|

तनहुँ : जिल्लाको भानु नगरपालिकाको चालु आर्थिक वर्ष २०७४/०७५ का लागि ५२ करोड ४७ लाख ३३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। पहिलो नगरसभामा नगर प्रमुख उदयराज गौलीले आइतबार कृषि,पर्यटन र पूर्वाधारमा जोड दिँदै बजेट प्रस्तुत गरेका हुन्।

नगरको बजेटमध्ये पुँजीगत तर्फ २३ करोड ९९ लाख ६८ हजार र चालु तर्फ २८ करोड ४७ लाख ६५ हजार रहेको छ। त्यस्तै सशर्त अनुदानमा २४ करोड २९ लाख ८९ हजार, समानीकरण अनुदानमा २४ करोड ८४ लाख  ६४ हजार रुपैयाँ बजेट रहेको नगर प्रमुख गौलीले जानकारी दिए।  

जसमध्ये शिक्षामा २१ करोड ११ लाख ६५ हजार, स्वास्थ्यमा २ करोड  ९३ लाख ८५ हजार, कृषि तथा पशुसेवा विकासमा २४ लाख ३९ हजार विनियोजन गरिएको छ। विकास कार्यक्रम पूर्वाधार विकासमा १० करोड ३३ लाख ३० हजार, सामाजिक विकासमा २७ करोड १५ लाख ३४ हजार, आर्थिक विकासमा ९५ लाख ९५ हजार, वातावरण तथा विपद व्यवस्थापनमा १ करोड ७२ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको नगर प्रमुख गौलीले जानकारी दिए।

त्यस्तै सेवा प्रवाहमा ४ करोड ६६ लाख २७ हजार र सडक मर्मत् सम्भारका लागि ७० लाख रुपैयाँ विनियोजन गरिएको छ। प्रमुख गौलीले सबै भूगोल जातजाति, धर्म, संस्कृतिलाई समान व्यवहार र सम्मान गर्दै बजेट ल्याएको बताए।

नगरको बजेटले 'कृषि, पर्यटन, उद्योग, साहित्य एवं पूर्वाधार, सभ्य, समुन्नत एवं समृद्ध भानु निर्माणको आधार' भन्ने नारा तय गरेको छ। उपलब्ध स्रोत साधनको उपयोग गरी रोजगारी वृद्धि गर्ने, कृषिमा विविधिकरण, आधुनिकीकरण र व्यवसायीकरणमार्फत् उत्पादकत्व बढाई गरिबी न्युनीकरण गर्ने उद्देश्य नगरपालिकाले लिएको छ।

नगरपालिकाले भानुको जन्मस्थल चुँदी रम्घा, भानु संग्रहालय, थानीकोट, मिर्लुङकोट, कृपेश्वर महादेव मन्दिर, कोट गाउँ, मैवलकोट, थानीमाई लगायतका ऐतिहासिक र धार्मिक स्थलमा पर्यटन विकास गर्न होमस्टे सञ्चालन र भ्युटावर निर्माणलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।

नगरपालिकाले आधुनिक र व्यवसायिक कृषि प्रणालीलाई अगाडि बढाउन किसान लक्षित कार्यक्रमलाई मुख्य प्राथमिकतामा राखेको छ। प्रत्येक वडामा खानेपानी, शिक्षा, स्वास्थ्य, यातायात तथा विद्युत सेवा बिस्तार गर्ने नगरप्रमुख गौलीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.