भक्तजनको पैसाले थप सुन किन्ने निर्णय

|

गोरखा : गोरखाको प्रशिद्ध धार्मिकस्थल मनकामना मन्दिरको गजुर निर्माणका लागि भक्तजनहरुबाट उठेको पैसाले सुन किन्ने निर्णय भएको छ। मनकामना मन्दिर जीर्णोद्धार समितिको बैठकले मन्दिरमा आवश्यकता अनुसारको सुन किन्ने निर्णय गरेको समितिका अध्यक्ष नरेन्द्रबाबु श्रेष्ठले जानकारी दिए।

‘हामीसँग भक्तजनहरुले दिएको रकम छ’ अध्यक्ष श्रेष्ठले भने, ‘अहिले भएको सुनले पातलो जलप हुने भएकोले सुन थपेर राम्रो बनाउन हामीले आवश्यकता अनुसारको सुन थप्ने निर्णय गरेका हौं।’ नेपाल सरकार पुरातत्व विभागबाट आएको चार करोड रुपैयाँले यसअघि नै सात किलो सुन किनेर बैंकको लकरमा राखिएको छ।

‘पहिलेको मन्दिरमा पनि नौ किलो सुनको जलप लगाइएको थियो’ उनले भने, ‘अब हामीले कसरी हुन्छ मन्दिरलाई दीर्घकालीन बनाउनु छ। त्यसैले ढिलै होस् बरु बाक्लो र राम्रै होस् भनेर सुन किन्न लागेका हौं। यसका लागि कति स्क्वायर फिटमा कति सुन लाग्छ भनेर हामीले विज्ञसँग छलफल गर्ने कार्यक्रम पनि बनाएका छौं।’ जीर्णोद्धार समितिले स्वयम्भूनाथ, बौद्धनाथ मन्दिरमा सुनको जलप लगाएका विज्ञहरुसँग पनि छलफल गर्ने निर्णय गरेको उनले बताए।

अहिले मनकामना मन्दिरको जीर्णोद्धारको काम ८० प्रतिशत काम सम्पन्न भएको समितिले जनाएको छ। ०७२ असारदेखि मन्दिर भत्काएर जीर्णोद्धारको काम सुरु भएको हो। पुरानो मन्दिर भत्काएर जगैदेखि पुनर्निर्माण थालिएको थियो। मनकामना मन्दिर भूकम्पका कारणले पनि थप जीर्ण भएको थियो।

‘अहिले मन्दिरको ८० प्रतिशत काम सम्पन्न भइसकेको छ’ जीर्णोद्धार समितिका अध्यक्ष श्रेष्ठले भने, ‘सबैभन्दा समस्या र धेरै समय लाग्ने गारोको काम हो। त्यो पनि अब एक साताभित्र सकिन्छ। त्यसपछि छानाको काम र गजुर हाल्ने काम मात्र बाँकी रहन्छ।’

मनकामना मन्दिरको गजुरमा तामाको पातामा सुनको जलप लगाइने र यो काममा धेरै समय खर्च हुने श्रेष्ठको भनाइ छ। मन्दिरको सबै काम आगामी चैतसम्म सकिने उनले अनुमान गरे। अहिलेसम्म मन्दिरको तल्लो तलासम्मको काम सबै सकिएको र अब एक सातामा माथिल्लो तलाको काम सकेर अन्य काम गर्ने तयारी थाल्ने जीर्णोद्धार समितिको छ। मनकामना मन्दिर जीर्णोद्धारका लागि नेपाल सरकारले चार करोड र भक्तजनबाट करिब सात करोड रुपैयाँ संकलन भएको उनले बताए।

०६८ मा पुरातत्व विभागले गरेको अध्ययनअनुसार मन्दिर पुनर्निर्माणमा आठ करोड रुपैयाँ लगानी गर्नुपर्ने बताइए पनि महँगी बढेकाले लागत खर्च पनि बढेको छ। मन्दिर निर्माण सक्न कम्तीमा १४ करोड रुपैयाँ आवश्यक पर्ने देखिएको श्रेष्ठको भनाइ छ। जीर्णोद्धारका लागि अहिले पनि दिनदिनै मन्दिर आउने भक्तजनहरुले मन्दिर निर्माणको लागि रकम सहयोग गरिरहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.