|

  • अभय अधिकारी-

अघोरी बाबाको कुटीमा पुगेको पत्रकारले हतारिएर सोध्यो, 'बाबा, एउटा सानो जिज्ञासा छ। हिजो पनि जनता हार्‍यो, आज पनि हार्दै छ, भोलि के होला? एउटा चुनाव अब सकिँदै छ। उत्तरमा बाबाले भने, कसैले भनेको छ :

न वाचा न बन्धन कुनै शर्त–सेवा
पुर्‍यायो, गरायो मुलुकमा कसैले
जितायो दिई भोट शैतानलाई
सबै शक्ति पारि चढाएर आयो।

जुनै जोगी आए पनि खोट योटै
र फेरि लगायो पनि फेरी उस्तै
त्यसै भिन्न हुन्थ्यो पहिचान हाम्रो
सबैथोक आफ्नो बुझाएर आयो।

भूमिका नै गलत भो। जग गलत भो। राजनीति नै रहेन। मिलोमतोले जे पनि हुन्छ। अमार्गको यात्रा हुनसक्छ। सबै कुरा अफाप, अप्रिय, भयावह र दारुण हुनसक्छ। यदि बलियो प्रतिपक्ष भइदिएन भने देश लुटिन्छ, लुटाइन्छ। एउटा कथा भन्छु, त्यसबाट बुझ।'

'जी बाबा!'

'महिलाका लागि आरक्षित रेलको डिब्बामा पुरुष तत्त्व हुँदैन तर महिलाहरूको बीचबाट एउटी दस्यू सुन्दरी निस्की भने एक्लै उसले डिब्बाका सयौँ महिलालाई लुटेर नांगै बनाइदिन्छे। कसैले उसको प्रतिवाद गर्दैनन्, गर्न सक्दैनन्। यदि त्यहाँ एउटा पनि पुरुष तत्त्व हुन्थ्यो भने ऊ प्रतिवाद गर्थ्यो। एक्लै पनि भिड्थ्यो र ती अवलाको रक्षा गर्थ्यो। बुझ्यौ, प्रतिपक्ष भनेको अर्कै शक्ति हो, त्यसको मूल्य, मान्यता, शक्ति र स्रोत बुझ्न सक्नुपर्छ। पोथी पोथीको समूह वा भाले भालेको समूहबाट स्वस्थ्य सृजन हुनै सक्दैन। न परितृप्ति सुखकर, सर्वमान्य वा अनुकरणीय हुन्छ।'

'बाबा, अब के होला त?'

'गर्न खोज्यो भने जे पनि हुन्छ, अपथको यात्रा। किनभने असल बाटो त यिनले हिँड्न जानेकै छैन। पशुको दोष मानिँदैन, दोष गोठालाको हुन्छ- हरियो देख्यो कि बाली खानु पशुको प्रकृति हो। जोगाउनु गोठालाको कर्म हो। त्यसैले गलत तत्त्वलाई जनताले बोके भने त्यसको परिणाम अत्यन्त कहालीलाग्दो हुन्छ।'

'ल, जसरी आजसम्म जनताले फटाहालाई नेता बनाए, भोलि पनि तिनैलाई वा त्यस्तैलाई जिताए पनि के चाहिँ भैजाला त बाबा?'

एउटा केटो सारंगी बोकेर आयो र टुक्रुक्क बसेर भन्यो, 'बाबाजीलाई म एक लाइन गीत सुनाऊँ कि!'
'सुना बाबू, सुना, चाँडै सुना। पत्रकार बन्धु पनि सँगै हुनुहुन्छ। उहाँले पनि  सुन्नुहुन्छ।'
'बाबाजी, यो चुनाव गीत हो' भन्दै उसले गला खोलेर गायो:

जिताउने हो कसलाई ऐले
हराउने हो कसलाई पैले
उस्तै गरी दुर्दिन ल्याउला कि
बैकुण्ठ वा स्वर्ग पठाउला कि!

'पुग्यो?' पत्रकारले सोध्यो।
'अब एक टुक्रा सुनाउँछु हजुर, सुन्नुहोस  है त' भन्दै ऊ भन्न थाल्यो:

गोदामको बास हिजो दिएथ्यो
सत्रौँ हजार जनलाई जसले
हो, हो उसैलाई दिएर भोट
छानौँ कि वा स्वर्ग गरौँ अठोट!

खुकुलो पारेर गाइने बालकले भन्यो, 'जी बाबा, मैले आफ्ना कुरा भनेँ, जनताको भावना जोडेर। अब मन हलुका भो।'

पत्रकारले केही द्रव्य हातमा राखिदिएर भन्यो, 'भाका र शब्द मिलाएर गाउनू फेरिदेखि। बरु 'हाम्रो भाषा' भन्ने पुस्तक राखे हुन्छ नि!'
'हुन्छ हजुर, म मागेर भए पनि एक पटक हेर्छु। बिदा पाऊँ' भनेर ऊ गाउँदै हिँड्यो:

मुहूर्त आयो अब रोकिँदैन
मौका यही हो अरू सोचिँदैन
मतो गरी संसदबाट आजै
यो देश जिम्मा पनि लाऊ चाँडै।

बाबाले गाइनेको गीतलाई लक्ष्य गरे। तर पत्रकारले आफ्नै कुरा अघि सारेर देशको भविष्यबारे बाबासँग जिज्ञासा राख्यो। 
'व्वाँसाहरू एकजुट भए भने बलियो सत्वलाई पनि पछार्छन्। यो गोठालोको अनुभव हो। बहुमत भएपछि जे गर्दा पनि हुन्छ। गाइनेले यही कुरा भनेको न हो। त्यसको गीतले तपाईंको जिज्ञासा पूरा गरेको हुनुपर्छ।'

'मैले बुझिन त बाबा?'
'यसो हेर्दा कृषक/सांसद मात्र राष्ट्रको पक्षमा बहस गर्छन्। बाँकी सबै विपक्षमा उभिएर एक मत भएका देख्दै छु। उसले चाह्यो भने एक्लै धूलो पार्छ राजनगर। कसरी भीड उराल्नुपर्छ, उसलाई पनि थाहा छ। तर उसले आँखा खोलेको छैन।'

पत्रकार सुन्दै रह्यो।

बाबाले भने:
'पहिलो विकल्प गाइनेले गाएको गीतमा आइसक्यो। सर्वसम्मतिबाट जिम्मा लगाउन पनि सक्छन्। त्यसो गर्ने अधिकार जनताले सांसदहरूलाई दिएका छन्। यो रक्तपातविहीन आत्मसमर्पण हो, भयको आत्मसमर्पण।
दोस्रो विकल्प जनमतसंग्रह हो, जसमा चार विकल्प हुनेछन्:
१) चीनको संविधानभित्र जाने
२) भारतको संविधानभित्र जाने
३) आफ्नै देशको संविधान सङ्ल्याएर सबैलाई अटाउने बनाउने
४) नेताद्वारा गरिने गरेको त्राटन, मारण, उच्याटन र दमनको बुहार्तन यसै गरी सधैँ सहँदै बस्ने, कोल्टो फेर्न हिम्मत नगर्ने अनि मत्स्य न्याय सहँदै रहने अर्थात् यथावत्।

तेस्रो विकल्प सम्मानित पक्ष। चीन या भारतले नेपाली मूलको व्यक्तिलाई राष्ट्रको सर्वोच्च पदमा आजीवन आसिन गराउने प्रस्ताव ल्याए भने पद सत्ताका भोकाहरू कुनै पनि सर्तमा नसोची स्वीकार गर्नेछन्।'

पत्रकारको चिन्तन घुम्यो। त्यसैले अनुनयको भावमा भन्यो: 'बाबा, यो कुरा सरल वर्गीकृत ढंगले सुन्न पाए हुन्थ्यो। मैले नै राम्रो सम्झन सकिनँ।'

'यदि चीनको संविधान स्वीकार गर्ने हो भने नेपालीलाई पदेन मानार्थ प्रधानमन्त्रीको पद दिनेछ, आजीवन। तर चुनिएर आउनुपर्नेछ। यदि भारतको संविधानभित्र जाने हो भने नेपाली मूलको नागरिकले आजीवन राष्ट्रपति पद पाउनेछ र राष्ट्रपति पदमा केवल नेपाली नै रहनेछ। किन्तु, राष्ट्रपति हुने व्यक्तिको छनोटमा वडा लफडा ल्याउनेछ भारतले र अत्यन्त जटिल बनाउनेछ। जस्तो:
१) जात, जाति, लिंग वा धर्म, वर्गको आधारमा
२) क्षेत्र वा जिल्लाको आधारमा
३) भौगोलिक बनोटको आधार (हिमाल, हरित पर्वत, उपत्यका, भित्री मधेस र समतल) आदि
४) श्रेष्ठता: उमेर, जाति, प्रतियोगिता, शिक्षा, सौन्दर्य, विशेष दक्षता वा विशिष्ट खुबीका आधारबाट।

यी सबै क्षेत्रबाट वर्णानुक्रमको आधारले सर्वत्र मन्थन ल्याएपछि फेरि अर्को युद्ध थालिन्छ।
जेष्ठता: जेष्ठताको आधार के? जस्तो: किरात (राई)बाट (अमृत खालिङ), लिम्बूबाट (अगम आङदेम्बे), गुरुङबाट (असित आले) आदि। यो विकल्प बिरालाको रोटी तौलाइ मात्र हो। तर्क बुद्धिको प्रयोगले नेपालीलाई शमशेर जस्तो राजनेता दियो। यो खुसीको कुरा हो।

फेरि एउटा नयाँ परिपाटी बसिसकेको छ। नेपालको प्रधानमन्त्रीले मोहोर राखेर भारतको प्रधानमन्त्रीलाई ढोग्न जाने र त्योभन्दा म तिम्रो तलुवा चाट्न कुशल छु भनेर प्रमाणित गर्ने। भारत सरकारका अगाडि अमूर्त शपथ ग्रहण गरेर देशको मूर्त भण्डार अर्पण गर्ने मार्ग प्रशस्त गर्ने बेला आएको छ। र, जेजे दिन्छु भनेर शपथ ग्रहण गर्ने हो, त्यसको सूची पनि तयार छ।'

पत्रकार बाबाको एकोहोरो प्रलाप सुनेर नबुझ्ने भइसकेको थियो। त्यसैले अर्धनिद्रित अवस्थामा थियो। फेरि पनि प्रश्न गर्‍यो, 'बाबा, त्यो कस्तो सूची हो, त्यसबारे जानकारी पाऊँ न!'

'पहिले चौथो विकल्प पनि सुनी हाल', बाबाले थपे, 'यी सबैभन्दा महत्त्वपूर्ण र वैज्ञानिक कुराचाहिँ म अर्को देख्दै छु। त्योचाहिँ ११/१२ सूत्रीय प्रस्ताव  हो। भारतले त्यो प्रस्ताव ल्यायो भने नेपालले सहर्ष स्वीकार गर्नुपर्छ। कसैले कुनै उपन्यासमा यो कुरा लेखिसकेको पनि छ।'

'बाबा, यो कुरा पनि मैले बुझिनँ। मूर्त भण्डार र एघार सूत्रीय सन्दर्भबारे केही खोलिदिनुभए म नागरिकलाई सुसूचित गर्ने थिएँ।'

'ती कुरा फेरि गरौँला तर शमशेरसँग अद्भुत क्षमता छ। उसले चाह्यो भने नेपाली जनतालाई मोचन दिनसक्छ। हो, यसमा द्विविधा छैन। अराजनीतिक राजनीतिज्ञको यातना, उत्पीडन र आतंकबाट मुक्ति दिनसक्छ।

त्यसैले सारांशमा भन्ने हो भने जति पार्टी र सदस्यहरूले शमशेरबहादुरको समर्थन गरेर प्रमको पदमा बसाए, त्यो एकताले नेपाललाई विदेशको संविधानभित्र पसाउने पूर्ण योजनाको संकेत हो। आधारशिला हो। यो एकताले नेपालमा अरू धेरै कुरा निम्त्याउन या लागू गर्न सकिन्छ।'

बाबा बोल्दै गए, 'अझै नेपाली निचोरिएको छैन। अब निचोरिन्छ र यो स्थितिमा जनताले नै छानेका जनप्रतिनिधिले, सांसदले र तिनका अनुयायीले नै आफ्ना मतदाताको दुर्दशा गरेरै छोड्नेछन्। अब डढेलो पनि लाग्छ र हावा पनि। अनि मात्र निम्न कोटिका बुँदामा हस्ताक्षर हुनेछन् र नौलो युग थालिनेछ।'

गाइने बालक फेरि सारंगी रेट्दै आयो:

लगाम देऊ अब तिर्सनामा
बाधा नपारे अब सिर्जनामा
बिराम देऊ अब यातनामा
नमार मान्छे अब यो धरामा!

अनि भन्यो, 'हजुर, अघिको पैसाले बिहानको छाक पेटभर खाएँ। अब साँझको खानाको लागि गाउँछु नि, हुन्न?'

यस पटक बाबाले आँखाभरि आँसु पारेर गाइने बालकलाई अँगालो हाले।
पत्रकार नदेखेझैँ गरेर हतारिँदै बाबाको कुटीबाट निस्क्यो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.