|

झापा: नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आउँदो मंसिरको पहिलो साताभित्र प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउनुपर्नेमा जोड दिएका छन्।

झापाको सदरमुकाम भद्रपुरस्थित गृहनगरमा सोमबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले प्रदेश नम्बर २ को स्थानीय तहसँगै प्रदेश र केन्द्रको निर्वाचन मंसिरसम्ममा सम्पन्न गर्न सबै पक्षलाई सहयोग गर्न आग्रह गरे।

उनले स्थानीय तहको निर्वाचन सम्पन्न भएपश्चात अब बाँकी रहेको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन एकैसाथ कि अलगअलग मितिमा गराउनेबारेमा दलहरूबीच सामान्य विवाद देखिएकाले यसलाई सहमतिमा टुंग्याएर अघि बढ्नुपर्ने बताए। उनले भने, ‘दलहरूमा प्रदेश र केन्द्रको निर्वाचन एकै पटक गर्ने कि फरक फरक मितिमा गर्ने भन्ने विवाद छ, यो विवाद सबै बसेर समाधान गर्नुपर्छ।’

तीनै तहको निर्वाचन सम्पन्नपछि मात्र संविधान कार्यान्वयन हुने बताउँदै उनले त्यसपछि नेपालको राजनीतिले स्थायित्व प्राप्त गर्दै देश आर्थिक समृद्धितर्फ उन्मुख हुने धारणा राखे। हालसम्म सम्पन्न स्थानीय तहको निर्वाचनले समावेशी सहभागिता आएकाले राजनीति र विकासमा अब सबैको पहुँच पुग्ने बताए।

उनले  सम्पन्न निर्वाचनमा कुनै पार्टीको जीत हार नभई समग्र नेपाली जनताको जीत भएकोमा गौरव मान्नुपर्ने बताए। ९० प्रतिशत जनताबाट पारित संविधान कार्यान्वयनतर्फ अघि बढिरहेकाले समस्या समाधानदेखि लिएर सबै खाले विषयवस्तु संविधानभित्र रहेर संस्थागत गरिने उनले बताए।

विकास निर्माणको प्रसंगमा उनले राजनीतिक हस्तक्षेपले देश ठेकेदारी प्रथाबाट गुज्रिरहेको भन्दै चिन्तासमेत व्यक्त गरे। प्रहरी, कर्मचारी, न्यायाधीश, ठेकेदारलगायत सबै क्षेत्रमा राजनीतिक हस्तक्षेप हुनथालेको उनको भनाइ थियो।

यसैबीच झापाका तीन हजारभन्दा बढी हात्तीपीडित स्थानीयले सिटौलामार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्। भद्रपुर, कचनकवल, बह्रदशी, मेचीनगरलगायतका हात्तीपीडितले हस्ताक्षर गरेर ज्ञापनपत्र बुझाएका हुन्। ज्ञापनपत्रमा हात्ती नियन्त्रणका लागि बजेट विनियोजन गरेर कार्यान्वयन गर्नुपर्ने उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.