|

उदयपुर : उदयपुरको त्रियुगा नगरपालिका गाईघाट बजारभित्र रहेको एक प्रहरी बिटमा कुकुर र जँड्याहाको बास हुने गरेको छ। गाईघाट बजारको बेल्टार चोकमा रहेको एक नम्बर प्रहरी बिटमा कुकुर जडियाको वास हुने गरेको हो।

गाईघाट बजारको असरी जाने बाटोमा पर्ने पिजिचोकमा अर्थात् बेल्टार चोकको प्रहरीमा स्थानीय तहको निर्वाचनसम्म प्रहरीले बिटमा बसेर ड्युटी गरे पनि अहिले आफ्नो ड्युटी छाडेको छ।

‘राती प्रहरी बिटमा कुकुरको वास हुन्छ’ स्थानीय रामा मगरले भनिन्, ‘कहिलेकाहीँ दिउँसै पानी परेका बेला जडियाको बास हुन्छ।’ मगरका अनुसार प्रहरी नबसेकाले जँड्याहाहरु आएर प्रहरीको कुर्सीमा बस्ने र छेउमै लम्पसार परेर सुत्नेसमेत गरेका छन्।

१७ पुस ०७३ मा साविकको त्रियुगा नगरपालिका २ हालको ११ नम्बर वडामा स्थानीय सर्वसाधरणले पैसा संकलन गरेर प्रहरी बिट स्थापना गरेका थिए। पुरानो गाईघाट र प्रगति टोलका टोल विकास संस्थामा आबद्ध स्थानीयले २२ हजार रकम संकलन गरेर प्रहरी बिट बनाएको निर्माण समितिका सचिव शिव खड्काले बताए। ‘अहिले प्रहरी बिटमा प्रहरी देख्न औंशी पूर्णे कुर्नुपर्दछ,’ उनले भने, ‘हामीले पैसा उठाएर बनाएको प्रहरी बिट पसल गर्नेलाई भाडामा दिए पनि भएको छ।’

सर्वसाधारणले सुरक्षाको अभाव महसुस गरेर स्थापना गरिएको विटबाट ‘प्रहरी बिट नम्बर १’ नाम दिई जिल्ला प्रहरी कार्यालय उदयपुरका तत्कालीन डिएसपी ओमबहादुर रानामगरले उद्घाटन गरेका थिए। अहिले एसपीको पदमा बढुवा भएका तत्कालीन डिएसपी रानामगरले गाइघाटको पीपलचौक, आँखा हस्पिटल चोक, मुख्य चोक, बोक्से बरगाछिचौक लगायतका ठाउँमा पनि प्रहरी बिट विस्तार गर्दै उद्घोष गरेका थिए।

गाईघाट विस्तारै सहरी क्षेत्रमा विकास हुँदै गएकाले  प्रहरीको ड्युटीको समयमा हावाहुरी, पानी परेमा प्रहरीलाई बस्नको लागि निर्माण गरिएको बिटमा अहिले प्रहरीको लागि नभएर कुकुर जँड्याहाको लागि सावित भएको छ।

सरुवा भएर काठमाडौं जान लागेका हालका जिल्ला प्रहरी कार्यालय प्रमुख नरबहादुर केसीले आज बल्ल यो विषयमा जानकारी पाएको तत्कालै प्रहरी बिटमा आएर बस्न लागाउने बताए। ‘म त सरुवामा भएर एक/दुई दिनमै जाँदै छु,’ एसपी केसीले भने, ‘आजैबाट प्रहरी राख्न लागउने छु।’ प्रहरीले बिट छाडेर हवाईफिल्डको रंगशाला क्षेत्रमा भएको बजारमा ड्युटी गर्ने गरेको पनि उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.