|

रुपन्देही : नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रदेश र प्रतिनिधि सभाको निर्वाचन एकैपटक गर्न प्रमुख दलहरुबीच छलफल भइरहेको बताएका छन्। 
सोमबार बुटवलमा पत्रकारहरुसँग कुराकानी गर्दै पुनले दुवै निर्वाचन एकै पटक गर्न निर्वाचन आयोग पनि सकारात्मक रहेको बताए। 

माओवादी केन्द्रको पाँच नम्बर प्रदेशको सचिवालय बैठकमा बुटवल आएका पुनले पार्टीले आगामी निर्वाचनको तयारी तीब्र रूपमा अघि बढाएको जानकारी दिए। निर्वाचन तयारीकै लागि साउन २६ गते अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुको सहभागितामा बुटवलमा प्रशिक्षणात्मक भेला आयोजना गरिएको उनले बताए।

माओवादी केन्द्रले यसअघि दुईवटा संविधानसभा चुनावमा भाग लिए पनि स्थानीय निर्वाचनको अनुभव पहिलो भएको पुनको भनाइ छ। चुनाव जित्नको लागि संगठन, संघ संस्थाहरुसंगको सम्बन्ध र व्यक्तित्व पनि महत्वपूर्ण रहेको भन्दै पुनले सम्पूर्ण पार्टीपंक्ति चुनावी परीक्षाबाट प्रशिक्षित भएको बताए। पार्टीबाट निर्वाचित भएका जनप्रतिनिधिहरुलाई अब काममा प्रतिष्पर्धा गर्न प्रशिक्षित गर्न लागिएको पुनको भनाइ छ।

निर्वाचनमा माओवादी केन्द्र पहिलो हुन नसके पनि निर्णायक तहमा रहेको भन्दै पुनले आगामी निर्वाचनमा पार्टीले राम्रो नतिजा ल्याउने दाबी गरे। अस्थिर सरकारका कारण मुलुकमा समस्या देखिएको भन्दै पुनले कार्यकारी प्रमुखको विषयलाई माओवादी केन्द्रले पुनः जोड दिन लागेको बताए।

संविधान संशोधनको प्रसंगमा पुनले मधेसी मोर्चा सकारात्मक भएका बेला संशोधन प्रस्ताव पेश गरिने बताए। सीमांकनको विषयमा आयोग बनाएर टुंगो लगाउने र अन्य विषय संसदमा प्रस्तुत गर्न मोर्चा तयार भए तत्कालै संशोधन प्रस्ताव प्रस्तुत हुने पुनले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.