|

इलाम : सरकारको पछिल्लो सर्वेक्षणले लोपोन्मुख रेडपाण्डा नेपालको २३ जिल्लामा पाइने पुष्टि गरेको छ। रेडपाण्डा नेटवर्कले ३५ जिल्लामा एक महिना लगाएर गरेको सर्वेक्षणले मुलुकको पश्चिमी क्षेत्रमा रेडपाण्डा (हाब्रे) को बासस्थान बढी रहेको समेत पहिचान गरेको हो।

सर्वेक्षणको नेतृत्व गरेको ‘रेडपाण्डा नेटवर्क’ का संरक्षण व्यवस्थापक डम्बर विष्टले रेडपाण्डाको उपस्थिति, तिनको वासस्थान आहार र प्रजातिबारे नयाँ तथ्य पत्ता लागेको बताए। ‘यसअघि गफकै आधारमा हाब्रेबारे व्याख्या गरिन्थ्यो,’ विष्टले भने, ‘अहिलेको अध्ययनले हाब्रे कहाँ कहाँ पाइन्छ भन्ने पुष्टि भएको छ।’ विष्टसहित ४० जना जीवशास्त्रीहरु संलग्न भएर गरेको सर्वेक्षणले २३ जिल्लाका साविकका ६४ गाविसमा यो वन्यजन्तु पाइने पत्ता लगाएको छ।

कुन कुन २३ जिल्लामा पाइन्छ रेडपाण्डा?

वन मन्त्रालयले ‘हरियो वन कार्यक्रम’ को सहयोगमा पहिलो पटक रेडपाण्डाको सर्वेक्षण गरेको हो। सर्वेक्षणले ताप्लेजुङ, पाँचथर, इलाम, संखुवासभा, सोलुखुम्बु, खोटाङ, भोजपुर, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, धादिङ, लमजुङ, म्याग्दी, बागलुङ, रोल्पा, रुकुम, जाजरकोट, जुम्ला, मुगु र कालिकोटमा रेडपाण्डाको उपस्थिति रहेको देखाएको छ।

डोल्पा, लमजुङ र भोजपुरमा यसअघि, नदेखिएको ठाउँमा पनि रेडपाण्डा भेटिए। दार्चुला, डोटी, बझाङ, अछाम, बाजुरा, मनाङ र गोरखामा यसअघि, पाइएका ठाउँमा यसपटक रेडपाण्डा नभेटिएको विष्टले उल्लेख गरे। २ हजार मिटरभन्दा बढी उचाइमा पाइने रेडपाण्डा निकुञ्ज ऐनमा संरक्षित सूचीको वन्यजन्तु हो।

साइटिसको अनुसूची १ र आइयुसिएनको रातो किताबमा अति संकटापन्न सूचीमा सूचीकृत छ। मुलुकभर १६ हजार ३ सय १६ वर्गकिलोमिटर क्षेत्रमा रेडपाण्डाको वासस्थान रहेको पनि पत्ता लागेको छ। त्यसमध्ये सबभन्दा बढी ४६ प्रतिशत पश्चिम, २८ प्रतिशत पूर्व र २६ प्रतिशत मध्य क्षेत्रमा रेडपाण्डाको वासस्थान रहेको पाइएको छ। विष्टका अनुसार यसअघि मध्य भागमा बढी रेडपाण्डा रहेको बताइन्थ्यो

यो सर्वेक्षणले रेडपाण्डाको ७५ प्रतिशत वासस्थान निकुञ्ज÷आरक्ष वा संरक्षित क्षेत्र बाहिर र २५ प्रतिशत संरक्षित क्षेत्रभित्र रहेको देखाएको छ। ‘सर्वेक्षणले संरक्षण क्षेत्रभित्र भन्दा बाहिरी क्षेत्रमा यो जन्तुको संरक्षणमा जोड दिनुपर्ने देखाएको छ,’ उनले भने। अध्ययनकर्ता विष्टले १७ प्रकारका बाँस र निगालो प्रजाति रेडपाण्डाको मुख्य आहार भएको पनि पुष्टि भएको बताए।

कस्तो हुन्छ रेडपाण्डाको स्वभाव?

रेडपाण्डाको संख्या पत्ता लगाउन अनुसन्धानकर्ताहरुले रेडपाण्डा पाइने विभिन्न जिल्लाबाट ३ सय ५० वटा दिसाको नमुना काठमाडौं लगेर परीक्षण गरेको थियो। यसअघि नेपालमा २ सय ६१ देखि १ हजारसम्म हाब्रे पाइने अनुमान गरिएको थियो।

हेर्दै आकर्षक देखिने र लजालु स्वभावको यो जन्तु सोझो तथा हलुका रातो, सेतो र कालो रंगको हुन्छ।  विकास निर्माण,परम्परागत पशु प्रणाली,वासस्थान विनास,कुकुरको आक्रमण, आहाराको विनाश अन्य जनावरका लागि थापिने पासो, अवैध व्यापार जस्ता गतिविधिले लोप हुने अवस्थामा पुगेको विन्नि अध्ययनमा उल्लेख छ। रुखको खबटामा बस्न चाहने पाण्डाको आहारा मालिङ्गोको पात र टुसा हो। सन् १९९६ मा डा. प्रह्लाद योञ्जनले तीन सयको संख्यामा रेड पाण्डा भएको अध्ययनमा देखाएका थिए।

रेड पाण्डा संरक्षणमा जुटेका डब्लु डब्लु एफ नेपाल र स्थानीय संस्थाहरुले छिटपुट रुपमा संरक्षणका क्रियाकलाप गर्दै आएका छन्। गैरसरकारी संस्थाको पहलपछि नेपाल सरकार पनि यसमा सहभागी हुन थालेको रेडपाण्डा नेटवर्कका डम्बर विष्टले बताए। रेडपाण्डा इलामका जोगमाई, जमुना, माईपोखरी, मावु, माईमझुवा पाँचथरका सिदिन, प्राङ्गबुङ्ग, मेमेङ्ग च्याङ्गथापु, फलैचा र लुङ्गरुपामा पाइने रेडपाण्डा नेटवर्कको अध्ययनमा उल्लेख छ। ‘नेपालमा पाइने रेडपाण्डा भारतको दार्जीलिङ्ग, सिक्किम, अरुणाचल प्रदेश, भुटान, चीन र म्यानमारमा समेत पाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.