|

झापा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको रुपान्तरित संसदले संविधान संशोधन  नै गर्न नसक्ने बताएका छन्। उनले आफै संविधान बनाउने र आफै पटक–पटक संशोधन गर्ने काम हुनै नसक्ने बताए। झापाको भद्रपुरमा सोमबार प्रेस चौतारी झापाले गरेको पत्रकार सम्मेलनमा ओलीले संशोधन गर्नैपर्ने भए नयाँ आउने संसदले गर्ने धारणा राखे।

उनले भने,‘ आफै संविधान बनाउने आफै संशोधन गर्ने यो कुनै पनि हालतमा हुँदैन, यो व्यवस्थापिका संसद त संविधानको कार्यन्वयनतर्फ लाग्नुपर्छ, संशोधन गर्नैपर्ने भए अर्को आउने संसदले गर्छ।’

सरकारले पटक पटक संशोधन गर्न खोजेर बखेडा झिकेको ओलीको आरोप छ। उनले भने,‘ बेला न कुबेला संविधान संशोधन किन गर्नुपर्‍यो?, संविधानले कसलाई विभेद गरेको छ र? कसैको स्वर्थको लागि कुनै पनि हालतमा एमालेले संशोधन गर्न दिँदैन।’

सबैलाई सहमतिमा ल्याउन एमालेले एक पटक संविधान संशोधन गरेको भन्दै पटक पटक गर्न नसकिने बताए। सरकारले पटक पटक संशोधन गर्न खोज्नुलाई उनले घरमा पालेको सुगाको व्यहोरासँग तुलना गरे। ‘ मेरो घर छेउको छिमेकीमा एउटा सुगा थियो, त्यो सुगाले मान्छे भए पनि नभए पनि गोपी कृष्ण ग भनिरहन्थ्यो, त्यस्तै सरकार सधै संविधान संशोधन भन्दै वसिरहन्छ’ उनले भने।

सरकारले केही बखेडा झिक्न नपाएकाले फेरि संविधान संशोधनको बखेडा झिकेको ओलीले आरोप लगाए। ‘ एक पटक संशोधन प्रस्ताव पेश गरेर किन फिर्ता लियो, फेरि केही काम नभएर त्यही संशोधनको बखेडा झिकेको हो’ उनले भने।

उनले संशोधनको बखेडा झिक्न छाडेर सडकका खाल्डा खुल्डी पुर्न सरकारलाई आग्रह गरे। उनले भने,‘ सडकका ढल ब्यवस्थित गर्न नसक्दा सर्वसाधरणले अकालमा नै ज्यान गुमाउनु परेको छ, त्यस कारण अब संशोधन नभन्नुहोस्, काम गर्न तर्फ लाग्नुहोस्, सडक बनाउनु भयो भने कम्तीमा जनताले सास्ती त भोग्न पर्दैन।’

सरकारले नै राजपालाई निर्वाचनमा ल्याउन चाहेन

एमाले अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले नै राष्ट्रिय जनता पार्टी नेपाललाई प्रदेश नम्बर २ को स्थानीय चुनावमा सहभागी गराउन नचाहेको आरोप लगाए। ओलीले भने,‘ राजपा सहभागी भएन भने सत्ता गठबन्धनलाइ नै त्यो मत आउँछ भन्ने भ्रम छ, तर जनताले अब त्यस्तो गर्दैनन्।’

उनले राजपालाई पनि निर्वाचनमा सहभागी हुन आग्रह गरे। उनले भने,‘ ६ वटा प्रदेशमा त निर्वाचन सम्पन्न भएकै छ, अब २ नम्बरमा पनि हुन्छ, तपाईहरुले सहभागिता जनाउनुभएन भने पनि निर्वाचन हुन्छ।’

भरतपुरमा सत्ता गठबन्धनको जित भन्न मिल्दैन

भरतपुर महानगरपालिका प्रमुखमा नेपाली कांग्रेसको समेत समर्थन प्राप्त नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहालले जितेकोप्रति टिप्पणी गर्दै ओलीले यसलाई सत्ता गठबन्धनको जित भन्न नमिल्ने बताए। ‘भरतपुरमा सत्ता गठबन्धनको जित भएको होइन उनीहरुले सत्ताको चरम दुरुपयोग गरेका हुन्, यसलाई जित भनियो भने जित शब्दकै बेइजज्त हुन्छ’ उनले भने।

अध्यक्ष ओलीले आफूहरुले अदालतको निर्णयलाई सधै सम्मान गर्ने बताए। उनले भने,‘ यहाँ सत्ताको दुरुपयोग त भएको छ तर हामी अदालतको सम्मान गर्छौं, त्यसकारण निर्वाचनमा सहभागी भएर मत परिणाम स्वीकार गरेका हौं।’

ओलीले सरकारले पटक–पटक राज्य सत्ताको दुरुपयोग गरेको आरोप लगाए। प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्तादेखि प्रहरी महानिरिक्षक छनोटमा पनि सरकारले हस्तक्षेप गरेको उनले बताए।

स्थानीय तहको मत परिणामप्रति असन्तुष्ट

उनले ६ वटा प्रदेशमा भएको निर्वाचनको मत परिणाम प्रति ओलीले असन्तुष्टी जनाएका छन्। उनले नीतिगत स्पष्टता र पछिल्लो समयमा पार्टीको भूमिकाका आधारमा सोचे जस्तो परिणाम नआएको बताएका छन्। उनले समग्रमा पार्टीले ४५ प्रतिशत सिट जिते पनि सन्तुष्ट हुने ठाउँ भने नरहेको बताए। उनले भने,‘ हामीले सोचे जस्तो परिणाम आएको छैन, बहुमत पुग्छ भनेको पुगेन, तर अन्य पार्टीले ल्याएको मतमा मलाई आश्चर्य लागेको छ, राष्ट्रको हित विपरित काम गर्दा पनि राम्रै परिणाम ल्याए।’

ओलीले झापामा पनि एमालेले ल्याएको परिणाममा चित्त बुझाउन नसकिने बताए।‘ झापामा हामीले बहुमत ल्याउछौं भन्ने सोचेको थियौं, तर १५ वटा मध्ये ७ वटामा मात्र जित्यौं, यसमा सन्तुष्ट हुने ठाउँ छैन, यसको समीक्षा जिल्लाका नेताहरुले नै गर्नुहोला’ उनले भने।

एमाले विरुद्ध भ्रम छर्दा समेत सकेनन् : महासचिव पोखरेल

पत्रकार सम्मेलनमा बोल्दै एमाले महासचिव ईश्वर पोखरेलले एमाले विरुद्ध अरु पार्टीले जस्तोसुकै षड्यन्त्र जित्न नसकेको बताएका छन्। अहिले पनि प्रदेश नम्बर २ मा एमालेलाई हराउन  बिभिन्न षड्यन्त्र भइरहेको उनले दावी गरे। उनले भने,‘ हामीलाई हराउन एउटा अपवित्र महागठबन्धन लागि परेको छ, तर अब हामीलाई कसैले हाराउन सक्दैन, २ नम्बर प्रदेशको निर्वाचन तथा प्रदेश र संघीय तहको निर्वाचनमा पनि हामी एक नम्बर पार्टीनै बन्छौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.