|

काभ्रेपलाञ्चोक : जिल्ला शिक्षा अधिकारी डा. दिपेन्द्र गुरुङले जिल्लाको शैक्षिक सुधारको हितको निमित्त शिक्षक दरबन्दी मिलान गरेको बताएका छन्।
जिल्ला शिक्षा अधिकारी गुरुङमाथि सरोकारवाला निकायहरुलाई जानकारी नदिई शिक्षक सरुवा तथा दरबन्दी मिलान गरेको आरोप छ।

मंगलबार शिक्षा कार्यालयमा पत्रकार सम्मेलन गरेर उनले एकलौटी निर्णय गरेको स्विकारे। ‘२०४२ सालदेखिको गर्न नसककेको शिक्षक दरबन्दी मिलानको काममा स्थानीय विकास अधिकारी, प्रमुख जिल्ला अधिकारी र शिक्षक संघ-संगठनका नेताहरुले असहयोग गरेपछि मैले एकल निर्णयबाट नै दरबन्दी विद्यार्थी संख्याको आधारमा मिलान र काज सरुवा लगायतको काम गरेको हुँ,’ उनले भने,‘यसमा कसैले विरोध गर्नुपर्ने या अवरोध गर्नुपर्ने अवस्था छैन। मैले गरेको निर्णय काभ्रेली जनताहरुको निमित्त र जिल्लाको समग्र शिक्षाको हितमा छ।’

उनले एलडीओ र सिडीओले डराएर निर्णय दिन नसकेको आरोप लगाए। राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष श्याम पाण्डे र नेपाल शिक्षक संघका अध्यक्ष आश्विन चौलागाईले शैक्षिक सुधारका काममा असहयोग गरेको उनको गुनासो छ।

सरोकारवाला निकायहरुले असहयोग गरेपछि सामुहिक संवाद समितिको अध्यक्षको हैसियतले दरबन्दी मिलान र काज सरुवा गर्ने एकल निर्णय गरेको उनले बताए। ‘दरबन्दी मिलान लगायतका शैक्षिक सुधारका विषयमा नीतिगत निर्णय र कार्यान्वयनको वस्तुगत आधार बन्ने कुरामा हामी ढुक्क छौ‘।’

के भन्छन् प्रमुख जिल्ला अधिकारी ?

प्रमुख जिल्ला अधिकारी शिव प्रसाद सिम्खडाले दरबन्दी मिलान तथा सरुवाको काम जिल्ला शिक्षा अधिकारीको नभएको बताए।

‘दरबन्दी मिलान शिक्षा अधिकारीको काम नभई जिल्ला शिक्षा समितिको सभापतिको हो। जिल्ला समन्वय समितिको प्रमुख शिक्षा समितिको सभापति रहन्छन्। त्यसैले सभापति निर्वाचत भएर आएपछि भदौको १-२ गतेतिर निर्णय गर्ने भन्ने कुरा भएको थियो,’ सिमखडाले भने,‘उसले दरबन्दी मिलान गर्‍‍यो कि के गर्‍यो भन्ने कुरा हामीलाई थाहा भएन। त्यो कुरासँग मलाई मतलब नै भएन।'

स्थानीय विकास अधिकारी कोमलप्रसाद धमलाले अहिलेसम्म दरबन्दी मिलानको बारेमा कुनै औपचारिक बैठक राखेर एजेण्डा नै प्रस्तुत नगरेकोले त्यो विषयमा आफुलाई केही थाहा नभएको बताए। ‘मलाई त्यो बारेमा फोनमार्फत अन्य कुनै तवरले काम गर्ने संकेत समेत दिनुभएको छैन। भोलि समन्वय समितिको चुनाव छ जिल्लाको प्रमुख चुनिनुहुन्छ, त्यसपछि तुरुन्तै शिक्षा समितिको बैठक राख्छौं,’ धमलाले भने,‘उहाँको आप्mनै ढंगले निर्णय गरेका कुरा बदर हुन्छ।’

जिल्ला शिक्षा अधिकारी गुरुङले हालसम्ममा १४६ जना शिक्षकहरुको दरबन्दी मिलानको नाममा सरुवा गरिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.