|

दमकः झापाको दमकमा खासै नाटक मञ्चन हुँदैन। यहाँका दर्शकहरूमा नाटक हेर्ने बानी पनि छैन। तर आइतबार भने दमकस्थित गोर्खा डिपार्टमेन्टको सभाहलमा खचाखच दर्शकको सहभागिता थियो। 

दमकमा नाटक घर नभएकाले पनि नाटकप्रति खासै चासो नभएका दमकमा दर्शकको यो पटक भने बाक्लै सहभागिता थियो। दर्शकका माझ दमकमा भर्खरै स्थापना भएको कदम थिएटरले नाटक ‘मरिचेको चुपी’ मञ्चन ग¥यो। बिहीबारसम्म प्रदर्शन हुने यस नाटकमा पहिलो दिन नै दर्शकको बाक्लै सहभागिता रहेको थियो। 

नाटकमा २०५४ सालको पाँचथरको आङ्सराङको परिवेशलाई समावेश गरिएको छ। तत्कालीन समयमा राज्यले गरेको दमनलाई समावेश प्रस्तुत गरिएको छ। कथामा त्यसबेलाको ब्राह्मण समुदाय र लिम्बू समुदायको विषयलाई समेटिएको छ। 

लिम्बू समुदायका पात्र मरिचेले न्यायमा आफ्नो पहुँच नहुँदा आफूसँग भएको सम्पत्ति गुमाउनुपरेको कथालाई नाटकीय रूप दिइएको छ। नाटकमा मरिचे र गोतामेबीच भएको झगडालाई समावेश गरिएको छ। लिम्बू समुदायमा हुने संस्कार र संस्कृतिलाई समावेश गरिएको नाटकमा गोतामेका १० वर्षका छोरा रामे र मरिचेका छोरा वामेको सामान्य झगडालाई लिएर मरिचे र गोतामेबीच विवाद उत्पन्न हुन्छ। मरिचेले कुरा नै नबुझी गोतामेका छोरालाई आक्रमण गर्छ। छोरालाई आक्रमण गरेपछि गोतामे पनि जाइलाग्छ।

त्यसपछि समाज बस्छ र समाजका गण्यमान्य व्यक्तिहरूद्वारा उपचार खर्च बराबर पाँच हजार रुपैयाँ बिगो मरिचेले तिर्नुपर्ने निर्णय हुन्छ। उनीहरू अदालतमा जाँदा धेरै खर्च हुने भन्दै अदालतमा जान मान्दैनन्। 

नाटकमा आफूलाई केही नभए पनि गोतामेले मरिचेलाई विगो तिराउँछ। पैसा नदिए प्रहरी बोलाएर पठाउने गोतामेले धम्की दिन्छ। त्यसपछि मरिचेले आफू मनोवैज्ञानिक रूपमा कमजोर भएको महसुस गर्छ। 

ऊसँग पैसा नभएपछि गोतामेलाई आफ्नो भएको खेतबारी नै जिम्मा लगाउनुपर्छ। यस नाटकले आफ्नो रिसका कारण मरिचेले सुकुम्वासी हुनुपरेको कुरालाई उल्लेख गरिएको छ।  श्रीमती र एउटा छोराको समेत बिचल्ली हुन्छ। त्यतिबेलाको लिम्बू समुदायमा जस्तै ठूलो गल्ती गरे पनि एक बोतल रक्सी राखेर माफ मागेपछि (शिर उठाएपछि) गल्ती माफ हुने संस्कारलाई पनि नाटकमा समावेश गरिएको छ।

साहित्यकार उपेन्द्र सुब्बाको कथावस्तुलाई नवीन प्राचीनले नाटकीय रूप दिएका हुन्। नाटकको निर्देशन कलाकार सिजन दाहालले गरेका हुन्। नाटकमा तिब्बत राई, सुवासचन्द्र खरेल, चोमु शेर्पा खुसी, मौसम राई, सोहन लुइँटेल, देवीप्रसाद उप्रेती, सुजन दाहाल, सुवास मुकारुङ, सन्दीप ढकाल, सृजना सुब्बालगायत कलाकारले अभिनय गरेका छन्।

मोफसलका दर्शकहरूमा नाटक हेर्ने बानीको विकास गर्न र कदम थिएटरको नाटक घर स्थापना गर्ने उद्देश्यले नाटक मञ्चन गरिएको कदम थिएटरका महासचिव मेचीपुत्रले जानकारी दिए। ‘हामीले थिएटर घर बनाउने उद्देश्यका साथ नाटक प्रदर्शन गरेका हौँ, पहिलो दिन नै उत्साहजनक सहभागिता रहेको छ’, उनले भने, ‘हामीलाई अझ हौसला मिलेको छ।’ उनले नाटक घर निर्माण गरेपश्चात दमकमा नियमित नाटक प्रदर्शन गरिने बताए।

यस्तै, थिएटरका सचिव कमन देवानले दमकमा साहित्यिक गतिविधि बढे पनि नाटकको विकास हुन नसकेकाले थिएटरको स्थापना गर्नुपरेको बताए। ‘दमकमा साहित्यको पनि पछिल्लो समय विकास हुँदै छ, विकास निर्माण पनि हुँदै छ, तर नाटक विकास हुन सकेन’, उनले भने, ‘नाटक भनेको सुसंस्कृत समाजको एउटा पहिचान हो, त्यसकारण पनि थिएटर स्थापना गरिएको हो।’ 

आफूहरूको पहिलो प्रस्तुति नै दर्शकले मनपराएको बताउँदै उनले आगामी दिनमा अझ राम्रा नाटकहरू पस्कने बताए। उनले २६ गतेसम्म प्रदर्शन हुने नाटक दैनिक साँझ ५ बजेदेखि सुरु हुने जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.