|

काठमाडौं : ऊर्जा मन्त्री महेन्द्रबहादुर शाहीले यस वर्ष उद्योगहरुमा हुँदै आएको लोडसेडिङ पनि अन्त्य गर्ने बताएका छन्। मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले लोडसेडिङ अन्त्य गर्न आफूले ल्याउने योजनामा कुनै अवरोध नभएमा घरायसी ग्राहक र उद्योगहरुमा समेत लोडसेडिङ अन्त्य हुने बताएका हुन्।

'लोडसेडिङ कुनै हालतमा हुन दिदैनौं, यसवर्ष उद्योगहरूमा पनि लोडसेडिङ हुँदैन तर, लोडसेडिङ अन्त्यका लागि हामीले गर्ने कुनै काममा अवरोध हुनु हुँदैन, अवरोध भयो भने लोडसेडिङ हुन सक्छ।'

अघिल्लो सरकारमा ऊर्जा मन्त्री जनार्दन शर्माले काठमाडौं, पोखरा लगायतका केही शहरमा लोडसेडिङ अन्त्य गरेका थिए भने उद्योगहरुमा लोडसेडिङ दैनिक ४ घण्टामा झारेका थिए। हालका ऊर्जा मन्त्री शाहीले आफूले ल्याउने योजनामा अवरोध नभए उद्योगहरुमा हुँदै आएको लोडसेडिङ पनि अन्त्य हुने दावी गरे।

बूढीगण्डकी विद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप अफ कम्पनी (सीजीजीसी) लाई दिएको बारेमा आफूलाई विस्तृतमा थाहा नभएको बताए। उनले भने, 'बूढीगण्डकी आयोजना चिनियाँ कम्पनीलाई जिम्मा दिएको अघिल्लो सरकारले हो। मैले यसबारे सबै बुझेको छैन। डिटेल बुझेर मात्र बोल्छु। तर, यति भन्छु म राम्रो गर्छु' उनले भने 'जनता र राष्ट्रको हितमा गर्छु, आयोजना बनाउँन दिँदा हित हुन्छ भने दिन्छु, बनाउन नदिँदा हित हुन्छ भने खारेज गर्छु।'

बूढीगण्डकी चिनियाँ कम्पनीलाई बनाउन दिँदा जनताको हित हुन्छ भने जति नै विरोध भए पनि आफूले काम गर्न नछाड्ने उनको भनाइ छ। मन्त्री शाहीले भने, ' यदि जनताको साँच्चै हित हुन्छ भने जति विरोध गरे पनि पुतला जलाए पनि बनाएरै छाड्छु।'

स्वदेशी पैसाले नै विद्युत उत्पादन गर्ने विषयमा धेरै उठे पनि नेपालले आफ्नै पूँजीले धेरै विजुली उत्पादन गर्न सक्ने क्षमता नभएको शाहीले बताए। 'हामी भाषणमा ठूला ठूला कुरा गर्छौं। तर साच्चै खल्तीबाट पैसा निकाल्नु पर्‍यो भने कति निकाल्न सक्छौं' उनले भने 'त्यसैले हामीलाई विद्युत उत्पादन गर्न विदेशी पुँजी चाहिन्छ।' 

राष्ट्रिय महत्व र कम पूँजीमा निर्माण हुने आयोजना स्वदेशी लगानीमा नै बनाउने र ठूला र दीर्घकालीन महत्वका आयोजना विदेशी पूँजीमा बनाउनुपर्ने ऊर्जा मन्त्री शाहीले बताए। 'विदेशी लगानीका लागि हामीले उचित वातावरण बनाउनुपर्छ, विदेशी कम्पनी आउने भनेको व्यापार गर्नका लागि हो, व्यापारमा लिने र दिने दुबै हुन्छ' उनले भने 'हामीले लिन मात्रै खोज्यौं दिन खोजेनौं भने विदेशी कम्पनी आउन सक्दैन।'  

कार्ययोजनाको तयारी

ऊर्जा मन्त्री शाहीले आफूले केही दिनमा आफ्नो कार्ययोजना ल्याउने बताएका छन्। मन्त्रालयको कामलाई व्यवस्थित गर्न र आफ्नो योजना समेटेर कार्ययोजना ल्याउने बताए। ऊर्जा क्षेत्रमा गर्नुपर्ने धेरै काम रहेको भन्दै उनले इच्छाशक्ति र जाँगर भएमा धेरै काम गर्न सकिने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.