन्द्रग्रहण लाग्नसक्ने खगोलशास्त्रीहरूको भनाइ छ।  

    वेदमा ग्रहण

    मूल वैदिक ग्रन्थहरूमा ग्रहणको विषयमा सामान्य उल्लेख पाइन्छ। ऋग्वेदलगायत ब्राह्मणगन्थहरूमा सूर्यलाई अन्धकारले ढाक्ने सन्दर्भका प्रसंग आउँछन्। वैदिक कालगणनाका लागि ३४ सय वर्षअघि लगधमुनिले लेखेको वेदांग ज्योतिषमा भने ग्रहणको उल्लेख गरिएको छैन। त्यसैले पनि पौराणिक वा ज्योतिषका ग्रन्थहरूमा जस्तो ग्रहणका बेला गर्न हुने र नहुने विषयका कुनै पनि कुरा समावेश छैनन्।

    पुराणमा ग्रहण

    धर्मशास्त्रहरूले समेत सूर्यग्रहणको समयमा गरिने कार्यहरूको महत्त्व अन्य समयको भन्दा बढि भएको बताएका छन्। ‘ग्रहणको समय सबै स्थानका जल गंगाजल समान पवित्र हुन्छन्। सबै सत्पात्र ब्राह्मण ब्रह्मसमान हुन्छन् र गरिएका सम्पूर्ण दानधर्महरू अक्षय फलदायी हुन्छन्’, भनिएको छ पौराणिक ग्रन्थहरूमा। 

    ग्रहण र विश्वास

    पुराणमा ग्रहण हुनुलाई सूर्य र चन्द्रलाई राहुले निलेको भन्ने अर्थ दिइएको छ। त्यसैले यसबेला सुतक लाग्ने हुनाले हाम्रा पञ्चांगहरूमा ग्रहणसमयमा गर्नुपर्ने नियमहरू बताइएका पाइन्छन्। ग्रहणको समयमा भोजनको विषयमा यस्तो निर्देशन पाइन्छ।

    सूर्यग्रहण लाग्नुभन्दा चार प्रहर र चन्द्रग्रहण लाग्नुभन्दा तीन प्रहर अगाडिदेखि बालक, वृद्ध वा अशक्त बाहेकलाई भोजन नगर्ने निर्देश दिइएको हुन्छ। यतिमात्र होइन ग्रहणको बेला जप, हवन, देवपूजन तर्पण आदि गर्नाले मनोवाञ्छित फल पाइने बताइएको छ। ज्योतिषशास्त्रमा ग्रहण लागेको राशि र नक्षत्रलाई दोषयुक्त मान्दै ती राशि र नक्षत्रमा जन्मेकाहरूका व्यक्तिहरूलाई पीडा हुने बताइएको छ।

    ग्रहणका कार्य

    यसैगरी ग्रहणको प्रकृति हेरी ग्रहण भएको दिनदेखि अघिल्ला र पछिल्ला केही दिनलाई शुभकार्यको लागि त्यागिन्छ। ग्रहणको समयमा सूर्यबाट प्राप्त हुने उर्जामा केही गडबडी पैदा हुने हुँदा यस समयमा सम्पूर्ण प्राणीलगायत मानिसमा समेत नकारात्मक असर पर्दछ। यसकारण पनि ग्रहणको समयमा भोजनादि त्यागेर मनलाई एकत्रित गरी शुभकार्य मात्र गर्नु धार्मिक दृष्टिले मात्र नभई वैज्ञानिक दृष्टिले पनि उपयुक्त मान्न सकिन्छ।

रामप्रसाद धिताल

पत्रकार धिताल भाषा, धर्म–संस्कृति र सामाजिक विषयमा कलम चलाउँछन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]