फिचर

नवीकरणीय ऊर्जाले फेरिँदै महिलाको जीवन
SHARES

साउन २३, २०७४
    • बुद्धकुमार आछामी-

    सिन्धुलीः छ महिनाअघिसम्म भालेको डाकसँगै जाँतो पिस्नु फिक्कल गाउँपालिका– २ पोखरीकी ३५ वर्षकी खिनाकुमारी पहाडीको दैनिकी थियो। उज्यालो हुँदा एक डालो सामल परम्परागत ढुंगाको जाँतोबाटै पिस्नु पर्दा उनका हात, पाखुरी र कम्मर दुख्ने समस्या हुन थालिसकेको थियो। त्यति मात्र होइन, साँझ बिहान सलेदोको टुकीकै उज्यालोमा धुवाँमा खाना पकाउनेलगायतका घरधन्दा गर्नुपर्ने बाध्यताले उनको स्वास्थ्यमा गम्भीर असर पर्दै गएको थियो। तर, हिजोआज पहाडीको दैनिकीसँगै जीवनस्तरसमेत फेरिएको छ। 

    गाउँमा स्थानीयकै पहलमा ग्रामीण लघुजलविद्युत संचालनपछि घरमा बिजुली बत्ती जडान गर्दै वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा आधुनिक प्रविधिको विद्युतीय मिल संचालन तथा सुधारिएको चुह्लो निर्माण गरिएपछि पहाडीको दैनिकीमा परिर्वतन आउन थालेको हो। 

    ‘गाउँमा बत्ती बलेपछि मेरो जीवनमा पनि उज्यालो छाउँदै गयो। अहिले आधारातमै उठेर जाँतो पिस्नुपर्दैन। घरमा बिजुली बत्ती जोडेकी छु’, पहाडीले खुसी साटिन्, ‘सुधारिएको चुह्लो बनाएपछि धुवाँमा बसेर घरभित्रको काम गर्नुपर्ने बाध्यताको पनि अन्त्य भएको छ।’ 

    गाउँमा सुधारिएको नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगले समयको बचतसँगै आम्दानीसमेत हुन थालेको उनी बताउँछिन्। ‘घरभित्रको धुवाँले खोकी लाग्ने, दम बढ्ने समस्या हुन्थ्यो। जाँतो पिस्दा ढाड, कम्मर दुःख्ने समस्या हुन्थ्यो’, उनले भनिन्, ‘तर, घरमा विद्युत जडानपछि परम्परागत कामहरूमा आधुनिकीकरण गरेका छौँ। यसले धेरै फाइदा पुगेको छ।’

    उनले आफ्नो परिवारमा यस्तो परिवर्तन ल्याएको छ महिना भयो। श्रीमानको सहयोगमा यो सबै गरेकी हुन् उनले। विद्युतबाट सञ्चालन हुने पिसानी मिलबाट मकै, कोदो, गहुँ पिस्नलाई सजिलो हुनुका साथै अरूको पिस्दासमेत आम्दानी हुन थालेको उनी बताउँछिन्। मेसिनबाट काम गर्दा स्वास्थ्यमा समेत सुधार आएको छ। धुवाँमा बस्नुपर्ने बाध्यताको अन्त्य हुँदा खोकी लाग्ने, दम बढ्ने, आँखा दुख्ने जस्ता समस्या पनि कम हुँदै गएको बताउँछिन् उनी। उनलाई मिल संचालन गर्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले अनुदान सहयोगसमेत गरेको छ।

    पहाडीको मात्र होइन, पछिल्लो समय जिल्लामा नवीकरणीय ऊर्जा प्रविधिहरूको जडानले महिलाहरूको जनजीविकामा परिवर्तन आउन थालेको छ। कमलामाई नगरपालिका– ५ संगमचोककी सीतामाया विकको जीवनमा पनि नवीकरणीय ऊर्जाले निकै परिवर्तन ल्याएको छ। दैनिक चार घण्टासम्म दाउरा संकलन गरेर घर व्यवहार चलाउँदै आएकी उनको घरमा गोबरग्यास प्लान्ट जडान गरेपछि उनको दैनिकीमा परिवर्तन आएको हो।

    दाउराकै लागि धेरैजसो समय बिताउने विक ग्यास जडानपछि घरमा विद्युत बाल्न र खाना पकाउन दाउराको प्रयोग गर्नुपर्ने बाध्यता हटेपछि बचेको समय तरकारी तथा फलफूल खेतीमा लगाएर आम्दानी गर्न थालेकी छन्। उनले दाउराकै लागि दैनिक खर्चनुपर्ने चार÷पाँच घण्टाको समयलाई तरकारी खेतीमा लगाउँदा महिनामै दश हजार रुपैयाँभन्दा बढी आम्दानी गर्न थालेकी छन्। विद्युतीय मोटर प्रयोग गरी पानी सिंचित गर्दै तरकारी खेतीबाट उनले यस्तो आम्दानी गर्न लागेकी हुन्।

    जिल्लामा सञ्चालनमा आएका लघुजलविद्युत, सुधारिएको चुह्लो, सुधारिएको पानी घट्ट, साना घरेलु सौर्य ऊर्जा प्रणाली, घरेलु वायोग्यास प्लान्टलगायतका नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगले महिलाहरूको जीविकामा परिवर्तन आउनुका साथै समयको बचत र खर्चमा नयुनीकरणसमेत हुन थालेको हो। ग्रामीण जलविद्युतले आफ्नो जस्तो गाउँका प्रायः सबै घरभित्र घरधन्दा गर्ने महिलाहरूको दैनिकीमा परिवर्तन ल्याएको पहाडी बताउँछिन्।

    जिल्लामा पछिल्लो समय नवीकरणीय ऊर्जा प्रविधिको प्रयोग गर्नेहरूको संख्यामा वृद्धि भएसँगै महिला तथा बालबालिकाहरूको स्वास्थ्यमा सुधार आउनुका साथै समयको बचत र आम्दानीको स्रोतसमेत बन्न थालेको हो। 

    जिल्लामा हालसम्म ४५ प्रतिशत घरधुरीमा नवीकरणीय ऊर्जा प्रयोग गरिएको छ। जिल्लाका कुल ५७ हजार ७०० घरधुरीमध्ये २९ हजार ९२९ घरधुरीमा नवीकरणीय ऊर्जा प्रयोग गरिएको जिल्ला विकास समिति सिन्धुलीको एक अध्ययनले देखाएको छ। 

    ग्रामीणस्तरमा लघुजलविद्युत, सुधारिएको पानी घट्ट विद्युतीकरण, घरेलु सौर्य विद्युत प्रणाली, साना घरेलु सौर्य विद्युत प्रणालीबाट विद्युत उत्पादन गरी बत्ती बाल्ने, विभिन्न घरेलु उद्योगहरू, मेसिनहरू सञ्चालन गर्दै दैनिक कार्यमा मेसिनद्वारा सञ्चालन गरी सुविधा लिन थालेको जिविसअन्तर्गत ऊर्जा तथा वातावरण शाखा सिन्धुलीका प्रमुख सन्दीप उपाध्याय बताउँछन्। उनका अनुसार जिल्लामा २५ हजारभन्दा बढी घरपरिवार राष्ट्रिय प्रसारण लाइनमा जोडिइसकेका छन्। 

    ‘वैकल्पिक ऊर्जाको व्यवस्था नहुँदा परम्परागत शैलीमै दैनिकी चलाउनुपर्दा स्वास्थ्यमा समस्या आउनुका साथै समय र लगानीमा समेत खर्च बढ्ने गरेकोमा नवीकरणीय ऊर्जाका कारण हिजोआज खर्चको बचत हुनुका साथै स्वास्थ्यमा समेत सुधार आउन थालेको छ’, उपाध्यायले भने। उनका अनुसार यसबाट सबैभन्दा धेरै महिला तथा बालबालिका र वृद्धवृद्धाहरूलाई फाइदा पुगेको छ। 

    वैकल्पिक नवीकरणीय ऊर्जा प्रविधिले परम्परागत चुह्लोमा खाना पकाउन दैनिक दाउरा संकलन गर्नुपर्ने, ढिकी–जाँतो चलाउनुपर्ने, दियालो, खोटो तथा मट्टीतेलमा सलेदोबाट बत्ती बाल्नुपर्ने, घरभित्र धुवाँमा गुम्सेर घरधन्दा गर्नुपर्ने बाध्यता हटाएको उनको पनि दाबी छ। 

    उता, यस्ता घरभित्रका कामहरू प्रायः महिलाहरूले नै गर्नुपर्ने बाध्यता हुने भएकाले वैकल्पिक नवीकरणीय ऊर्जाको प्रयोगले महिलाहरूको जीविका निर्वाहमा परिवर्तन ल्याउन मद्दत पुर्‍याउने प्रमुख उपाध्याय बताउँछन्। धुवाँका कारण विश्वमा प्रति २० सेकेन्डमा एक जनाको ज्यान जाने गरेको तर्क गर्दै उनले भने, ‘घरभित्रको धुवाँमा गुम्सेर घरधन्दा गर्ने धेरैजसो महिलाहरू भएकाले त्यसको असरमा महिलाहरू नै पर्ने गरेका छन्। तर, पछिल्लो समय नवीकरणीय ऊर्जाको प्रयोगमा वृद्धि आएसँगै नेपालमा भने महिलाहरूको जीविकोपार्जनमा सकारात्मक प्रभाव पर्दै जान थालेको छ।’ उनीहरूले नवीकरणीय ऊर्जाको प्रयोगले विभिन्न घरेलु व्यावसाय तथा उद्योगहरू समेत सञ्चालन गर्दै आम्दानी गर्न थालेको पनि उनले बताए। 

    जिल्लामा वैकल्पिक ऊर्जाको प्रयोगले महिलाहरूको स्वास्थ्यमा उल्लेखनीय सुधार आउने चिकित्सकहरू समेत बताउँछन्। घरभित्र र बाहिरको काम र धुवाँले महिला, बालबालिका तथा गर्भवती र सुत्केरी आमाहरूमा गम्भीर प्रकारका समस्याहरू देखापर्ने गरेको विभिन्न अध्ययनहरूले देखाएको भन्दै वैकल्पिक ऊर्जाको प्रयोगले त्यसमा सुधार ल्याउने उनीहरूको तर्क छ। 

    जिल्लामा लघुजलविद्युतबाट तीन हजार २३३ घरधुरी, सुधारिएको पानी घट्टबाट १८ हजार १५६ घरधुरी, साना घरेलु सौर्य ऊर्जा प्रणालीबाट १३९ घरधुरी, सामुदायिक सौर्य विद्युत पम्पबाट २२१ घुरधुरी, घरेलु बायोग्यास प्लान्टबाट आठ हजार ३९६ घरधुरी, सुधारिएको चुह्लोबाट १३ हजार ५७२ घरधुरीका महिलाहरूको जनजीविकामा सुधार ल्याएको जिल्ला समन्वय समिति सिन्धुलीले जानकारी दिएको छ। 

    जिल्लामा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र, ग्रामीण प्रविधि केन्द्र, जिल्ला विकास समिति, गरिवी निवारण कोषलगायतका संघसंस्थाहरूले नवीकरणीय ऊर्जाका क्षेत्रमा काम गर्दै आएका छन्।
     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]