|

दमकः झापाको दमकस्थित मुख्य चोकबाट फाल्गुनन्द चोकतर्फ जाने सडकमा जताततै खाल्डैखाल्डा हुँदासमेत सम्बन्धित निकायले चासो नदेखाएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्।

लामो समयदेखि यो सडकको अधिकांश ठाउँमा खाल्डाखुल्डी पर्दासमेत चासो नदेखाएको भन्दै स्थानीयहरू आक्रोशित बनेका हुन्। दमकको अत्यन्तै व्यस्त सहायक सडकअन्तर्गतको यो सडकमा जताततै खाल्डा पर्दा दुर्घटनाको जोखिमसमेत बढेको छ। तर यो सडक निर्माणमा अहिलेसम्म कसैले चासो नदेखाएको स्थानीयले गुनासो गरेका छन्। 

स्थानीय तहको निर्वाचनका बेला उम्मेदवारले सडक निर्माणको कामलाई प्राथमिकता दिने भन्दै प्रचार गरे पनि पिच भत्किएर कच्ची बनेको मुख्य बजारको यो सडकको हालत भने कसैले नहेरेको स्थानीयको गुनासो छ। इलाका प्रशासन कार्यालयसम्म जानका लागिसमेत छोटो सडकका रूपमा रहेको यो सडक भत्किएपछि स्थानीयलाई सास्ती भएको हो। 

निर्वाचन सम्पन्न भएर विजयी जनप्रतिनिधिले पदभार ग्रहण गरेको एक महिना बित्न लाग्दासमेत यो सडकका लागि केही नगरेको स्थानीय गणेश सपकोटा बताउँछन्। उनी भन्छन्, ‘चुनावको बेलामा भाषणचाहिँ जित्नेबित्तिकै केही गर्नेजस्तै गर्थे तर अझै पनि जनप्रतिनिधिहरूले कागजपत्रमा हस्ताक्षर गर्नेबाहेकका जनताले देख्नेगरीका केही काम गर्न सकेका छैनन्।’ 

दमकस्थित मुख्य चोकबाट  बेल्डाँगीतर्फ जाने बेल्डाँगी रोडको हालत हेरी नसक्नुको रहेको उनले बताए। ‘जताततै खाल्डा रहेको छ’, उनले भने, ‘यो सडकमा ठूला सवारी साधन, बाइक तथा साइकलमा हिँड्दासमेत जोखिम मोलेर हिँड्नुपर्ने बाध्यता छ।’

जनप्रतिनिधिहरूले यो सडकको मर्मतमा चासो नदेखाएको स्थानीय सुरेन्द्र चेम्जोङले बताए। उनले भने, ‘जनप्रतिनिधिहरू पनि सधैँ यही बाटो हिँड्छन् तर यो समस्याको सामाधान गर्नतर्फ लाग्दैनन्।’ उनले पानी परेको समयमा यो सडकमा हिँड्नसमेत नसकिने बताए। उनले भने, ‘पानी परेको समयमा खाल्डामा पानी जमेको हुन्छ, गाडीले पानी फालेर हिँड्नै सकिँदैन।’

यस सडक आसपासका व्यवसायीहरू समेत आजित छन्। सडकको ढुंगा उफ्रिएर पसलको सिसा फुटाउने गरेको उनीहरू बताउँछन्। दैनिक व्यस्त हुने यो सडकमा दुर्घटनाको जोखिम पछिल्लो समय धेरै देखिएको स्थानीयहरू बताउँछन्। अझ सडकको छेउछाउमा निर्माण सामग्री थुपारिँदा बाटो साँघुरो बन्दै सवारीसमेत जाम लाग्ने गरेको छ। यसले ट्राफिक व्यवस्थापनमा पनि चुनौती थपेको स्थानीय बताउँछन्।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर तथा अन्य नगरपालिकाको तुलनामा समृद्ध नगरको परिचय बनाएको दमकभित्र यस्तो सडक हुनु लजास्पद भएको दमक– ३ का काजीमान लिम्बु बताउँछन्।

पूर्व प्रधानमन्त्री ओलीको घरसमेत यही सडकले भेट्छ तर पनि वर्षौंदेखि यो सडकको गति जस्ताको त्यस्तै रहेको स्थानीय बताउँछन्।

देशका विभिन्न ठाउँमा ढल नपुर्दा बालबालिकाले ज्यान गुमाइरहनुपरेको अवस्थामा दमकमा समेत धेरै ठाउँ ढलमा ढकन नलगाइएको र बालबालिका तथा अपांंगता भएकाहरूलाई धेरै जोखिम भएको दमक– ७ का रविन विश्वकर्माले बताए। ‘यहाँका सडक पेटीमा रहेका ढलहरूमा ढकन लगाएको देखिँदैन, त्यसले गर्दा दुर्घटनाको जोखिम बढेको छ’, उनले भने, ‘हामीलाई भन्दा पनि अझ अपांगता भएका तथा बालबालिकालाई जोखिम छ, ढल नदेखिएर कहिलेकाहीँ खाडलमा पर्ने डर पनि हुन्छ।’ सडक पेटीमा रहेका ढलहरूको ढकन तत्काल बन्द गर्न आवश्यक रहेको उनी बताउँछन्।

यता, जनप्रतिनिधिहरूले पनि यो सडकको समस्या हेरेर मात्र नबसेको बताएका छन्। दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले आफूहरूले त्यस सडकको पीडा प्रत्यक्ष भोगेकाले पहल गरिरहेको बताए। दमकमा यस्ता भत्किएका सडकहरू धेरै रहेकाले केही समस्या भएको उनी बताउँछन्। ‘दमकमा भत्किएर बनाउनुपर्ने अवस्थामा रहेका सडकहरू धेरै छन्। यो त झन् कच्चीमै परिर्णत भएको छ’, उनी भन्छन्, ‘यो नगरपालिकाले मात्र गर्न सक्ने अवस्था छैन। हामीले यो सडकसँगै अरू सडकहरू पनि मर्मतका लागि शहरी विकास कार्यालयमा प्रस्ताव बढाएका छौँ।’

उनले ढलहरूमा रहेका ढकन लगाउने काम पनि जनताको सहभागितमा सक्नेसम्म नगरपालिकाले गर्ने र नसकेको सरकारी निकायसँग सहयोग माग्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.