|

विराटनगर : साउन महिनाको अन्तिम हुन लाग्दा समेत पूर्वाञ्चलको तराईमा धान रोपाई सन्तोषजनक हुन नसकेको पाइएको छ।

पहाडी र मध्य पहाडी क्षेत्रमा पनि गत वर्षको तुलनामा धान रोपाई राम्रो हुन सकेन। पर्याप्त पानी नपर्नु र सिंचाईको अभावका कारण रोपाई उत्साहजनक नदेखिएको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका सूचना तथा वरिष्ठ कृषि प्रसार अधिकृत राजेन्द्र उप्रेतीले बताए।

तथ्यांक अनुसार उच्च पहाड ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा ८८.७४ प्रतिशत धान रोपाई भएको छ। यस्तै मध्य पहाड इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुंगा, खोटाङ र उदयपुरमा ८१.२७ प्रतिशत र तराईको झापा, मोरङ, सुनसरी, सिरहा र सप्तरीमा ७०.५८ प्रतिशत धान रोपाई भएको छ।

अन्न भण्डार मानिने तराईको झापामा ८२ प्रतिशत मात्रै धान रोपाई भएको छ। अघिल्लो वर्ष यही समयमा झापामा झण्डै ९० प्रतिशत धान रोपाई भएको थियो। यस्तै मोरङमा भने ६५ प्रतिशत मात्रै रोपाई भएको छ, साउनको अन्तिम र भदौको पहिलो हप्तासम्ममा थप २० प्रतिशत धान रोपाई हुने अनुमान कृषि कार्यालयको छ।

यता सिंचाईको असुविधा र पर्याप्त वर्षा नहुँदा सिरहामा भने अहिलेसम्ममा ५० प्रतिशत मात्रै धान रोपाई भएको छ। ‘गत वर्षको तुलनामा यो वर्ष पर्याप्त वर्षा नहुनाले धान रोपाईको प्रतिशत घटेको छ,’ उप्रेतीले भने, ‘रोपेको ठाउँमा पनि वर्षा नहुँदा राम्रो धान उत्पादन हुन नसक्ने र यस वर्ष धान उत्पादन समग्रमा विगत वर्षभन्दा कम हुने अनुमान छ।'

तराईमा भदौ पहिलो हप्तासम्म धान रोप्ने समय भएको कारण ९० प्रतिशत भन्दा बढी धान रोपाई हुने अनुमान कृषि कार्यालयको छ। यद्यपी त्यसका लागि पनि पर्याप्त वर्षा हुन आवश्यक छ।

तथ्यांक अनुसार अहिलेसम्म मध्य पहाडी जिल्ला पाँचथरमा सबैभन्दा बढी ९५ प्रतिशत धान रोपाई भएको छ भने सबैभन्दा कम धनकुटामा ६७ प्रतिशत मात्रै धान रोपाई भएको छ। यता तराईमा भने झापामा सबैभन्दा बढी ८२ प्रतिशत र सबैभन्दा कम सिरहामा ५० प्रतिशत मात्रै धान रोपाई भएको छ। मोरङमा ६५, सुनसरीमा ७८ र सप्तरीमा ७५ प्रतिशत धान रोपाई भएको छ।

समग्रमा पूर्वाञ्चलमा ७३. ८९ प्रतिशत अर्थात् ४ लाख ७८ हजार ५ हेक्टर क्षेत्रफलमध्ये ३ लाख ५३ हजार २ सय ९ हेक्टर क्षेत्रफलमा धान रोपाई भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.