|

सुर्खेत :  जिल्ला समन्वय समिति सुर्खेतमा नेपाली कांग्रेसले एकलौटी जित हासिल गरेको छ। प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार छविलाल सिग्देल, उपप्रमुखमा देवी भट्टराई र सदस्यहरुमा पनि नेपाली कांग्रेसका उम्मेदवारहरु विजयी भएका छन्।

जिल्ला समन्वय समिति सदस्यहरुमा नेपाली कांग्रेसका वीरसिंह घर्ती, पूर्णा चालिसे, रम्भा बिसी, तीर्थ रावत, बालकुमारी पुन, कुसे कामी र वासुदेव शर्मा विजयी भएका छन्। प्रमुख, उपप्रमुख र सदस्यमा निर्वाचित कांग्रेस उम्मेदवारले ११ मत ल्याए भने कांग्रेससँग प्रतिस्पर्धा गरेको नेकपा एमालेका उम्मेदवारहरुले ७ मत ल्षाए।

९ वटा स्थानीय तह रहेको सुर्खेतमा नेकपा एमालेले ३ वटा स्थानीय तहमा प्रमुख, उपप्रमुख दुबै पद र वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुख जितेको थियो। नेपाली कांग्रेसले ५ वटा स्थानीय तहमा प्रमुख र उपप्रमुख दुवै र वीरेन्द्रनगर नगरपालिकामा प्रमुख पद जितेको थियो।

गाविस अध्यक्ष देखि जिससको प्रमुखसम्म

जिल्ला समन्वय समिति सुर्खेतको प्रमुखमा विजयी सिग्देल नेपाली कांग्रेस सुर्खेतका अग्रज र पुराना नेताका रुपमा परिचित छन्। नेपाली कांग्रेसको राजनीतिमा ३७ वर्ष बिताएका सुर्खेत पञ्चपुरी नगरपालिका सिग्देलले सोमबार भएको जिल्ला समन्वय समितिको निर्वाचनबाट प्रमुखमा विजयी भएपछि राजनीतिबाट सफलता मिलेको अनुभूति भएको बताएका छन् ।

उनीसँगै नेपाली कांग्रेसको राजनिति सुरु गरेका तप्तबहादुर विष्ट अहिले सांसद छन्। ३७ वर्षसम्म नेपाली कांग्रेसका विभिन्न पदमारहेर काम गरेका सिग्देल २०४९ सालमा तत्कालिन विधापुर गाविसका अध्यक्षमा निर्वाचित भएका थिए।

पञ्चपुरी नगरपालिकाको प्रमुखमा दावी गरेका सिग्देल पछि वडा अध्यक्षका लागि सिफारिस भएका थिए। पछि वडा अध्यक्षमा पनि टिकट नपाएपछि सिग्देलले पञ्चपुरी नगरपालिकाको वडा सदस्यमै चित्त बुझाएका थिए। सिग्देलले आफूले सुर्खेत जिल्लाको समन्वय प्रमुखमा विजयी भए पश्चात प्रदेश नम्बर ६ को सम्भावित राजधानीको रुपमा रहेको सुर्खेतको वीरेन्द्रनगरलाई देशकै सफा र स्वच्छ नगरका रुपमा विकास गरेर लैजाने बताएका छन्।

विजयी भएपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै संयोजक सिग्देलले आफू जिल्ला समन्वय समिति सुर्खेतको संयोजकको कुर्सीमा रहुन्जेल समग्र ६ नम्बर प्रदेशकै समृद्धिका लागि काम गर्ने बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.