|

काठमाडौं : नेकपा एमालेको युवा संगठन युवा संघ नेपालको नवौं महाधिवेशन असोज २२ देखि २४ गतेसम्म काठमाडौंमा गर्ने मिति तय गरिएको छ। आइतबार काठमाडौंमा भएको स्थायी समितिको बैठकले महाधिवेशनको मिति तय गरेको हो। एक पटक मिति तय गरेर पनि स्थगित भएको युवा संघको यो दोस्रोपटक महाधिवेशन तोकिएको हो।

प्रत्येक ३/३ वर्षमा हुनुपर्ने महाधिवेशन २०६९ सालयता हुन सकेको छैन। यसअघि २०७३ माघ २३ देखि २५ गतेसम्म बसेको केन्द्रीय समिति बैठकले २०७४ वैशाख ९ देखि १२ गतेसम्म हेटौंडामा महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकेपछि युवा संघले महाधिवेशन स्थगित गरेको थियो।

युवा संघभित्र मातृ पार्टी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका दुई गुट छन्। केपी ओली पक्षको नेतृत्व संघका अध्यक्ष राजीव पहारी र नेपाल पक्षको नेतृत्व उपाध्यक्ष दिलु पन्तले गरेकी छन्। तर आइतबार दुबै गुट एक भएर महाधिवेशन मिति तय गरेपछि युवा संघभित्र चुनावी सरगर्मी बढेको छ। संघभित्रको विवाद समाधान भएकाले तोकिएको समयमा नै महाधिवेशन हुने संघका उपाध्यक्ष रमेश पौडेल बताउँछन्।

महाधिवेशन बिना फेरिए २ अध्यक्ष

प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको नाममा स्थापित एमालेको युवा संगठनको नाम सिरहाको लाहानमा भएको सातौं राष्ट्रिय महाधिवेशनबाट परिवर्तन गरी युवा संघ नेपाल राखियो। यो महाधिवेशनबाट महेश बस्नेत अध्यक्ष निर्वाचित भएका थिए। २०६९ फागुन ११देखि १५ गतेसम्म बुटबलमा भएको आठौं महाधिवेशनबाट पनि बस्नेत अध्यक्षमा चयन भए। त्यसपछि भने संघको महाधिवेशन भएको छैन। तर बस्नेतपछि निरु पाल र राजीव पहारी अध्यक्ष भइसके।

बस्नेत २०७१ सालमा उद्योग मन्त्री भएपछि उपाध्यक्ष निरु पाललाई अध्यक्षको जिम्मेवारी दिइयो। तर निरु पाललाई माधव नेपाल पक्षले स्वीकार नगरेपछि लामो समयसम्म समानान्तर गतिविधिहरु भए। २०७२ कात्तिकमा युवा संघका इञ्चार्ज शेरधन राईको पहलमा बसेको केन्द्रीय समितिको बैठकमा निरुले राजिनामा दिइन्। त्यसपछि २०७२ को कात्तिकमा नै उपाध्यक्ष राजीव पहारीको संयोजकत्वमा युवा संघ पुनर्गठन गरियो। पहारीले नेतृत्व लिएपछि पनि संघभित्र विवाद यथावत नै रह्यो भने महाधिवेशनको मिति पनि तोकियो।

पछिल्लो समय हेटौंडामा तोकिएको युवा संघको नवै महाधिवेशन पनि विवाद मुक्त हुन सकेन। ०७३ माघको बैठकले वैशाखमा हेटौंडामा महाधिवेशन तोकेको केही दिन नै पारेर माधव नेपाल पक्षले पनि चितवनमा महाधिवेशनको घोषणा गर्‍यो। अहिले भने दुबै पक्ष महाधिवेशन गर्ने पक्षमा एकमत भएको उपाध्यक्ष रमेश पौडेलको भनाई छ।

संघका महासचिव किरण पौडेल संगठनले सर्वसम्मत रुपले महाधिवेशनको मिति तय गरेको र तयारी पनि भइसकेका कारण असोजमा तोकिएको नवौं महाधिवेशन तोकिएकै मितिमा हुने बताउँछन्। 'हाम्रो संगठन यति ठूलो छ, ठूलो संगठनमा केही विवाद नहुने भन्ने हुँदैन। तर अहिले हामी सबै समस्या समाधान गरेर आएका छौं। तोकिएको मितिमा नै महाधिवेशन हुन्छ। यसमा कुनै दाँयाबाया हुने सम्भावना छैन। महाधिवेशन हुन्छ।'

संघकी उपाध्यक्ष दिलु पन्त पनि सहमतिमा नै महाधिवेशनको मिति तय भएको बताउँछिन्। 'पहिलोपटक तोकिएको महाधिवेशनको मिति स्थानीय चुनावको कारण स्थगन भएको हो। अब हामी महाधिवेशन तयारीमा होमिइसक्यौं तोकिकएकै समयमा महाधिवेशन हुन्छ' पन्तले भनिन्, 'यसबीचमा हामी सबै मिलेर आएका छौं। महाधिवेशनका लागि पनि हामी मिलेर नै सम्पूर्ण तयारीहरु गर्नेछौ।'

नेतृत्वमा को कसको दावी?

देशभर करिब २४ सय सदस्य रहेको युवा संघको १ सय ७६ सदस्यीय केन्द्रीय समिति छ। पार्टीभित्रको दुई गुटको छाया स्पष्ट रुपमा रहेको संघको महाधिवेशनको तयारी पनि दुई समुहमै विभाजित भएर भएको छ। सातौं महाधिवेशनबाट शुरु भएको मतदानबाट नेतृत्व छनौट गर्ने विधि यस पटक पनि जारी रहने देखिएको छ।

युवा संघको अध्यक्षका लागि हालका उपाध्यक्षहरु रमेश पौडेल, चन्द्र लामा र महासचिव किरण पौडेलले आकांक्षा राखेका छन्। माधव नेपाल पक्षबाट सचिवहरु नरेश शाही र मञ्जु यादव अध्यक्षका दाबेदार छन्।

महासचिवमा संस्थापन पक्षबाट सचिवहरु परशुराम बस्नेत, माधव बास्तोला, बच्चन सिंहको नाम चर्चामा छ भने नेपाल समूहबाट सचिवहरु हस्त शाही,  क्रान्ति बुर्लाकोटी, दीपक जिएमको नाम चर्चामा छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.