विचार

गणतन्त्र: गाईजात्रा र खाइजात्राको 'फ्यूजन' बन्दै
SHARES

साउन २४, २०७४

    नेपालमा हरेक कुरा हरेक काम नक्कली छन्। एकछिन देखाउनका लागि अलापिन्छन् यहाँ गरिवका पीडा र विकासका रागहरू। सिद्धान्तविना पसल खोलेझैँ पार्टी खोलिन्छ। दर्शन, सिद्धान्त, वाद र तन्त्रको तालमेलविना सेलिब्रिटीले पार्टी खोल्छन् अनि व्यापारीको चन्दा, एनजीओ, आईएनजीओको डलरले पार्टी चलाउने प्रयास गर्दछन्। संसदमा त सिट नै हुँदैन, सडकमा थ्रेसहोल्डलाई सरापेर अस्थिरतालाई सलाम गर्दछन्। 

    दुई चार दिन आफ्नो नाम पत्रपत्रिका र मिडियामा आएन भने पाक्षिक वा मासिक रूपमा पार्टी एकीकरणको अभियान पनि चलाइन्छ । 

    साझा पार्टी र विवेकशील एक हुने खबर सुन्नेबित्तिकै सबैले अड्कल काटियो, सायद थ्रेसहोल्डको कारणले कतै मिली पो हाल्छन् कि! त्यस्तै नयाँ शक्ति पार्टी र संघीय समाजवादी पार्टी मिल्ने अरे! यस्तैयस्तै प्रकृतिले मधेसमा राजनीति गर्ने केही संभ्रान्त वर्गका तमलोपा र ममलोपा पार्टीहरू मिलेर राजपा बन्ने हल्ला सुनिन्छ।

    तर मन पनि नमिल्ने, धन पनि नमिल्ने र उच्चपद मिल्दै नमिल्ने भएकोले कुनै पनि पार्टी वास्तवमा मिल्न कठिन छ। सबै टाउकेहरूलाई अध्यक्ष हुने रहर छ तर एउटा पार्टीमा आधा दर्जन सभापति बनाउन नमिल्ने रहेछ कि क्या हो! सबैलाई मिलाउने हो भने आधा दर्जन सभापति र दर्जन प्रधानमन्त्री बन्नेगरी संविधान संशोधन गर्न आवश्यक छ। अन्यथा, यो पार्टी एकीकरण चर्चा बटुल्ने ‘स्टण्ट’ मात्र हो। 

    यी पार्टीका नेताहरूलाई हामी मिल्न सक्दैनौँ भन्ने पहिल्यै थाहा हुन्छ र पनि बेलाबेलामा पार्टी एकीकरणको हल्ला चलाइदिन्छन्, किन? किनकि एकैछिन् भए पनि पत्रपत्रिकामा नाम आउँछ, बिर्सेकाले सम्झन्छन्। विज्ञापनमार्फत् आफ्नो पार्टीको प्रचार गरेर चर्चामा आउन भन्दा पार्टी एकीकरणको हल्ला फिँजाउन सस्तो पर्ने भएकाले पार्टी एकीकरणको चर्चा चलाइन्छ। 

    यस्तै नौटंकी राप्रपाले गरेको थियो केही महिना अगाडि। कथित एकता महाधिवेशन यस्तै प्रचारमुखी राजनीतिको सशक्त   पटाक्षेप थियो। होइन भने पशुपतिशमशेर राणा, लोकेन्द्रबहादुर चन्द र प्रकाशचन्द्र लोहनी जस्ता राजाकाखे राजनीतिका प्रजातान्त्रिक अध्येताहरू कमल थापा जस्ता एउटा नारामुखी नेताको नेतृत्वमा किन लुपुक्क हुन्थे? अहिले कमल थापा भुइँको टिप्दा गोजीको खस्ने तरिकाले फसेका छन्। पार्टी गाईजात्राको ठीक दुई दिन अगाडि फुटेको छ। हुँदाखाँदाका सांसदहरू पनि आफूबाट छुट्टिएको अवस्था छ। 

    चारवटा चिठ्ठी लेख्ने काम गर्ने मुखिया, खरदारको जागिर खान वर्षौंको तयारी गर्नुपर्छ। चार पाँच पटक परीक्षा दिनुपर्छ। तर विश्वविद्यालयका प्राध्यापकहरू रत्नपार्कमा घुम्ती भोक हड्तालको भरमा भर्ना गरिन्छ। देशमा अध्यापक योग्य र सक्षम चाहिन्छ कि क्लर्क? आजसम्म हामीले छुट्याउन सकेका छैनौँ। योभन्दा ठूलो गाईजात्रा के हुन्छ?

    अवसरले राजनीति हुँदैन। पद पाउन सकिन्छ, दुई चार करोड रुपैयाँ कमाउन सकिन्छ तर राजनीति भनेको चौतर्फी राजमार्ग हो। पद हत्याउने, धर्म प्रचार गर्ने चोर बाटो होइन भन्ने नबुझेसम्म यस्तै फुट्ने जुट्ने काम भइरहनेछन् नेपालमा।

    राजनीति बडा विचित्रको हुन्छ। यसको राग नेपालका सबै पार्टीले भोगिसकेका छन्। एक पटक कमल थापा नेपालका परराष्ट्रमन्त्री हुँदा देशमा नाकाबन्दीको हाहाकार थियो। त्यो नाकाबन्दी फुकाउन उनी कहिले तीन बुँदे त कहिले कति बुँदे प्रस्ताव लिएर श्री श्री रविशंकरलाई भेट्न जान्थे। यता, विभिन्न चूडामणि शर्माहरू भ्रष्टाचारको दलदलमा गंगा नुहाइरहेका हुन्थे। कालोबजारीले गंगा नै नभेटे पनि धारोमा नुहाइरहेका थिए। 

    देशका अधिकांश अर्थमन्त्रीहरू चूडामणिले ल्याएको अमखरीको गंगाजल अचाइरहेका थिए। जुन देशमा वर्षभर ३० करोड रुपैयाँका किताबको करोेवार हुँदैन, त्यस देशमा एउटा व्यक्तिले किताब बेचेर ३० करोड रुपैयाँ कमाएँ भनेर आफ्नो आम्दानीको स्रोत देखाउँछ भने यो आर्थिक गााईजात्रा होइन र!

    हरेक राजनीतिज्ञले र राजनीतिक पार्टीले तत्काल लाभ पाउनका लागि काम गरेको देखिन्छ। कसैले भविष्यका लागि सोचेर योजना बनाएको देखिँदैन। कमिसन पाएपछि सबै कुरा जायज, नपाए सबै नाजायज, साँच्चिकै गाईजात्रा होइन र! 

    हालै चुनाव भयो। जित्नेले जित्यो, हार्नेले हार्‍यो। तर जनतालाई झुक्याउने मात्र काम गरियो। अस्ति भर्खर म अमेरिका गएको थिएँ, त्यहाँका राष्ट्रपतिसँग नेपालको विकासका लागि एक अर्ब डलर ऋण लिएर विकास गर्नुपर्‍यो भन्नेबारेमा छलफल गर्दै थिएँ। यसले जनतालाई ठूलो राहत पुग्ने र मेरो काल्पनिक पार्टीले भक्कुमार मत पाउने आँकलन गर्दै थिएँ, झ्याप्प जागिहालेँ, कुरो सपनाको थियो। 

    मैले त माथिको अमेरिकाने कुरा झूटो हो भनेर सबैलाई जानकारी दिएँ, तर भोट माग्ने नेताहरूले यस्तै काल्पनिक आश्वासनमा मत कुम्ल्याइरहेका हुन्छन्। जनतालाई यो सपना हो भनेर भनिरहेका पनि हुँदैनन्। विकासको नाममा कर बढाउने र स्रोतविना वृद्धभत्ता बढाउनेबाहेक कुनै काम अहिलेसम्म भएको छैन। मोबाइल, मोटरसाइकल र महँगा गाडी किन्नु आवश्यकता पनि हुन सक्छ। 

    देशमा कोही प्रधानमन्त्री हुनुहुन्छ, जो राम्रो बोल्न जान्नुहुन्न र कोही हुनुहुन्छ, जो राम्रोसँग सुन्न जान्नुहुन्न बोल्नु मात्र हुन्छ। कुरा एउटै हो, एकोहोरो संचार। देशमा शिक्षाको स्थिति बडा राम्रो छ। सरकारी स्कुलमा मास्टरहरूलाई तलब खुवाउने काम हुन्छ। बोर्डिङमा भोकै मास्टरले पढाएर अधिकांश विद्यार्थी पास हुन्छन्। शिक्षक भोकै रहन्छ परन्तु लगानीकर्ता ‘ओभर क्यालोरी’ले एन्जियोप्लास्ट गर्न अस्पताल धाउँछन्। शिक्षामा निजी क्षेत्रको चाँदी कटाइ छ।

    कालोबजारीहरू पास हुन्जेल पढ्छन्, जुन दिन फेल हुन्छन्, स्कुल खोल्न थाल्छन्। देशको अवस्था यस्तै छ। यहाँ न्यायाधीशको भन्दा वकिलको स्टाटस माथि छ। किनभने उसँग मनग्गे पैसा छ। न्यायाधीश विचरा चलाख वकिलको चंगुलमा छ।

    निःसन्देह भोलिको बुझ्न सकिएन, आजसम्म देशमा हरेकतिर गाईजात्रा छ। चारवटा चिठ्ठी लेख्ने काम गर्ने मुखिया, खरदारको जागिर खान वर्षौंको तयारी गर्नुपर्छ। चार पाँच पटक परीक्षा दिनुपर्छ। तर विश्वविद्यालयका प्राध्यापकहरू रत्नपार्कमा घुम्ती भोक हड्तालको भरमा भर्ना गरिन्छ। देशमा अध्यापक योग्य र सक्षम चाहिन्छ कि क्लर्क? आजसम्म हामीले छुट्याउन सकेका छैनौँ। योभन्दा ठूलो गाईजात्रा के हुन्छ?

    त्यसैले त धकधई, लोथर, रतुवा खोलाको बगरमा खोला लेखाएको जग्गाका मालिकबाट दुई चार लाख रुपैयाँमा जग्गा नामसारी गराउने अनि  सरकारी ढुकुटीबाट करोडौँ रुपैयाँ खर्च गरेर  जग्गा होइन, लालपुर्जा मात्र निगमको नाममा किन्नेहरू ठाँटसित जीएम बन्छन्। तर पढेलेखेका युवाहरू विदेशमा भीएम (भाँडा मझुवा) बन्न बाध्य छन्।

    यसै वर्ष बैशाखको चुनावमा केही चैते पार्टीहरूले काठमाडौँमा दश बीस हजार भोट बटुलिहाले। त्यो देखेपछि नेपालका धेरै व्यापारीहरू राजनीतिक पार्टीमा लगानी गर्ने सोचमा थिए। 

    दोस्रो चरणमा सिद्धान्तविना खुलेका यी च्याउखुर्के पार्टीहरूले कतै भोट पाएनन्। खास मत त नेकपा एमाले र नेपाली कांग्रेसले मात्र पाए। त्यसपछि पार्टी खोल्न तम्सिएका व्यापारी पनि पछाडि हटे।

    अब मोफसलतिर जाऔँ। सातवटै प्रदेशको तराईतिरका ठूला शहरमा नेपाली कांग्रेस भनेर बोर्ड टाँग्ने, पहाड र पहाडियाको बाहुल्य भएका ठाउँमा नेकपा एमाले भनेर बोर्ड टाँस्ने, यसैगरी  हिमालका आठ दश ठाउँमा नेकपा माओवादीको बोर्ड टाँस्ने। बैतडी, धनकुटा र सिन्धुपाल्चोकमा राप्रपा (प्रजातान्त्रिक) भनेर बोर्ड झुण्ड्याउने।

    प्रत्येक बोर्डमा आफ्नै फोटो हाल्ने तर ड्रेस फरक फरक। तराईमा धोती–कुर्ता, पहाडमा दौरा–सुरुवाल हिमाल र गरिव बस्तीमा कालो कोट, पतलुङ, सेतो कमिज र टाई। अलिअलि डलर पनि झार्न सकिने। अनि प्रत्येक साइनबोर्डको तलतिर एउटा सूचना लेख्ने, ‘हाम्रो पार्टीको केन्द्रमा कुनै शाखा छैन। यही र यस्तै नाम लिएर अरू पार्टी पनि आउन सक्छन्, नक्कलीदेखि सावधान!’ यति नगरी अब भोट पाइएला जस्तो छैन, नयाँ पार्टी खोले पनि।

रामप्रसाद गौतम

प्राध्यापन पेशामा संलग्न कथाकार गौतम समसामयिक विषयमा लेखहरू पनि लेख्छन्।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]