न अंकगणितको हिसाब, न राजनीतिको हिसाब

|

काठमाडौँ: २०७३ साल साउन महिना नयाँ सरकारको गठन र बिस्तार, दुई राप्रपाबीचको एकता र स्थानीय तहको निर्वाचन चर्चाको विषय बनेको थियो। यसैबीच दुई राप्रपामा भने एकीकृत भएर स्थानीय तहको निर्वाचनमा शक्ति देखाउने विषय छलफलको विषय बन्यो। परिणाम स्वरूप २०७३ साउन ११ र १२ गते राप्रपा र राप्रपा नेपालको छुट्टाछुट्टै बसेको केन्द्रीय कार्यसमितिको बैठकले एकताको आधारपत्र र नीतिहरू तय गर्‍यो। दुवै पार्टीबीच साउन २५ गते एकताको घोषणासभा गर्ने संयुक्त विज्ञप्तिसमेत निकाले।

तर, एकता हुने भनिएको साउन २५ गते एकता हुन सकेन। दुई राप्रपा मिलाउन निकै मिहिनेत गरिरहेका थिए, पशुपतिशमशेर नेतृत्वको राप्रपामा भएका नेता तथा पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द।

एकता गर्ने पहिलो प्रयास सफल हुन नसके तापनि दोस्रो प्रयासमा भने एकता सफल भयो। २०७३ कात्तिक ३० गते दुई पार्टीबीचको एकताको निर्णय भयो। फागुन ६ गते एकताको महाधिवेशन गरियो।

तर आइतबार मात्रै नयाँ दल दर्ता गरेका पशुपतिशमशेर जबराले त्यो एकतामा जानुका पछाडि केही पश्‍चाताप भएको र अहिले विभाजन आवश्‍यकता भएको बताएका छन्। 

थियो त ऐतिहासिक अवसर?
दुई राप्रपाबीचको एकताको महाधिवेशनको क्रममा निकै जोसिलो भाषण सुनाए पशुपतिशमशेर जबराले। उनले कुनै व्यक्ति वा संस्थालाई इतिहासमा एक पटक राम्रो बन्नलाई ठूलो अवसर आउने र आफ्नो पार्टीलाई पनि आएको कुरा कार्यकर्ता र उपस्थितहरू माझ राखे यसरी, 'इतिहासमा एउटा साँच्चिकै ठूलो अवसर मानिस वा संस्थालाई आउँछ, आज त्यो अत्यन्त ठूलो र ऐतिहासिक अवसर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आएको छ।' विगतमा समेत विभिजित हुँदै जोडिँदै आएका राप्रपाहरूबीच यो उनले अन्तिम अवसरको रूपमा परिभाषित गरेको स्पष्ट हुन्थ्यो।

तर, दुई पार्टीबाट एक भएको राप्रपा करिब पाँच महिनाको बीचमै तीनवटा पार्टीको रूपमा विभाजन भएको छ। पहिलो पटक प्रकाशचन्द्र लोहनी बाहिरिए भने दोस्रो पटकान पशुपतिशमशेर राणा। अर्का नेता लोकेन्द्रबहादुर चन्द के गर्छन्, चर्चाको विषय बनेको छ।

राणाले भनेको त्यो ऐतिहासिक अवसर राप्रपामा सदुपयोग भएन। उनले ऐतिहासिक अवसर भन्दै गर्दा माग गरेको हलो चुनाव चिह्न पनि पाँच महिनाको अवधिमा बाहिरिनुपर्ने कारणमध्येको एक भएको समीक्षा राप्रपा प्रजातान्त्रिकको छ।

न अंकगणितको हिसाब, न राजनीतिको हिसाब!
महाधिवेशनकै क्रममा राणाले भनेका थिए, 'दुई प्लस दुई चार हुन्छ तर राजनीतिमा दुई प्लस दुई बाइस पनि हुन सक्छ। हामी बाइस बन्ने तयारीमा छौँ।'

तर राणाका यी दुवै आधारबाट हिसाब मिल्न सकेन। स्थानीय तहको निर्वाचन यसको आधार मानेको छ राणा नेतृत्वको राप्रपाले। 'तेस्रो शक्ति बन्ने भनेर हिँडेको हामी एक भएका थियौँ तर आज ठीक उल्टो छैटौँ शक्तितर्फ गयौँ', सोमबार पत्रकार सम्मेलनमा राणाले भने, 'अब त्यहीँ बस्दा थप कमजोर हुने स्थिति भयो।'

अब हुने राप्रपा प्राजातान्त्रिक मूलधारको राप्रपा हुने राणाको विश्वास छ। आफ्नो पार्टीमा आउनका लागि अन्य प्रजातान्त्रिक पार्टीहरूलाई पनि उनले आग्रह गरेका छन्।

एकतापछिको विभाजनले कसलाई फाइदा?
एकता हुनुपूर्व संसदमा २५ सिट भएको राप्रपा नेपाल संसदको चौथो ठूलो शक्ति थियो भने १२ सिट भएको राप्रपा छैटौँ ठूलो दल थियो। तर दुई राप्रपाबीच पुन: भएको विभाजनले कसलाई कति फाइदा, कति घाटा भन्ने विषयमा समीक्षा होला। सांसदहरूको संख्याको हिसाबले १२ सिट मात्रै रहेको राप्रपा अहिले राप्रपा प्रजातान्त्रिक भएपछि सांसदको संख्या १९ पुगेको छ। पहिलो थापा नेतृत्वको राप्रपाभन्दा संसदमा दुई स्थान तल रहेको राणा नेतृत्वको राप्रपा अहिले संसदमा ठूलो भएको छ।

कमल थापाका निकै नजिकका नेता मानिने राजाराम श्रेष्ठ प्रजातान्त्रिकमा आएका छन्। तर वरिष्ठ नेता लोकेन्द्रबहादुर चन्द राप्रपा प्रजातान्त्रिकमा आएका  छैनन्। स्थानीय तहको पहिलो चरणको निर्वाचनमा एउटा मात्रै गाउँपालिका अध्यक्ष जिताएको भनेर वाहवाही पाएका राप्रपामा सशक्त नेताको रूपमा चिनिएका बुद्धिमान तामाङ कमल थापा नेतृत्वकै राप्रपामा बसेका छन्।

त्यस्तै, प्रकाशचन्द्र लोहनीले 'राप्रपा राष्ट्रवादी' नामक आफ्नै पार्टी गठन गरेका छन्। यसलाई कसरी हिसाब गर्छ राप्रपा प्रजातान्त्रिकले, उसकै कुरा हो।

सांसदको हिसाबले घाटा व्यहोरेको थापा नेतृत्वमा थापापछिको नेताको अभाव खड्किएको थियो। तर अहिलेसम्म पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द उनकै पक्षमा छन् भने बुद्धिमान तामाङलगायतका केही युवानेतासमेत थापा नेतृत्वकै राप्रपामा रहेका छन्।

अब कस्तो राप्रपा प्रजातान्त्रिक?
अहिले देखिएका तीन राप्रपामध्ये संसदमा अब राणा नेतृत्वकै राप्रपा प्रजातान्त्रिक सबैभन्दा ठूलो भएको छ। त्यसैले होला, राणाले मूलधारको राप्रपा आफ्नो पार्टीलाई भनेका छन्। तर राप्रपा प्रजातान्त्रिकको अबको एजेण्डा के? भन्ने विषयमा निर्णय दिन भने सकेका छैनन्। राजतन्त्रात्मक गणतन्त्र वा गणतन्त्र अब पार्टी बैठक बसेर निर्णय लिने बताउँछन् राणा। आफूले नेतृत्व गरेको पार्टी राष्ट्रवादीहरूको पार्टी भएको दाबी गरेका राणाले उनको पार्टी के कारणले अरूभन्दा राष्ट्रवादी भनेर पुष्टि गर्न सकेका छैनन्।

त्यस्तै, सत्ताको खेलमा एकीकृत राप्रपाले तराईसँगको सम्बन्ध राम्रो नबनाएको निचोड निकालेको राप्रपा प्रजातान्त्रिकले अब तराईसँगको नीति कस्तो ल्याउँछ, हेर्न बाँकी नै छ।

यो पनि पढ्नुस्

राप्रपा एकताको अर्थ र चुनौती

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.