|

चितवन : लामो अन्‍योलपछि जनप्रतिनिधिहरु छानिएको चितवनको भरतपुर महानगरपालिकालाई समृद्ध पार्न स्थानीयले निर्वाचित जनप्रतिनिधिहरुलाई सुझाव दिएका छन्।२० वर्षपछि महत्वपूर्ण अवसर आएको भन्दै उनीहरुले यो अवसरलाई उपयोग गर्न नवनिर्वाचित जनप्रतिनिधिहरुलाई सुझाएका छन्।

भरतपुर महानगरपालिका वडा नम्बर १९ की तारा गुरुङले एकजना व्यक्तिको सकारात्मक भूमिकाले पनि समाज विकासमा उल्लेखनीय काम हुन सक्ने भन्दै अहिले समूह नै लाग्ने हो भने असम्भव केही नरहेको जिकिर गरिन्।

चितवनको भरतपुर महानगरपालिकामा निर्वाचन भएको २ महिना २० दिनपछि प्रमुख उपप्रमुखसहित जनप्रतिनिधि चयन भएका छन्। ३१ वैशाखमा भएको निर्वाचनको १४ जेठमा मतगणनाका क्रममा मतपत्र च्यातिँदा लामो समय जनप्रतिनिधिहरु निर्वाचित भएर पनि काम गर्न पाएनन्। प्रमुख उपप्रमुख चयनसमेत रोकिएको थियो।

अब विकासको मूल फुट्ने जनताको आशा

शनिबार २१ साउनमा जनप्रतिनिधिहरुले पूर्णता पाएसँगै स्थानीयहरुले विकासको मूल फुट्ने आशा व्यक्त गरेका छन्। उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष राजन गौतम २० वर्षपछिको यो समयलाई अवसरको रुपमा लिएर समृद्ध महानगर बनाउन लाग्नुपर्ने बताउँछन्।

चुनावी नारा र घोषणापत्रलाई सही रुपमा कार्यान्वयन गर्नुपर्ने भन्दै गौतमले वस्तुगत विष्लेषण गरेर विकासमा लाग्न सुझाव दिए। ‘दुईघन्टा पानी परेमा सडक र खोला छुट्याउन नसक्ने हाम्रो महानगर छ, गौतमले थपे,उद्योग, सडक, जमिनको संरक्षण तथा पर्यटन पूर्वाधार र विकासलाई प्राथमिकतामा पार्नुपर्छ।’

चितवन नेपालकै मध्यविन्दु हो। पूर्वदेखि पश्चिमका मानिसहरुको बसोवास चितवनमा छ। बसाइँ सरेर विभिन्न जिल्लाका मानिस चितवन आउँछन्। यति राम्रो क्षेत्र हुँदाहुँदै यहाँ जमिनको सही उपयोग हुन सकेको छैन, जलस्रोतको उपयोग, उद्योगको विकास, सम्भावना बोकेको पर्यटन क्षेत्रमा पूर्वाधार अभाव छ।

प्लटिङले जमिन खण्डीकरण भइरहेको छ। यस्ता विषयमा महानगर र नगरप्रमुखले विशेष ध्यान दिनुपर्ने गौतम बताउँछन्। चितवनमा दुईवटा मेडिकल कलेज, महत्वपूर्ण क्यान्सर अस्पताल, सुविधायुक्त भरतपुर अस्पताल छन्। दुई दर्जनबढी सुविधा उपलव्ध अन्य निजी अस्पताल छन्। राप्ती र नारायणी नदी छ।

कृषि तथा वन विज्ञान विश्वविद्यालय चितवनमै छ। नेपालकै संरक्षित क्षेत्रमा सबैभन्दा बढी पर्यटक आउने विश्व चर्चित चितवन राष्ट्रिय निकुञ्ज छ। स्रोत साधनले खानी भएको चितवन हो, सही रुपमा सदुपयोग भयो भने, साँच्चै समृद्ध पार्न सकिने भरतपुरका एकजना पर्यटन विज्ञ विश्व सुवेदी बताउँछन्। सुवेदीका अनुसार योजनाविहीन विकास हुनु मुख्य समस्या हो।

विज्ञवीच छलफल गरेर योजनाबद्ध रुपमा विकासका खाका ल्याउन सके आर्थिक स्रोतको पनि चितवनमा कुनै अभाव नभएको सुवेदीको भनाइ छ। भरतपुर महानगरले समग्र चितवनकै प्रतिनिधित्व गरेर काम गर्नुपर्ने उनी बताउछन्। चितवनमा एउटा गुरु योजना निर्माण भएको छ। त्यसलाई आधार मानेर मात्रै विकासका खाका ल्याउन सके पनि उपलब्धि हुने तर्क उनको छ।

रेणुसामु कस्ता छन् चुनौती?

चितवनको भरतपुर पूर्वाधार नभइकन महानगर भएको छ। एउटा रंगशालासमेत छैन, मुख्य सडकहरु साँघुरा छन्। मुख्य व्यापारिक केन्द्र नारायणगढ बजारकै सडक अव्यवस्थित छ। घना बस्तीमा उद्योग छ। आचारसंहिता अनुसारका भवन छैनन्। राजमार्गको स्तरोन्नति हुन सकेको छैन।

त्यसतर्फ महानगर प्रमुख उपप्रमुखको ध्यान जानुपर्ने व्यवसायीको धारणा छ। रत्ननगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष तथा एकजना सफल व्यवसायी ज्ञान बहादुर विसुराल देश विकासको आधार नै आर्थिक विकास भएकाले लगानीमैत्री वातावरणको खाँचो रहेको औंल्याउँछन्।

उनले अब स्थानीय तहलाई धेरै अधिकार दिएको र सरकारबाट पनि राम्रै बजेट आउने भएकाले आफ्नो ठाउँ आफैं बनाऔं भनेजस्तो गरी काम गर्न नगरप्रमुखलाई सुझाव दिए।

के भन्छिन् महानगरप्रमुख रेणु?

भरतपुर महानगरकी प्रमुख रेणु दाहाल विकासका दृष्टिले चितवन जिल्ला प्रचुर सम्भावना रहेको क्षेत्र रहेको बताउँछिन्। देशकै एउटा वैकल्पिक राजधानी बनाउने हैसियत भरतपुर महानगको रहेको उनको भनाइ छ।

उनको चुनावी नारा पनि देशकै एउटा समृद्ध, सुन्दर, शान्त, हराभरा, आधुनिक र व्यवस्थित सहर बनाएर लैजाने भन्ने थियो। जितपछि पनि उनले ती एजेण्डालाई दोहोर्याउँदै समृद्ध महानगर बनाउने प्रतिबद्धता जनाएकी छन्।

चितवन जिल्लामा सात स्थानीय तह छन्। एउटा महानगर तथा इच्छाकामना गाउँपालिका र रत्ननगर, खैरहनी, राप्ती, कालिका र माडी गरी पाँच नगरपालिका छन्। महत्वपूर्ण विषयमा भने सबै स्थानीय तहले एकीकृत रुपमा कार्यक्रम गर्न सके प्रभावकारी हुने स्थानीयको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.